काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ११ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित, साविक विजेता जनकपुरलाई २४ रनले पराजय
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले साविक विजेता जनकपुरलाई २४ रनले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो। जवाफी पारीमा जनकपुरले २० ओभरमा १३० रन मात्र बनाउँदा नौ विकेट गुमायो। पोखराका लागि विपीन खत्रीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै चार ओभरमा १५ रन खर्चेर चार विकेट लिए। ब्याटिङमा सुमित वर्माले ५० रनको अर्धशतक बनाए भने त्रितराज दासले २८ रन जोड्दै पोखरालाई चुनौतीपूर्ण लक्ष्यमा पुर्याए।
भुजुङ हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्काशनको अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावरलाई सर्वसाधारणमा शेयर बिक्री गर्न आईपीओ निष्काशन अनुमति प्रदान गरेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ, जसको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरका २० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछन्। कम्पनीमा हाल ८० प्रतिशत (८० लाख कित्ता) शेयर संस्थापक शेयरधनीका नाममा रहेको छ।
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोह समूह, नेकपा विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रममा राष्ट्रियता कमजोर भएकाले नेपाली जनताको आत्मसम्मान तथा देशको सार्वभौमसत्ता रक्षाका लागि वामपन्थी शक्ति र कम्युनिष्ट एकता गरिएको उहाँले बताउनुभयो ।
भगवती कम्पोजिटको आईपीओ बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
काठमाडौं । भगवती कम्पोजिट इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि जारी पूँजीको २० प्रतिशत बराबरका प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा ६ लाख ४४ हजार कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौतापत्रमा कम्पनीकी अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।
कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगले नगर प्रमुख गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार मुद्दा दायर गरेको हो ।
नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध मुद्दा दायर जनाइएको हो ।
क्युरेक्स फर्मास्युटिकल्सबाट उत्पादित रेक्सामोल नामक औषधि गुणस्तरहीन, बजारबाट रेक्सामोल फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन
काठमाडौँ । क्युरेक्स फर्मास्युटिकल्सबाट उत्पादित रेक्सामोल नामक औषधि गुणस्तरहीन पाइएको छ ।
सिटामोलको सट्टामा प्रयोग गरिने रेक्सामोल गुणस्तरहीन भएको भन्दै औषधि व्यवस्था विभागले उत्पादक क्युरेक्स फर्मास्युटिकल्स प्रालिलाई बजारबाट औषधि फिर्ता गर्न निर्देशन दिएको हो ।
रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु
रसुवा।रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुख्खाबन्दरगाहको सफा गर्ने काम सुरु भएको छ । गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बन्दरगाह परिसरमा थुपारेको ढुङ्गा, बालुवा, फलामका रड, काठपातलगायतका वस्तु हटाउने काम सुरु भएको हो । नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेँसँगै सुख्खाबन्दरगाह सफा गर्ने काम सुर भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । सफाइ गर्ने जिम्मेवारी पाएको ‘नेपाल इन्टरमोडल टान्सपोर्ट’का प्रबन्ध निदेशक आशीष गजुरेलका अनुसार पहिलो चरणमा ७५ वटा मालवाहक कन्टेनर पार्किङका लागि सफा गर्ने काम सुरु भइसकेको र लगत्तै दास्रो चरणमा थप ७५ वटा मालवाहक कन्टेर पार्किङका लागि पनि ठाउँ बनाइने गरी प्रक्रिया अघि बढेको छ ।
द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल
काठमाडौँ ।गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताउनुभयो । “होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत रूपमा चल्नुपर्छ,” उहाँले भन्नुभयो, “द्वन्द दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबु भित्र राखेका छौँ ।”
प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन्।
प्रधानमन्त्रीको सिफारिस र नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर ८ गतेको निर्णयका आधारमा राष्ट्रपतिले सेना परिचालनको अनुमति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
आइपीओ बजार सक्रिय: भुजुङ्ग हाइड्रोपावरलाई अनुमति, दुई कम्पनीले कागजात बुझाए
काठमाडौं । नेपाल धितोपत्र बोर्डले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई साधारण शेयर (आइपीओ) निष्काशनका लागि अनुमति दिएको छ। बोर्डले कम्पनीलाई कुल २० लाख कित्ता सेयर बिक्री गर्न स्वीकृति प्रदान गरेको हो। उक्त आइपीओको बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटलले वहन गर्नेछ।
यसैबीच, दुई कम्पनी—एनसी एग्रो टेक इन्डस्ट्रिज् र इलेक्ट्रो पावर कम्पनी लिमिटेड—ले पनि आफ्नो आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।
नेता कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकाेटाको इजलासले बिहीबार सुनुवाइपछि जिल्ला अदालत काठमाडौंले गरेको थुनामा राख्ने आदेश बदर गरेको हो।
यसअघि २९ असोजमा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशपछि उनी डिल्ली बजार कारागारमा थुनामा थिए।
वीरगञ्ज महानगरद्वारा चालु आवको चार महिनामा २१ करोड तीन लाख राजस्व सङ्कलन
वीरगञ्ज । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको चार महिनामा रु २१ करोड तीन लाख ९६ हजार ४०८ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले सो अवधिमा सम्पत्ति करतर्फ रु सात करोड ५६ लाख रकम सङ्कलन गरेको हो ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले राजस्व बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दावी गर्नुभयो “महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आइरहेका छौँ । यद्यपी अहिले पनि अपेक्षाकृत ढङ्गले राजस्व भने सङ्कलन हुन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ ।”
कर कार्यालयहरू खारेज भएपछि व्यवस्थापन गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौँ । आन्तरिक राजस्व विभागले जनशक्ति व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । कार्तिक १७ गते मन्त्रिपरिषद्को बैठकले कर कार्यालयहरू खारेज गरेपछि ती कर कार्यालयहरूमा कार्यरत कर्मचारीहरू व्यवस्थापनका लागि विभागले अर्थ मन्त्रालयलाई परिपत्र गर्दै यस्तो आग्रह गरेको हो ।
शेयर बजार : नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ बिन्दुमा, ६ अर्ब ६६ करोड बढीको कारोबार
काठमाडौँ । बिहीबार सेयर बजारको नेप्से परिसूचक १०.४३अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक १०.४३ बिन्दुले बढेर २६७६.०३ अंकमा पुगेको छ ।
कारोबार६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १ सय ४३ रुपैया ४७ पैसा बराबर बिहीबार भएको छ । बिहीबार १ करोड४६ लाख ९३ हजार ८ सय ७ कित्ता शेयरको कारोबार भएको हो ।
बंगलादेशलाई थप २० मेगावाट बिजुली बेचिने
काठमाडौँ । बंगलादेशलाई थप २० मेगावाट बिजुली बेचिने भएको छ । दुई देशका ऊर्जा सचिवस्तरीय ८औँ बैठकमा बंगलादेशले थप २० मेगावाट विद्युत किन्ने सहमति गरेको हो ।
बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले बंगलादेशले अब नेपालसँग कुल ६० मेगावाट बिजुली किन्ने सहमति भएको जनाएका छन् ।बैठकमा बंगलादेशका अधिकारीले नेपालले थप बिजुली दिनुप¥यो भनेपछि नेपालको तर्फबाट सहमति जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij