Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

८०३ नेपालीले त्यागे नेपाली नागरिकता,८० लाख नेपाली एनआरएनएमा आवद्ध


नया सडक

२०८०, मंसिर १९ मंगलबार (From Archieve)

  • 648
    Shares

  • ८०३ नेपालीले त्यागे नेपाली नागरिकता,८० लाख नेपाली एनआरएनएमा आवद्ध

    काठमाडौं । विदेशमा रहेका ८० लाखभन्दा बढी नेपाली गैर-आवासीय नेपाली संघको नेटवर्कभित्र रहेको एनआरएनएको दाबी छ । यो तथ्यांकमा छिमेकी देश भारतसहित सार्क राष्ट्रमा पढ्न र काम गर्न गएका नेपालीहरूलाई समेटिदैन ।

    सार्वजनिक मञ्जमा विज्ञहरूले करिब एक करोड ५० लाख नेपाली विदेशमा रहेको धारणा राख्छन् । यसमा श्रम स्वीकृति लिएर र नलिएर, रोजगारीको लागि वा पढ्नको लागि सम्बन्धित देशको अनुमति लिएर वा अनुमति नलिई विदेशमा बस्ने र विनारोकतोक भारतमा काम गर्ने नेपालीहरूको संख्या १ करोड ५० लाख भन्दा बढी रहेकाे मानिन्छ ।


    पछिल्लो दुई दशकमा अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत र यूरोपेली देशहरु लगायत विकसित देशमा पुगेका र त्यही देशको पासपोर्ट लिएका नेपालीको संख्या लाखौं रहेको जानकारहरू बताउँछन् ।

    तर, गृह मन्त्रालयको तथ्याङ्कले त्यसो भन्दैन । अहिलेसम्म जम्मा ८०३ जना नेपालीले नेपाली नागरिकता त्यागेको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले जानकारी दिए । मन्त्रालयका सूचना अधिकारी समेत रहेका अधिकारीका अनुसार अहिलेसम्म ४८५ जना पुरुष र ३१८ जना महिलाले नेपाली नागरिकता त्यागेका छन् ।

    ‘नागरिकता सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट भएको नेपाली नागरिकता परित्याग गर्नेको संख्या ८०३ (४८५ पुरुष र ३१८ महिला) रहेको छ, साथै, नागरिकता परित्याग सम्बन्धी विवरण जिल्ला प्रशासन कार्यालयहरूबाट निरन्तर रुपमा प्रविष्ट भइरहेकोले नागरिकता सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक भइरहेको छ,’ अधिकारीले  भने ।

    शिक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७५/७६ देखि ०७९/८० सम्म ३ लाख ४८ हजार ५०८ जना नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि अनुमति लिएका छन् । वि.सं २०५० साल यता वैदेशिक रोजगारीको लागि ७० लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएर विदेशमा रोजगारीको लागि गएका छन् । तर, अध्ययन र रोजगारीका लागि विदेश गएकामध्ये कति जना नेपाल फर्किए भन्ने तथ्याङ्क सरकारसँग छैन ।

    विदेश जाने नेपालीको संख्या उच्च भएपनि नागरिकता त्याग्नेको संख्या कम भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । ‘स्थायी बसोबास (पीआर) वा ग्रिन कार्ड मात्र लिनेले नेपाली नागरिकता त्याग गर्नु नपर्ने भएकाले पनि नागरिकता त्याग्नेको संख्या कम हुन सक्छ, नेपालप्रतिको मोहले पनि नागरिकता त्याग नगरेको हुन सक्छ,’ उनले भने ।

    गैर आवासीय नेपाली नागरिकताको माग पनि सीमित रहेकाे उनकाे भनाइ छ । नागरिकता त्यागेपछि पैतृक सम्पत्तिमा हक नलाग्ने भएकाले पनि विदेशी नागरिकता लिएर  नेपाली नागरिकता त्यागबारे जानकारी नदिने अभ्यास रहेको अधिकारीहरूकाे भनाइ छ ।

    नेपाल नागरिकता ऐन, २०६३ को दफा (१०) मा कुनै पनि नेपालीले विदेशी नागरिकता प्राप्त गरेपछि उसको नेपाली नागरिकता स्वतः कायम नहुने व्यवस्था छ । साथै, एकैपटक दुई देशको नागरिकता प्राप्त हुने अवस्थामा पनि कुनै एक देशको नागरिकता रोज्नुपर्ने व्यवस्था उक्त दफामा उल्लेख छ । यो समाचार विकासन्युजमा प्रकाशित छ 

    प्रतिक्रिया दिनुहोस