Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १९ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 708
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् माघ १९ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १९ शुक्रबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    ग्लोबल आइएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण, लैङ्गिक तथा जलवायु फाइनान्सिङ्गमा परिचालन गर्ने

    काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिनेछ ।
    यस लगानीको उद्देश्य साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने रहेको छ । 

    कालंगा हाइड्रो लिमिटेडले आइपीओ निष्कासन गर्ने, ज्योति क्यापिटल प्रत्याभूतिकर्तामा नियुक्त

    काठमाडौं ।  कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्ने ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता साधारण सेयरमध्ये ३४ लाख ९० हजार कित्ता ज्योति क्यापिटलले प्रत्याभूति गर्ने भएको छ । बिहीबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

    कालंगा हाइड्रो लिमिटेडको रजिष्टर्ड कार्यालय, धोबिघाट, ललितपुरमा आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कालंगा हाइड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले सेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    साल्ट ट्रेडिङको खुद नाफा ९० प्रतिशतले बढ्यो

    काठमाडौं ।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ९०.१६ प्रतिशतले धेरै हो । यस कर्पोरेसनले गत वर्ष १ करोड ८८ लाख नाफा आर्जन गरेको थियो । आम्दानी बढ्दा नाफामा भारी वृद्धि देखिएको छ । ३ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ रहेको आम्दानी अहिले बढेर ६ अर्ब ६९ करोड ५६ लाख पुगेको छ । यसको अन्य आम्दानी १ करोड ७३ लाखबाट बढेर १ करोड ८२ लाख पुगेको छ ।  साल्ट ट्रेडिङको चुक्ता पुँजी २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ३५ करोड ७७ लाख रुपैयाँ जम्मा छ ।

    युनिक नेपाल लघुवित्तको नाफा ११८.८२ प्रतिशतले बढ्यो

    काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११८ दशमलव ८२ प्रतिशत वृद्धि भएको छ ।गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३ करोड ३२ लाख पुगेको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो  । गत आवमा कम्पनीको सञ्चालन नाफा रू.१ करोड ९९ लाख रहेकोमा चालू आवमा बढेर रू। ४ करोड ५९ लाख पुगेको छ ।

    यस वर्ष नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले लाभांश नदिने

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।बैंकको शुक्रबार (माघ १९ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 
     बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

    सगरमाथा जलविद्युतको खुद  नाफा ६ करोड ५९ लाख

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ५९ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २१.९७ प्रतिशतले धेरै हो ।यस हाइड्रोपावरले पुससम्म १६ करोड ३३ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ ।यसको वित्तीय खर्च ५ करोड ३० लाखबाट बढेर ५ करोड ७६ लाख पुगेको छ । हाल सगरमाथाको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १२ करोड ३५ लाख जम्मा रहेको छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ३ पैसा छ ।

    नेसनल हाइड्रोपावरको  खुद नाफा २० प्रतिशतले बढ्यो

    काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २० प्रतिशतले धेरै हो ।
    वित्तीय खर्च घट्दा यसको नाफा बढेको हो । ८१ लाख २३ हजार रुपैयाँ रहेको उक्त खर्च यस अवधिसम्म आइपुग्दा ६२ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । यस हाइड्रोपावरले पुससम्म ५ करोड ४६ लाख रुपैयाँ बराबरलो विद्युत बिक्री गरेको छ ।हाल नेसनलको २ अर्ब ४६ करोड ७१ लाख ६२ हजार रुपैयाँ बराबरको चुक्ता पुँजी छ । यसको जगेडा कोषमा २ करोड ६५ लाख जम्मा रहेको छ ।

    इन्फिनिटी लघुवित्तको खुद नाफा ६३.५५ प्रतिशतले घट्यो

    काठमाडौं ।  इन्फिनिटी लघुवित्तको खुद नाफा पनि घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको खुद नाफा १ करोड १४ लाख ८९ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको यसै अवधिमा रहेको ४ करोड १० लाख रुपैयाँको तुलनामा ६३.५५% थोरै हो ।यसअवधिमा खुद ब्याज आम्दानी २८.६५% ले घटेर १० करोड ८९ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । ब्याज आम्दानीसँगै खुद फि तथा कमिसन आम्दानी पनि ३१.०७% ले घटेर ४ करोड १० लाख रुपैयाँमा आएपछि खुद नाफामा गिरावट आएको हो । यसको रिजर्भ कोषमा भने ३८.२९% वृद्धि भएको छ । खराब कर्जा ४.९५% मा स्थिर रहेको छ ।  खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि १३.८१ रुपैयाँले घटेर ६.०२ रुपैयाँमा सीमित भएको छ ।

    यसपटक महिला लघुवित्तले  लाभांश वितरण नगर्ने

    काठमाडौं ।  महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

    कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने 

    काठमाडौं । कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४% विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १% अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ ।बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । यो बन्दमुखी योजना हो । यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा फागुन १३ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

    बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको सांसद विनोद चौधरीको दाबी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका छन् ।

    नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँबानेश्वरको संसद भवनसंसद भवन अगाडि   सञ्चारकर्मीसँग कुरा गर्दै   उनले यस्तो आरोप लगाएका हुन् ।

    बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गर्दै उनले यस्तो बताए । 

    सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फत्राउ गरेको छ । सो पक्राउबारे प्रतिक्रिया जनाउँदै सांसद चौधरीले  धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताए ।

    अरुण चौधरी पक्राउ परेदेखि  दबाब आउन थालेको गृहमन्त्री श्रेष्ठको भनाइ

    काठमाडौं । सांसद तथा उद्योगी विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेदेखि  दबाब आउन थालेको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा शुक्रबार पोखरामा उद्घाटन गर्दै गृहमन्त्री  श्रेष्ठले  विभिन्न नेता तथा व्यवसायीलाई गलत गरेको भरमा पक्राउ गर्दा विभिन्न नेता तथा संघ संस्थाबाट दबाब आउने बताएका हुन् ।

    उद्योगी व्यवसायीहले अरुण चौधरीको रिहाइ माग गरी सार्वजनिक गरेका अभिव्यक्तिको जवाफ फर्काउँदै गृहमन्त्री श्रेष्ठले निजी क्षेत्रको साथ र सहयोगबाट मात्र देशको अर्थतन्त्र सुधार हुने भए पनि अपराध गर्ने छुट कसैलाई नभएको बताए ।

    संलग्न सबैलाई पक्राउ गरिने , सरकारी जग्गा व्यक्तिको नाममा गर्ने कुनै निर्णय नभएको खुलासा

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता उद्योग जग्गा प्रकरणमा संलग्न सबैलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने जनाएको छ ।

    सीआईबीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी  यो जग्गा हिनामिना प्रकरणमा जोडिएका सबैलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने जनाएको हो । सो उद्योगको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने विषयमा कुनै पनि सरकारी निर्णय नभएको पनि स्पष्ट पार्दै हिनामिनामा संलग्नलाई अनुसन्धानको दायरामा ल्याउने दृढता व्यक्त गरेको हो ।

    पक्राउ परेका अरुण चौधरीलाई तत्काल रिहा गर्न उद्योग वाणिज्य संघको माग

    काठमाडौं ।  बिहीबार बाँसबारी छालाजुत्ता कारखाना जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका सीजी होल्डिङसका अध्यक्ष अरुण चौधरीलाई  नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले रिहा गन माग गरेको छ ।

    संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।  सरकारी जग्गा हडपेको बारे अनुसन्धानका क्रममा बुझ्ने बहाना गरी पक्राउ गर्नु अमानवीय क्रियाकलाप बताउँदै संघले चौधरीलाई तत्काल रिहा गर्न माग गरेको हो ।

    संघद्पारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि विषयमा सुक्ष्म अनुसन्धान कै क्रममा सप्रमाण दोषी ठहर नहुँदै थुन्ने अनि मात्र सुन्ने प्रक्रिया प्रति हाम्रो असहमति छ ।

    हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य

    बागमती ।  सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ । 

     

    सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताउनुभयो । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उहाँको भनाइ थियो ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ कायम भएको छ ।

    बैंकको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनु पर्छ : अध्यक्ष ओली

    काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 

     

    ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैंक, बीमा तथा वित्तीय संस्था कर्मचारी सङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले बैंकले एकतर्फी रुपमा ब्याजको दर बढाउने गरेको भन्दै दुई पक्षीय सहमति बिना ब्याजको दर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

    अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय दरबारमार्गबाट पक्राउ

    काठमाडौँ ।  प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट रु एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

    पक्राउपर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

     

    उहाँले भन्नभयो, “क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रु एक करोड एक लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको छ ।” उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

    ठगी र बैंकिङ कसुरका अभियुक्त पक्राउ

    काठमाडौँ । क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु तीन लाख ठगी गरेको अभियोगमा काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ घर भएका ४० वर्षीय मिङमार लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

    मिङमारले एक जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     

     
     
     
     
     
     
     
     
     
     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस