काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्र बैंकले मंसिर भित्र ल्याउनुपर्ने भएकाले त्यसको तयारी अन्तिम चरणमा भइरहेको हो ।
पहिलो त्रैमासिक सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नु पर्ने व्यवस्था अनुसार केन्द्रीय बैंकको तयारी चलिरहेको छ । स्रोतका अनुसार शुक्रबार नभए आइतबार सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको छ ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नको लागि राष्ट्र बैंकको अनुसन्धान विभागले गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसँगको औपचारिक छलफल गरिसकेको छ । यसैगरी, राष्ट्र बैंक भित्रका अन्य सरोकार वाला विभाग तथा महाशाखा र समितिले मौद्रिक नीतिको समिक्षा माथिको छलफल अन्तिम चरणमा रहेको जनाएका छन् ।
गभर्नर प्रा.डा. पौडेलले यस अघि भएका नीतिहरूलाई क्रमशः खुकुलो बनाउँदै आएका छन् । यस समीक्षा मार्फत राष्ट्र बैंकले अहिलेको उद्योगी तथा व्यवसायीको खस्केको मनोबललाई उकास्न पर्ने चुनौती रहेको छ। हाल बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम थुप्रिएर बसेको छ । जसलाई लगानी गर्न सक्ने वातावरण सिर्जना मौद्रिक नीतिको समीक्षाले गर्नु पर्ने छ । निजी क्षेत्रले मौद्रिक नीति मार्फत कतिपय समस्या समाधान गर्नुपर्ने आग्रह विभिन्न समयमा विभिन्न माध्यमबाट गरिसकेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij