Logo

Nov 20 2025 | २०८२, मंसिर ४गते

Nov 20 2025 | २०८२, मंसिर ४गते

images

सस्तो ब्याजदर र बढी विद्युत् उत्पादनले हाइड्रोपावर कम्पनीको नाफा ४६ प्रतिशतले उकासियो

सस्तो ब्याजदर र बढी विद्युत् उत्पादनले हाइड्रोपावर कम्पनीको नाफा ४६ प्रतिशतले उकासियो

  • काठमाडौँ ।नेपालमा ऋणको माग घट्दै बैंकमा तरलता थुप्रिँदा ब्याजदर लगातार सस्तो बन्दै गएको छ। यसको प्रत्यक्ष फाइदा नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरूको बैलान्ससिटमा देखिएको छ। वित्तीय विवरण सार्वजनिक गरेका ९१ कम्पनीको औसत नाफा ४६.४० प्रतिशतले बढेको छ। तीमध्ये ८० हाइड्रोपावर कम्पनी नाफामा छन् भने ११ कम्पनी घाटामा छन्।

    बैंक तथा वित्तीय संस्थाको ब्याजदर सस्तो भएपछि ऋण लागत घटेको र यसैबीच मनसुनमा राम्रो पानी परेर पर्याप्त विद्युत् उत्पादन हुनुले हाइड्रोपावरको आम्दानी बढेको हो। अधिकांश ‘रन अफ रिभर’ आधारित परियोजनाले नदीमा पानीको बहाव बढ्दा बढी उत्पादन गर्छन्। यसपटक उत्पादन भएको विद्युत् पनि खेर नगेरी सबै बिक्री हुन सकेका कारण नाफामा उल्लेखनीय सुधार आएको कम्पनीहरू बताउँछन्।

    यद्यपि अत्यधिक वर्षातका कारण केही परियोजना बाढी–पहिरोबाट प्रभावित भए पनि परियोजनाहरूले लिएका बैंक ऋण अनिवार्य बीमाले आवृत हुने भएकाले क्षतिपूर्ति मिलेर घाटाको असर न्यून देखिएको पनि बताइएको छ।

    नाफा–घाटाको स्थिति :

    • ९१ मध्ये ८० हाइड्रोपावर कम्पनी नाफामा
    • ११ कम्पनी नोक्सानीमा
    • गत वर्षको पहिलो त्रैमासमा ७४ नाफामा, १७ घाटामा थिए

    सबैभन्दा धेरै नाफा गर्ने कम्पनी :

    • अपर तामाकोशी हाइड्रोपावर
      • खुद नाफा : १ अर्ब ६७ करोड ४६ लाख
      • मुनाफा वृद्धि : १६५%
      • गत वर्ष : ६३ करोड १९ लाख नाफा

    सबैभन्दा धेरै घाटामा पर्ने कम्पनी :

    • रसुवागढी हाइड्रोपावर
      • घाटा : ६५ करोड ३३ लाख ५४ हजार
      • गत वर्ष घाटा : १ करोड ४ लाख ४९ हजार
      • बाढीले पुर्‍याएको क्षति मुख्य कारण

    प्रति शेयर आम्दानी (EPS) स्थिति :

    • सर्वोच्च EPS : माउन्टेन इनर्जी – ६५ रुपैयाँ ९ पैसा
    • न्यूनतम EPS : रसुवागढी – ऋणात्मक ३८ रुपैयाँ २० पैसा
    • औसत EPS वृद्धि : ३६%

    नेटवर्थ (प्रति शेयर मूल्य) :

    • सबैभन्दा उच्च : बुटवल पावर – २१० रुपैयाँ ४३ पैसा
    • सबैभन्दा कम : दिब्यश्वरी हाइड्रोपावर – ७ रुपैयाँ ७७ पैसा
    • औसत नेटवर्थ वृद्धि : ३.४३%

    ब्याजदरको प्रभाव :
    पछिल्ला तीन वर्षदेखि लगातार घट्दो ब्याजदरले हाइड्रोपावर कम्पनीहरू राहतमा छन्।

    • निक्षेप ब्याजदर : २.७५%
    • कर्जा औसत ब्याजदर : ७.५०%
      कर्जा सस्तो हुँदा ऋण तिर्न खर्चिनुपर्ने रकम घटेर कम्पनीहरूको नाफा थप बढेको ऊर्जा उत्पादकहरूले बताएका छन्।

    समग्रमा, बैंकको सस्तो ब्याजदर, समयमै परेको वर्षा र विद्युत् बिक्रीमा वृद्धि—यी तीन कारणले हाइड्रोपावर क्षेत्रको वित्तीय प्रदर्शन यस वर्ष उल्लेखनीय रूपमा बलियो बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij