काठमाडौँ । बंगलादेशलाई थप २० मेगावाट बिजुली बेचिने भएको छ । दुई देशका ऊर्जा सचिवस्तरीय ८औँ बैठकमा बंगलादेशले थप २० मेगावाट विद्युत किन्ने सहमति गरेको हो ।
बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले बंगलादेशले अब नेपालसँग कुल ६० मेगावाट बिजुली किन्ने सहमति भएको जनाएका छन् ।बैठकमा बंगलादेशका अधिकारीले नेपालले थप बिजुली दिनुप¥यो भनेपछि नेपालको तर्फबाट सहमति जनाइएको छ ।
सहमति अनुसार बंगलादेशले वर्षात्को ६ महिना थप २० मेगावाट बिजुली किन्ने छ । बैठकका लागि ऊर्जासचिव चिरञ्जिवी चटौतको नेतृत्वमा १२ सदस्यीय टोली मंगलबार बंगलादेश गएको थियो।
बंगलादेशले नेपालबाट वर्षाको बेला ४० मेगावाट विद्युत लाने गरेकोमा यो सहमति पछि ६० मेगावाट लाने भएको छ । एक वर्षअघि भएको दुई देशका ऊर्जा सचिवको ७औँ बैठकमा ‘पावर सेल्स एग्रिमेन्ट’मा हस्ताक्षर भएपछि बंगलादेशले नेपालबाट भारत भएर बिजुली लान थालेको हो।
पोहोरको वर्षातमा बंगलादेशले नेपालसँग जम्मा एक दिन बिजुली किनेको थियो। त्यसबापत प्राधिकरणले ३७ लाख ९३ हजार ४३३ रूपैयाँ पाएको थियो।बैठकमा ६८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा बंगलादेशले लगानी गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। विद्युत विकास विभागले तयार पारेको यो आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई एक वर्ष अघि नै अध्ययनका लागि दिइएको थियो।
बंगलादेशी अधिकारीहरुले आफूहरुकहाँ विद्युत्को माग उच्च रहेका कारण नेपालमा लगानीका लागि तयार रहेको भन्दै एकपटक सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनास्थलको भ्रमण गर्ने बताएका छन्।
बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोलीले तीन वर्षअघि पनि काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको आयोजनास्थलको भ्रमण गरेको थियो।
यो आयोजना बनाउन १ खर्ब ५९ अर्ब ७२ करोड रुपैयाँ बराबर लागतको अनुमान छ। वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन अनुसार आयोजनाका लागि ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नु पर्नेछ। यस्तै आयोजना क्षेत्रमा ६५५ हेक्टर वन क्षेत्र पर्छ।
आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुनेछन्। रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकाको सीमानामा पर्ने लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनेर विद्युत उत्पादन गर्ने प्रस्ताव गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij