Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नेपालमा श्रमस्वीकृति लिएर काम गर्न आउने विदेशीको संख्यामा वृद्धि


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 837
    Shares

  • नेपालमा श्रमस्वीकृति लिएर काम गर्न आउने   विदेशीको संख्यामा वृद्धि

    काठमाडौँ । नेपालमा श्रमस्वीकृति लिएर काम गर्न आउने श्रमिकहरूको संख्या बढेर गएको छ ।रोजगारीका लागि नेपाल आउने आप्रवासी श्रमिकको सङ्ख्या पछिल्लो पटक वृद्धि भएको हो ।

    गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालु आवको २०८०/८१ सो अवधिमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको सङ्ख्या बढेको हो । 

    श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् । 

    गत वर्षको साउनदेखि पुस महिनासम्म श्रम स्वीकृति लिनेको सङ्ख्या ९१८ रहेकोमा नयाँ श्रम स्वीकृति लिने ४६७ जना रहेका छन् भने श्रम नवीकरण गर्ने ६६३ जना रहेका छन् । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि करिब ८० देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । 

    चालु आवको पहिलो छ महिनामा श्रम स्वीकृति लिएका विदेशी श्रमिकमध्ये ७७२ जना चिनियाँ रहेका छन् । अन्य बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, अस्टे«लिया, भारत, श्रीलङ्का, बङ्गलादेश जर्मनीलगायतका देशका रहेका छन् । 

     नेपालमा सञ्चालन भइरहेका चीनका ठुला परियोजनामा आवश्यक साना ठुला प्राविधिक चिनियाँ नै ल्याइने गरेकाले अन्य देशको तुलनामा चिनियाँ नै धेरै छन् ।   अन्य देशबाट ठुला प्रोजेक्टमा माथिल्ला पदमा मात्रै आफ्ना देशका नागरिक ल्याउने गरेको तर चीनले भने अधिकांश प्राविधिक आफ्नै देशबाट ल्याउने गरेको छ । 

    श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधानको अनुगमन हुन सकेको पाइएको छैन् । 

    नेपाली श्रमिकलाई प्राथमिकता दिई यहाँ उपलब्ध हुन नसकेका दक्ष र सिपयुक्त विदेशी जनशक्तिलाई मात्रै श्रम स्वीकृति दिनुपर्ने विज्ञहरूको सुझाव छ । नेपालमा काम गर्ने विदेशीको श्रम स्वीकृति अधिकतम छ वर्षसम्म नवीकरण हुने व्यवस्था छ । यसै गरी एकै प्रकृतिको कामका लागि श्रमस्वीकृति लिने श्रमिकको सिप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम पनि छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न धेरै विदेशीले विभागबाट श्रम स्वीकृति लिने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस