Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन :यस्ता छन्  माघ १४ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, माघ १४ आइतबार

  • 672
    Shares

  • नयाँसडक बुलेटिन :यस्ता छन्  माघ १४ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १४ आइतबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    बोटलर्स नेपाल तराईको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

    काठमाडौं ।  बोटलर्स नेपाल (तराई) ले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २९ गते देखिनै नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।  कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ ।

    नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन,  कतिमा खुल्छ सोमबार कारोबार ?

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा अरुण भ्याली हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्सुरेन्सको सेयर मूल्य समायोजन भएको छ । जसमा अरुण भ्यालीको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य २८० रुपैयाँ २० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

    रिलायबल नेपालको १६ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ५७७ रुपैयाँ ५० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपछि यसको मूल्य ४९७ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

    नेप्से सूचक १०.३७ विन्दुले बढेर २०९४.४६ अंकमा , ३ अर्ब ८३ करोड रुपैयाँभन्दा बडीको सेयर कारोबार

    काठमाडौ ।आइतबार नेप्से सूचक १०.३७ विन्दुले बढेर २०९४.४६ अंकमा आएको छ । ३ अर्ब ८३ करोड रुपैयाँभन्दा बडीको सेयर कारोबार भएको हो । ३ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

    यस दिन ३०६ कम्पनीको १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

    अप्पर तामाकोशी हकप्रद शेयरको लिलामीको बाँडफाँट  सोमबार हुने

    काठमाडौं ।अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामीको बाँडफाँट भोलि  (सोमबार )हुने भएको छ ।

    अप्पर तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषका अनुसार सोमबार बाँडफाँड हुने जनाएको हो ।

    अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ छ। गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो।

    आँखु खोला जलविद्युतको खुद नाफा ४३ प्रतिशतले घट्यो

    काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले १ करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म २ करोड ६६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४२ दशमलव ८५ प्रतिशत कम खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको आम्दानी १२ प्रतिशत घटेसँगै खुद नाफामा असर परेको हो । गत वर्ष १२ करोड २३ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष भने १० करोड ७६ लाख रूपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो ।

    शिवम् होल्डिङ्स लिमिटेडको व्यापार ४५.३८ प्रतिशतले घट्यो

    काठमाडौं । शिवम् होल्डिङ्स लिमिटेडको व्यापारमा ४५.३८ प्रतिशतको गिरावट आएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार यस होल्डिङ्सले सन् २०२३ मा २१ करोड ३० लाख रुपैयाँ व्यापार गरेको छ । शिवम् होल्डिङ्स सन् २०१५ मा स्थापना भएको कम्पनी हो । यसलाई सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत गरिएको थियो । यसको होङशी सिमेन्टमा ३० प्रतिशत लगानी छ ।

    कम्पनीको जलविद्युत, उत्पादन, वित्तीय सेवा, होटल्समा लगानी रहेको रेटिङ एजेन्सीले जनाएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सले यसलाई ‘आइआरएन बीबीबी माइनस’ रेटिङ दिएको छ । होल्डिङ्सले होङ्शीबाट पाउने लाभांश घटेपछि यसको आम्दानी घटेको हो ।  शिवम् होल्डिङ्स प्रिमियममा आइपीओ जारी गर्ने तयारीमा छ ।

    माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एन्ड स्पा सञ्चालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यस कार्यका लागि बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज ९एलएस० क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
    सेयर निष्कासन पश्चात रिसोर्टका कोठाहरु थप गरी विदेशी होटलसँग अनुबन्धन गरे पश्चात पाँच तारे होटलको रुपमा सेवा उपलब्ध गराउने योजना कम्पनीको छ । हाल यसको जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

    आज रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा बोलकबोल पेश गर्ने अन्तिम दिन

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा बोलकबोल पेश गर्ने आज आइतबार माघ १४ गते अन्तिम दिन हो । यस कम्पनीको आइपीओमा योग्य संस्थागत लगानीकर्ताले आजसम्म बोलकबोल पेश गर्न सक्नेछन् । यस कम्पनीले माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत गतेदेखि आइपीओ बिक्री खुला गरेको हो ।रिलायन्स स्पिनिङ मिल्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४?% ले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये ४०% अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो । बोलकबोलका प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ ।

    आइएमई लाइफको खुद नाफा ९६.१४ प्रतिशतले बढ्यो

    काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ११ करोड ९६ लाख रुपैयाँ रहेको नाफा अहिले ९६.१४% ले वृद्धि भएको हो ।

    कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा आकर्षक सुधार आउँदा नाफामा बढोत्तरी आएको हो । लगानी तथा कर्जाबाट पुस मसान्तसम्म ६३ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको भन्दा ८५.५३% धेरै हो ।कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि ११.२०% ले बढेर १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ८५ करोड रुपैयाँ छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ ।

    एसियन लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

    काठमाडौँ  ।एसियन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।  सेयरधनीहरुलाई ७.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  बोनस सेयर वितरणपछि चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ । एसियनले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट भने ८.५०% बोनस सेयर र ०.४५% नगद लाभांश दिएको थियो ।

    आर्थिक पूर्वाधार निर्माण अबको बाटो : अर्थमन्त्री महत

    काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाल मार्केटिङ एशोसियनले आज यहाँ आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै डा महतले अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।

    डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती

    काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले आज (२६ जनवरी) आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल कारोबार सुरु गरेको खल्तीले अहिले सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ ।

    खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिएका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ । कम्पनीले छोटो समयमा नेपालको डिजिटल कारोबारको करिब एक चौथाई स्थान ओगटेको जनाएको छ । कम्पनीका अनुसार खल्तीले दैनिक करिब तीन लाखवटा भन्दा बढी कारोबारद्वारा लाखौँ प्रयोगकर्ताहरूको जनजिवन सहज बनाईरहेको छ भने एक लाखभन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा खल्तीको डिजिटल भुक्तानी सेवाबाट लाभान्वित भईरहेका छन् ।

    लक्ष्मी सन्राइज बैंक र अपर सेती हाइड्रो प्रा.लि. बिच २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता

    काठमाडौं । २०८०, माघ १२ गते . लक्ष्मी सन्राइज बैंक लि. र अपर सेती हाइड्रो प्रा.लि. बीच सो कम्पनीको कास्की जिल्ला स्थित सेती नदीमा २० मे.वा. क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

    अपर सेती हाइड्रोले माघ १७, २०७८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै आश्विन १०, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा नेपालको प्रतिष्ठित व्यापारिक घराना के.सी. ग्रुप रहेको छ ।

    कर्मचारीको अभावमा प्रहरी कल्याणकारी पेट्रोल पम्प चौबीस घन्टा चल्न सकेन , गृहमन्त्री र आईजीको  ध्यान  किन पुगेन् ?

    काठमाडौं । प्रहरी सेवा जनताका लागि चौबीसै घन्टा उपलब्ध हुने सेवा भएपनि उसले दिने सेवा त्यस्तो नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।प्रहरी कल्याणकारी कोषबाट सञ्चालित पेट्रोल पम्पहरूले चौबीसै घन्टा सेवा उपलब्ध गराउन नसक्दा आकस्मिकतामा परेका सेवाग्राहीहरूलाई समस्या परेका हुन् ।

    गृहमन्त्रालयको नेतृत्व उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सम्हालेपछि गृहमन्त्रालय अन्तर्गतका कयौँ सेक्टर सुधार भए । कयौँ भ्रष्टाचारीलाई कारबाही भयो । मन्त्रालय अन्तर्गत सुशासन कायम गर्न गृहमन्त्री अहोरात्र लागि रहे । तर अत्यावश्यक वस्तुमा पर्ने पेट्रोलियम पदार्थजस्तो संवेदनशील कुरामा गहृमन्त्रीको ध्यान जान नजाँदा र उपयुक्त निर्देशन नदिँदा प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्पहरू साढे ६/ ७ बजे नै बन्द हुने गरेका छन् ।

    अफवाह फैलाएर नेपाल चीन सम्बन्ध बिगार्न खोजिएको चिनियाँ नेतृ हाइयानको भनाइ

    काठमाडौं । नेपाल भ्रमणमा रहेकी  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् ।काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रियामा हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको बताउँदै केहीले यस्तो देख्न नचाहेको बताएकी हुन् ।

    चीनले राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहिरहेकाले केही देशहरु हाम्रो सम्बन्धमा भाँजो हाल्न चाहिरहेका उनले भनिन् ।अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताइन् । त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको उनले  बताइन् ।

    गभर्नर अधिकारी बिरूद्ध सर्वोच्च अदालतमा दायर रीटको सुनुवाइ आजका लागि स्थगित

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बिरूद्ध सर्वोच्च अदालतमा दायर रीटको सुनुवाइ आजका लागि स्थगित भएको छ । यसअघि माघ ९ गते उक्त रीट हेर्न नभ्याइने सूचीमा परेको थियो । उनीमाथि शैक्षिक योग्यताको प्रश्न उठाइँदै रीट परेको थियो ।

    यस अघि पुस १३ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको थियो ।

    तर न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा परेको पेशी माघ ९ गते हेर्न नभ्याइने सूचीमा परेको थियो ।

    देशभर चिसो बढ्यो : काठमाडौंमा यस वर्षकै कम तापक्रम

    काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आइतबार (माघ १४ गते)बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पनि काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको थियो । पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै तापक्रम दिपायलमा २२.२ डिग्री सेल्सियस र सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४.९ डिग्री सेल्सियस मापन गरिएको छ ।

    न्यूरोड क्षेत्रका व्यापारीहरूद्वारा २२ नम्बर वडा कार्यालयमा तालाबन्दी, निर्णयबाट काठमाडौं महानगरपालिका पछि हट्ने संकेत

    काठमाडौं । न्यूरोड क्षेत्रका स्थानीय बासिन्दा र व्यापारीहरूले काठमाडौं महानगरपालिका वडा न २२मा तालाबन्दी गरेका छन् । न्यूरोड क्षेत्रका कालोपत्रमा सवारी साधन पार्किङ गर्न नदिने गरी माघ ९ गतेदेखि काठमाडौ महानगरपालिकाले सो निर्णय कार्यान्वयन गर्न खोजेकोमा त्यसको विरोधमा स्थानीय बासिन्दा र व्यापारीहरू आन्दोलित भएका हुन् ।

    पाको युथ क्लबका पूर्व अध्यक्ष अमृत मानन्धरको नेतृत्वमा स्थानीय बासिन्दा र व्यापारीहरूले संयुक्त संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
    त्यसयता निरन्तरको आन्दोलनबाट काठमाडौं महानगरपालिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्न थालेको देखिएको हो । काठमाडौं महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने निर्णय गरेको हो । कामपाले आज माघ १४ गतेदेखि सर्वसाधारणका लागि निःशुल्करूपमा सो पार्किङ क्षेत्र उपलव्ध गराउन लागेको हो ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ १४ गते)छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको छ ।

     

     
     
     
     
     
     
     
     
     
     
     

     

     
     
     
     
     

     

     

     

     

     
     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस