
काठमाडौँ । देशबाट निर्यात बढाउने चिन्ता भइरहेका बेला तयारी पोसाकको निर्यातमा भने सुधार आएको छ ।कोभिडपछि घट्दै गएको निर्यात चालु आर्थिक वर्षमा आएर सामान्य वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले चालु आवको छ महिनामा पाँच अर्ब रुपियाँबराबरको तयारी पोसाकको निर्यात भएको तथ्याङ्कले देखाएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुस महिनासम्म तयारी पोसाकको निर्यात १६ प्रतिशतले बढेर चार अर्ब ९७ करोड १६ लाख रुपियाँबराबरको ७४ लाख ४० हजार थान तयारी पोसाक निर्यात भएको खिन्छ ।
गत वर्षको सोही अवधिमा चार अर्ब २८ करोड १३ लाख रुपियाँको ६५ लाख ८१ हजार थान तयारी पोसाक निर्यात खिन्छ । आव २०७८/७९ मा आठ अर्ब २१ करोड ८९ लाख ९८ हजार रुपियाँबराबरको एक करोड ३१ लाख ८९ हजार थान तयारी पोसाक निर्यात भएको थियो । नेपालबाट निर्यात हुने वस्तुमध्येमा तयारी पोसाकको हिस्सा सात प्रतिशत हाराहारी रहेको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएपछि निर्यातमा सामान्य वृद्धि भएको हो ।
विगत लामो समयदेखि विश्वका विभिन्न मुलुकमा तयारी पोसाक निर्यात हुँदै आएकामा कोभिडले ठुलो असर पारेको थियो । सो समयमा उत्पादनदेखि ढुवानीको लागत महँगो हुँदा व्यवसायीले पर्याप्त निर्यात गर्न सकेका थिएनन् तर अहिले आएर निर्यातमा सुधार आएको तथ्याङ्कले देखाएको छ ।
नेपाल तयारी उद्योग सङ्घका पदाधिकारीहरूले अहिले विश्व बजार सुध्रिँदै गएकाले तयारी पोसाकको निर्यातमा सामान्य वृद्धि भएकोबताउँछन् ।
सङ्घका अनुसार नेपाली बजारमा उत्पादन भएको हाते तयारी पोसाकको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकोले परिमाण र निर्यात मूल्य पनि बढ्दो क्रममा छ ।
स्वदेशमा उत्पादन भएको तयारी पोसाकको मुख्य बजार अमेरिका रहेको छ । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, जापान, इटली, युएई, स्विजरल्यान्ड, स्विडेन, स्पेन, न्युजिल्यान्ड, दक्षिण कोरिया, आयरल्यान्ड, भारत, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिकामा, क्यानडा, अस्ट्रिया र अस्ट्रेलियामा तयारी पोसाक निर्यात हुने गरेको छ ।
छ महिनामा गलैँचाको निर्यातमा भने गिरावट आएको छ । केन्द्रको तथ्याङ्क अनुसार छ महिनामा गलैँचाको निर्यात ४.३ प्रतिशतले घटेर पाँच अर्ब २३ करोड रुपियाँबराबरको दुई लाख सात हजार ७३७ स्क्वायर मिटर गलैँचा निर्यात भएको छ ।
गत वर्ष सो अवधिमा पाँच अर्ब ४६ करोड २५ लाख १७ हजार रुपियाँको दुई लाख २६ हजार वर्ग मिटर गलैँचा निर्यात भएको थियो । आव २०७७/७८ मा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपियाँको चार लाख ९२ हजार वर्ग मिटर गलैँचा निर्यात भएको थियो । गलैँचा अमेरिका जर्मनीलगायतका देशमा निर्यात हुने गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij