काठमाडौँ । भ्यालेन्टाइन डेको अवसरमा नागढुङ्गा—सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ । सन् २०२६को पूर्वसन्ध्यामा खोल्ने सम्भावना पनि क्षीण भएपछि अब भ्यालेन्टाइन डेको अवसरमा खोल्ने प्रयास भइरहेको हो ।सम्बद्ध सरोकारवाला पदाधिकारीहरूका अनुसार दशैँ अघि सञ्चालनमा ल्याउन सकिएपछि अब यो अवसरमा यो परियोजनाको सेवा बिक्री योजना बनाइएको छ ।
नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान गरेपछि अब भ्यालेन्टाइन डे एक सही समय हुने जनाइएको छ । अन्तर्राष्ट्रिय टेडण्डरको समयावधि पुस २ गतेसम्म तोकिएकोले त्यो समय उपयुक्त हुने बताइएको छ ।
अनुभवी तथा सक्षम सेवा प्रदायक छनोट गरेर गाडी सञ्चालन गर्न द्रुतगतिमा प्रक्रिया अगाडि बढाइने योजना रहेको छ । कतिपय अधिकारीहरूले लाग्ने ४ देखि ५ महिनाको समयवधि घटाएर भ्यालेन्टाइन डेको अवसरमा सञ्चालन गर्न सकिने प्रयास अगाडि बढाइने ।सुरूङ मार्गका सञ्चालनका लागि विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो ।
मौजुदा सरकारले यसलाई पदावधि सकिन अघि सञ्चालन गर्न पाए राम्रो हुने बुझाइ रहेको छ । नेपाली कम्पनीसँग सुरुङ मार्ग सञ्चालन गरेको अनुभव नभएकाले अन्तर्राष्ट्रिय सेवा प्रदायक खोजिएको सम्बद्धहरूको भनाइ छ ।बोलपत्र बुझाउने अन्तिम दिन आगामी पुस २ गते (१७ डिसेम्बर २०२५) रहेको छ । सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ। सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ। यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ।
जनाइए अनुसार सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन्। सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। त्यसपछि टोल (महशुल)उठाउन ५४ जना कर्मचारी रहनेछन्। ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८÷८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।
२०७६ कात्तिकमा शिलान्यास गरिएको सुरुङमार्ग २०८० वैशाखमा सम्पन्न गरिने प्रारम्भिक लक्ष्य थियो । कोभिड तथा स्थानीयले गरेको अवरोधका कारण उक्त समयमा आयोजनामा सम्पन्न हुन सकेन् । जेनजी आन्दोलन पछि गठित अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पनि दशैँअघि सञ्चालन गर्न निर्देशन दिएका थिए । सडक विभाग र निर्माण कम्पनीबीच सुरुङ सञ्चालन गर्नेबारे छलफल पनि भएर उपत्यकाबाट बाहिरिँदा सुरुङ मार्ग खुला गर्न सुरुङ मार्ग, फ्लाइओभरको परीक्षणसमेत गरिएको थियो । तर हालसम्म सवारी सञ्चालनका लागि खुला गरिएको छैन ।
सञ्चालन हुने तयारीमा रहेको यो सुरुङ मार्ग नेपालमा पहिलो सुरुङमार्ग हो । नागढुंगा नाका काठमाडौं प्रवेशको मुख्य सडक हो । धादिङको सिस्ने खोलादेखि चन्द्रागिरिको बलम्बुको सट्टा सुरुङ मार्ग प्रयोग गर्दा सडक २.५ किलोमिटर छोटो हुन्छ ।मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर तोकिसकेको छ ।
नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ । यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ। यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij