Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १७ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८०, माघ १७ बुधबार

  • 663
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् माघ १७ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १७ बुधबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

    काठमाडौं ।  सिटिजन्स बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको छ । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।सिटिजन्स बैंकले वार्षिक ८.५% ब्याजदर भएको ‘सिटिजन्स बैंक डिबेन्चर, २०९०’ बिक्री गर्न लागेको हो । यसको अवधि १० वर्षको हुनेछ । यो डिबेन्चरमा हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

    राप्ती हाइड्रोले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल 

    काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस कम्पनीको हाल ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

    पुनर्बिमा कम्पनीको चुक्ता पुँजी २० अर्ब पुर्‍याउने तयारी

    काठमाडौं । नेपाल बिमा प्राधिकरण पुनर्बिमा कम्पनीको चुक्ता पुँजी निर्णय गरेको छ । प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुनर्बिमा कम्पनीको चुक्ता पुँजी २० अर्ब पुर्याउने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले २०८१ माघ मसान्तसम्म पुनर्बिमा कम्पनीले २० अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने नेपाली पैसालाई बताए । पुँजी वृद्धिको योजना १५ दिनभित्र बिमा प्राधिकरणलाई बुझाउन पुनर्बिमा कम्पनीलाई निर्देशन दिएको उनको भनाइ छ ।

    शेयर बजार : २१.६७ अंकले घटेर नेप्से  २०९७.९३ विन्दुमा , ५ अर्ब २९ करोडमो कारोबार

    काठमाडौं । आज नेप्से २१.६७ अंकले घटेर  २०९७.९३ विन्दुमा आएको छ ।  यस दिन ५ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूह घटेका छन् ।

    बुधबार ३१३ कम्पनीको १ करोड ४७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । सामलिङ पावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सर्किट लेभल नजिक बढेर कारोबार भएको छ । हिमालयन रिइन्सुरेन्स कम्पनीको सबैभन्दा बढी ६३ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    वैदेशिक रोजगारमा रहेकाहरुका लागि  निष्काशन गरिएको सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड

    काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरुका लागि  निष्काशन गरिएको सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । सर्वोत्तम सिमेन्टले त्यसका लागि तोकेको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार आईपीओ बाँडफाँड गरेको हो ।

    सर्वोत्तमले नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट जारी गरेको आइपीओ गोलाप्रथामार्फत ५ हजार ३४० जनाले ५० कित्ताका दरले सेयर पाएका छन् ।

    बुक विल्डिङ विधिमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था अनुसार  न्यूनतम ५० कित्ताका दरले नै सेयर बाँडफाँड गरिएको हो । वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो ।

    कुमारी बैंकको साढे ४ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकले ५ जना संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ५८ हजार १२४ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (माघ १७ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

    कामना सेवा विकास बैंकको ५ लाख ९ हजार कित्ता संस्थापक सेयर लिलामी  बिक्री खुला 

    काठमाडौं ।  कामना सेवा विकास बैंकले आज (माघ १७ गते)देखि ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपीओ जारी गर्ने,  साधारण सभा फागुन २ गते

    काठमाडौं ।  श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन २ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । विशेष सभामा कम्पनीको अधिकृत पुँजी, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

    यसपटक जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । 

    सिंगटी हाइड्रो इनर्जीले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने 

    काठमाडौं ।  सिंगटी हाइड्रो इनर्जीले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ ।

    नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न  ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बजारमा भएको अधिक तरलताको व्यवस्थापन गर्न आज बुधबार माघ १७ गते पनि ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्ने लागेको हो ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोल १०० रुपैयाँले बढेर १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।
     बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १४ सय २० रुपैयाँ कायम रहेको छ ।

    सन् २०२३ मा जापानलाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता

    टोकियो । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा)को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ ।

    जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको तथ्याङ्कले देखाएको छ । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) ले यसै महिना सार्वजनिक गरेको रिपोर्टअनुसार चीनले निर्यात गरेको ४९ लाख १० हजारको तुलनामा यो सङ्ख्या करिब पाँच लाखले बढी हो ।

    यद्यपि, चीनको भन्सार विभागले निर्यात सङ्ख्या ५२ लाख २० हजार पुगेको र बर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको जानकारी गराएको छ ।

    सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट

    सियोल । दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ ।  स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा घाटा निम्त्याएको कम्पनीले बुधबार जनाएको छ ।  
    सन् २०२३ मा सामसुङको परिचालन मुनाफा ८४.९प्रतिशतले घटेर ६.५७ ट्रिलियन   पुगेको छ ।
    पछिल्लो समयमा  विश्वव्यापी वित्तीय सङ्कटले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ ।
    राजस्व १४.३ प्रतिशतले घटेर २५८.९४ ट्रिलियन ओन तथा शुद्ध आय ७२.२ प्रतिशतले घटेर १५.४९ ट्रिलियन ओन पुगेको छ ।
    अक्टोबर–डिसेम्बरको तीन महिनामा मात्रै परिचालन मुनाफा ३४.४ प्रतिशतले घटेर २.८२ ट्रिलियन ओन पुगेको छ ।

    सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष सुनारलाई पनि जेल चलान गर्न आदेश

    काठमाडौं ।  इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ । जिल्ला अदालत बागलुङले  सहकारी ठगी मुद्दामा सोमबार सुनारलाई  जेल चलान गर्न आदेश दिएको हो । 

    उनीविरुद्ध गत असार १० गते पक्राउ पुर्जी जारी भएको जनाउँदै  जिल्ला प्रहरीले अदालतमा पेस गरेपछि अदालतको आदेशले उनलाई पुर्पक्षका लागि जेल पठाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी सार्वजनिक गरेका हुन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले निसीखोला गाउँपालिका–३ घर भएकी सुनारलाई ललितपुरको धोबीघाटबाट गत बिहीबार बेलुकी पक्राउ गरेको थियो । बचतकर्ताको डेढ अर्बभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेपछि सहकारीका संस्थापक तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहितका सञ्चालक हरू  फरार थिए । नेपालीसँगै उनीसमेत फरार थिइन् ।

    चिनियाँ सहयोगमा बनेको हेटौडा कपडा उद्योग फेरि सञ्चालन गरी मुनाफामा लान सकिने नेपाली सेनाको अध्ययन

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग फेरि सञ्चालनमा ल्याउने बारे नेपाली सेनासँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग फेरि सञ्चालनमा ल्याउने बारे नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको  जानकारी लिएका हुन्  ।

    सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गर्छ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने बताउनुभएको छ ।

     

    नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “म नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु । त्यसैले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतालाई आत्मसात् गरिएका विषयवस्तुहरू नेपाल टेलिभिजनमा देख्न चाहन्छु ।”

    मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

    म्याग्दी ।  म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ ।  

    पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३÷११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुुइँटेलले प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको जानकारी दिनुभयो ।

    भाटभटेनीले नक्कली भ्याट बिलमार्फत् कर छलेको सर्वोच्च अदालतको ठहर, २ अर्ब कर तिर्नुपर्ने

    काठमाडौं । भाटभटेनीले नक्कली भ्याट बिलमार्फत् कर छलेको सर्वोच्च अदालतले ठहर गरेको छ । अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर छलेको ठहर भएको हो । नक्कली भ्याट बिलमार्फत् कर छली गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोषी ठहर भएको हो । सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलबार भाटभटेनीलाई सफाइ दिन अस्वीकार गरेसँगै दोषी ठहर भएको हो ।

     

     
     
     
     

     

     
     
     
     
     
     
     

     

     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस