रसुवा। यहाँस्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो । कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो । तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना आउने स्थानीयवासी सिङ्गी तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी धारामा स्नान गरेपछि शरीरका रोग निको हुन्छ ।
करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो । नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङका अनुसार तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग निको भएको दाबीसमेत गर्नुभयो । विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलसमेतले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताउनुभयो । अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न भक्तजन आकर्षित भइराखेका छन् । –––
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij