काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ७ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
निर्वाचन सुरक्षा तयारीः तीनै सुरक्षा निकायका सवारीसाधन खरिद अन्तिम चरणमा
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ ।
अर्थ मन्त्रालयबाट खरिद अनुमति प्राप्त भइसकेपछि सवारीसाधन खरिदको प्रक्रिया तीव्र गतिमा अघि बढाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा आगजनी भएर ध्वस्त भएका अत्यावश्यक सवारीसाधनका स्थानमा नयाँ सवारीसाधन उपलब्ध गराउन अर्थ मन्त्रालयले स्रोत उपलब्ध गराएपछि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई सर्वोच्चको थुनामुक्त आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ। आइतबार डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई तत्काल रिहा गर्न आदेश जारी गरेको हो।
प्रसाईँका छोरा निराजन प्रसाईँले गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सोही रिटमा प्रारम्भिक सुनुवाइ गर्दै इजलासले पक्राउ प्रकृया कानुनअनुसार नदेखिएको ठहर गर्दै थुनामुक्त गर्ने आदेश दिएको हो।
एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्र्याक्टिक तथा म्यानुअल थेरापीमा १०% सम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूले अब काइरोप्र्याक्टिक तथा म्यानुअल थेरापी केन्द्रमा उपचार सेवा लिँदा १० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन्। बैंक र थेरापी केन्द्रबीच हालै सम्पन्न सहकार्य सम्झौतासँगै उक्त सुविधा लागू भएको बैंकले जनाएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकले बालुवाटार, त्रिपुरेश्वर (काठमाडौँ) र बुटवलस्थित थेरापी केन्द्रका शाखाहरूमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेपछि छुट प्राप्त गर्न सक्नेछन्।
निर्माण व्यवसायी र कर्मचारीको ढिलासुस्तीले राज्यलाई ठूलो क्षति : मन्त्री कुलमान घिसिङ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ठेक्का लिएर पनि काम नगर्ने निर्माण व्यवसायी तथा समयमै निर्णय नगर्ने कर्मचारीका कारण राज्यले ठूलो नोक्सानी व्यहोर्नु परेको बताएका छन्।
नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले पूर्वाधार विकासका आयोजनामा प्राविधिक दक्षता अभाव र निर्णयप्रक्रियामा ढिलाइ हुँदा परियोजना कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताए।
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
विश्वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्न आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँ ।पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताउनुभएको छ । आज यहाँ आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणासभामा उहाँले विश्वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सार्वजनिक विद्यालयको सम्पत्ति अवैध रूपमा भाडामा दिएको आरोपमा ९ जना विरुद्ध अख्तियारले आरोपपत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको सार्वजनिक सम्पत्ति निजी बोर्डिङ स्कुललाई अवैध रूपमा भाडामा दिई दुरुपयोग गरेको आरोपमा आज नौ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेद्रकुमार पौडेलका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, समितिका पदेन सदस्य पोखरा महानगरपालिका–१ का वडाअध्यक्ष शाहारा प्रधानसहित पाँच सदस्यले अञ्जुली आवासीय माध्यमिक विद्यालयलाई सार्वजनिक सम्पत्ति १२ वर्षका लागि अवैध रूपमा भाडामा दिने निर्णय गरेका आरेप छ । उक्त कार्यमा बोर्डिङ स्कुलका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसी पनि संलग्न रहेको आयोगको ठहर छ ।
एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी तथा २८ वर्षीय सेखचन्द बसल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले २१ लाख ६ हजार कित्ता आईपीओ जारी गर्ने
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया सुरु गरेको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ।
कम्पनीले प्रति सेयर अंकित मूल्य रु १०० कायम गर्दै २१ लाख ६ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको हो। यसमार्फत कम्पनीले रु २१ करोड ६ लाख बराबरको पुँजी सर्वसाधारणबाट जुटाउनेछ।
शेयर बजार : नेप्से ३९.९२ अंकले बढेर २६००.२२ बिन्दुमा, ६ अर्ब २८ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । शुक्रबारको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेखनीय रूपमा उक्लिएको छ। नेप्से ३९.९२ अंकले बढ्दै २,६००.२२ बिन्दुमा पुगेको छ, जुन १.५५ प्रतिशत वृद्धि हो। बजार ३ बजे बन्द हुँदा समग्र सूचक हरित क्षेत्रमा रहेर सकारात्मक व्यापारिक माहोल देखिएको थियो।
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या
काठमाडौँ । विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् ।गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ ।
निर्धन उत्थान वित्तीय संस्थाले ७प्रतिशत ब्याजदर कायम गरी ऋणपत्र निष्कासन गर्दै
काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्न लागेको छ । संस्थाले ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न लागेको हो । सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्रका लागि संस्थाले नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने भएको छ । संस्थाले नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि ऋणपत्र जारी गर्ने जनाएको छ ।
सुनको मूल्यमा वृद्धि भई आइतबार तोलाको २ लाख ४४ हजार ६०० रुपैयाँ कायम
काठमाडौँ । सुनको मूल्यमा वृद्धि भई आइतबार तोलाको २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको हो ।
रामेछापका सरोज पौडेल अस्ट्रेलियाको एचएम अवार्ड फर फ्रन्ट अफिस असोसिएट २०२५बाट सम्मानित
काठमाडौँ । रामेछापका सरोज पौडेल अस्ट्रेलियाको एचएम अवार्ड फर फ्रन्ट अफिस असोसिएट २०२५बाट सम्मानित भएका छन् ।
विगत लामो समयदेखि अस्ट्रेलियाका फाइभ स्टार होटलहरूमा कार्यरत पौडेल अस्ट्रेलियाका सयौँ प्रतिस्पर्धी होटलहरू मध्येबाट छनोट भइ उक्त अवार्डबाट सम्मानित भएका हुन् ।
पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जा ४४ .३८ प्रतिशतले बढ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष (आव)को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जामा लगानी ४४.३८ प्रतिशतले वृद्धि भएको छ ।लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र र अन्य कर्जा असुलीमा समस्या बढ्दै गएको देखिएपछि वाणिज्य बैंकहरूले सेयर धितो कर्जामा लगानी बढाएको देखिएको हो ।
काठमाडौं— राजधानीभित्रका उत्कृष्ट र अत्याधुनिक सुविधा सम्पन्न रेस्टुरेन्टमध्ये पर्छ Vinoliva Restaurant & Bar, जसले आगामी नोभेम्बर २४, सोमबार आफ्नो तेस्रो वार्षिकोत्सव उत्साहपूर्ण रूपमा मनाउने भब्य तयारी गरेको छ।फाइभ–स्टार रेटिङ प्राप्त यो रेस्टुरेन्ट स्वाद, सेवा र वातावरणका कारण पछिल्ला वर्षहरूमा राजधानीका ग्राहकको प्रमुख गन्तव्य बनेको छ।
एनआरएनएका शीर्ष नेतृत्वको लगानीमा संचालित उक्त रेस्टुरेन्टले छोटो समयमानै सबैको मन जित्न सफल भएको छ ।यस रेस्टुरेन्टको नेतृत्वमा एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपाने (मलेसिया निवासि) अध्यक्षको भूमिकामा छन्।
त्यस्तै, एनआरएनएका उपाध्यक्ष लोक दाहाल (बेल्जियम निवासी), उपाध्यक्ष राज रेग्मी (कतार निवासी) तथा जापान निवासी ईश्वर सापकोटा रेस्टुरेन्टका सञ्चालक रहेका छन ।
नेपालमा अण्डाको मूल्यमा भारी वृद्धि, आजदेखि नयाँ दर लागू
चितवन । नेपालमा अण्डाको मूल्य आज (मंसिर ७ गते) देखि लागू हुनेगरी भारी वृद्धि भएको छ। किसानको फार्म मूल्यलाई आधार मानेर समर्थन मूल्य निर्धारण गर्दै आएको नेपाल लेयर्स कुखुरापालक संघले नयाँ मूल्यसूची सार्वजनिक गरेपछि अण्डाको दर एकैपटक बढेको हो।
सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र र विदेशी रोजगारियाबीच आईपीओ खुला
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि (मंसिर ७ गते) आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ (साधारण शेयर) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीलाई १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्न अनुमति मिलेको थियो। यसमध्ये १ अर्ब रुपैयाँ बराबरका १ करोड कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि खुला गरिएको छ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij