Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पहाड /तराईमा आइतबार हिउँदे वर्षा हुने अनुमान , सचेत रहन आग्रह


नया सडक

२०८०, माघ २१ आइतबार

  • 720
    Shares

  • पहाड /तराईमा  आइतबार   हिउँदे वर्षा हुने अनुमान , सचेत रहन आग्रह

    काठमाडौँ  । आइतबार आज हिउँदे  वर्षा हुने भएको छ । हिउँदे वर्षा गराउने अर्को नयाँ प्रणाली नेपाल भित्रिएको  कारण शनिबार रातिदेखि देशका विभिन्न स्थानमा बदली सुरु भएको छ । आइतबारदेखि दुई दिन देशका अधिकांश भेगमा वर्षा हुने गरी पश्चिमी न्यून चापीय प्रणालीको आगमन भएकाले वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको  अनुमान छ । 

    महाशाखाले शनिबार विशेष बुलेटिन जारी गर्दै यो प्रणालीले बिहीबारको भन्दा बढी वर्षा र हिमपात गराउने जनायो । गत बुधबार भित्रिएको प्रणालीले कर्णाली, सुदूरपश्चिम नेपालका अधिकांश स्थानमा वर्षा र हिमपात गराएको थियो । यो प्रणालीले बागमती प्रदेशको काठमाडौँलगायतका स्थानमा पनि वर्षा गराउने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी सार्वजनिक गरेका हुन् ।

    दुई दिनअघि काठमाडौँमा छिटपुट मात्र वर्षा भएको थियो । मौसमविद्का अनुसार यो प्रणालीको असरका कारण आइतबार देशव्यापी बदली हुने छ । वर्षाको हकमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै सोही भेगका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने छ । यो पटक ती प्रदेशका तराई भेगमा पनि वर्षा हुने सम्भावना छ ।  

    चितवनदेखि पूर्वको तराईमा भने बदलीदेखि फाटफुट मात्र वर्षा हुने छ ।  आइतबार र सोमबार हुने वर्षाका कारण यो पटक न्यूनतमसँगै अधिकतम तापक्रममा गिरावट आउने तथा थप चिसो बढ्ने छ । वर्षा र हिमपातका कारण हुने तापक्रमको गिरावटले स्वास्थ्य समस्या सिर्जना गर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । चिसोका कारण दैनिक जनजीवन, पर्वतारोहण, हवाई यातायातको आवागमनमा पनि असर पर्ने भएकाले सचेतना जारी गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । सोमबार साँझबाट मौसममा सुधार आउने सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस