काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका पार्टीगत संगठनलाई मान्यता नदिने बताउँदै पार्टीगत गतिविधिमा लागे कारबाही गरिने चेतावनी दिएको छ । आइतबार एक सूचना जारी गरी मन्त्रालयले विभिन्न व्यक्तिहरूबाट शिक्षकको पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको जनाउँदै त्यस्ता पार्टीका भातृ संगठनलाई मन्त्रालयले मान्यता नदिने जनाएको हो ।
शिक्षामन्त्री महावीर पुनले राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएका छन् ।उनले कनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको प्रष्ट पारेका छन् ।
शिक्षक–कर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघ लगायतका सबै क्रियाशील संघ–संगठनहरूलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउनका लागि कानुनी प्रबन्धसहित पुनर्गठन गर्न पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij