काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २६ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आइतबार (माघ २८ गते) उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ तान्ने भएको हो ।इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ २८ गते दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताउनुभएको छ ।प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिनुभयो । समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गर्नुभएको थियो ।
बलेफी हाइड्रोपावरले ४९ करोड ४७ लाखको विद्युत बिक्री गर्यो
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १६ करोड ७२ लाख ८६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको पुसमा यो कम्पनी १० करोड २६ लाख २० हजार रुपैयाँ नोक्सानीमा थियो । कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको पुसमा उक्त आम्दानी १५ करोड ७६ लाख रुपैयाँ थियो । यसको वित्तीय खर्च ११ करोड ४२ लाखबाट बढेर ४० करोड ३४ लाख रुपैयाँ पुगेको छ । जसकारण कम्पनीले घाटा व्यहोरेको हो । बलेफीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोष ६० करोड २९ लाख रुपैयाँ ऋणात्मक छ ।
३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन डिष्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हिमालयन डिष्टिलरीको २४ लाख २९ हजार ५६६.६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई १२.३६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सांग्रिल डेभलपमेन्ट बैंक लिमिटेडको १६ लाख ३३ हजार ७९५.८६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस बैंकले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।
जीवन विकास लघुवित्तको खुद नाफा ३२.८७ प्रतिशतले घट्यो
काठमाडौं । जीवन विकास लघुवित्तको खुद नाफा ३२.८७ प्रतिशतले घटेर १७ करोड ७७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ ।खुद ब्याज आम्दानी ६.८० प्रतिशतले घटेर ७४ करोड ४ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७९ करोड ४५ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३२.८७ प्रतिशतले घटेर २५ करोड ३९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ ।पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँमा छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४१ पैसाले घटेर १३ रुपैयाँ १९ पैसामा सीमित भएको छ ।
नेपाल रिपब्लिक मिडिया दोस्रो त्रैमाससम्म करिब ४३ लाख नोक्सानीमा
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक उक्त वित्तीय विवरण अनुसार कम्पनी ४२ लाख ६४ हजार रूपैयाँ खुद नोक्सानीमा रहेको छ ।गत वर्ष यस अवधिसम्म ३ करोड ९३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो । यस वर्ष कम्पनीको अ ाम्दानी करिब ४५ प्रतिशत घटेको छ । गत वर्ष १५ करोड ७९ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ८ करोड ७० लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको हो । यस वर्ष वित्तीय खर्च ३९ प्रतिशतभन्दा बढीले घटेको छ ।
इमर्जिङ नेपालको नाफा ५५ प्रतिशतले घट्यो
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५५.५९ प्रतिशतले कम हो ।सञ्चालन आम्दानी १ करोड २४ लाखबाट घटेर ५१ लाख ८२ हजार रुपैयाँमा झरेको छ । अन्य स्रोतबाट हुने आम्दानी ३६ लाख ८९ हजार रुपैयाँबाट घटेर ३१ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । आम्दानी घट्दा नाफामा असर परेको हो । इमर्जिङको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ३ करोड १९ लाख रुपैयाँ जम्मा छ। यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५३ पैसा देखिएको छ ।
नागरिक लगानी कोषको खुद नाफा ६.३८ प्रतिशत बढ्यो
काठमाडौं । नागरिक लगानी कोषले ६.३८% ले खुद नाफा वृद्धि गरी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५४ करोड ६० लाख २ हजार रुपैयाँ पुर्याएको छ । क वर्षको अवधिमा ब्याज आम्दानी र कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी दुवैमा वृद्धि भएसँगै खुद नाफा बढेको हो । ब्याज आम्दानी ८.०७% ले बढेको छ भने सेवा तथा कमिसनबाट हुने आम्दानी १२.४२% ले बढेर ६८ करोड ६८ लाख १७ हजार रुपैयाँ पुगेको छ । नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार ५९.१९% ले बढेर २४ अर्ब ४१ करोड ५४ लाख ९३ हजार रुपैयाँ पुगेको छ । यसको कुल लगानी २ खर्ब ३५ अर्ब ५ करोड ८ लाख रुपैयाँ रहेको छ ।जसमध्ये सबैभन्दा धेरै मुद्दति निक्षेपमा १ खर्ब २४ अर्ब ९७ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ ।
हिमालयन रिइन्सुरेन्सले बोनस सेयर वितरण गर्ने
काठमाडौं । हिमालयन रिइन्सुरेन्सले ४ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै २ करोड १० लाख ५२ हजार रुपैयाँको नगद लाभांश वितरण गरिनेछ ।
राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिन भव्यताका साथ मनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई ३ दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ–संस्थाका कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्वलन गरिनेछ ।
वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्ने र नगर्ने दुवै खालका विदेशी बैंक ग्यारेन्टी सिधै स्वीकार गर्न सक्ने
काठमाडौं । वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्ने र नगर्ने दुवै खालका विदेशी बैंक ग्यारेन्टी सिधै स्वीकार गर्न सक्ने भएका छन् । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको बैंक ग्यारेन्टी सम्बन्धी व्यवस्थालाई सहज बनाउदै स्वीकृत लिनुपर्ने व्यवस्था हटाएको हो ।
केन्द्रीय बैंकका अनुसार यसअघि बिड बण्ड तथा प्रफमेन्स बण्डजस्ता कर्जा प्रवाह नगर्ने प्रयोजनका विदेशी बैंक ग्यारेन्टी मात्र सिधै स्वीकार गर्न पाउने व्यवस्था थियो । नयाँ व्यवस्थाले वाणिज्य बैंकहरुले कर्जा लगानी गर्न वा लगानी भएको कर्जाको सुरक्षण गर्नका लागि समेत स्वीकृत लिन नपर्ने व्यवस्था गरिएको छ ।
नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी
चितवन। राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने लक्ष्य लिइएको छ ।
कृषि तथा पशु विकासमन्त्री डा वदुराम भुषालले उक्त प्रदर्शनी शुभारम्भ गर्दै विगतमा देशको सम्बृद्धिका लागि कृषिमा जुन प्रकारको विकास गरिनुपथ्र्यो हुन नसके पनि अहिलेको सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएकाले केही हदसम्म विकास भएको बताउनुभायो ।
आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु
काठमाडौँ । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गर्नुभयो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि विहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताउनुभयो ।
आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने : प्रधानमन्त्री
काठमाडौँ । २६ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ । आठौँ नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो ।
राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने तथा सुझाव लिने काम भइरहेको उहाँको भनाइ थियो ।
सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता
राजस्व छली चोरी पैठारी गरी साढे चौवालीस लाख बढीको मालवस्तुसहितको ट्रक पथलैया कार्यालयमा बुझाइयो
काठमाडौं । राजस्व छली चोरी पैठारी गरी साढे चौवालीस लाख बढीको मालवस्तुसहितको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयमा बुझाइएको छ ।माघ २४ गते राति १० बजे सो ट्रक प्रहरी टोलीले नियन्त्रणमा लिएर बिल बिजकको जाँच गरेको बेला नियन्त्रणमा लिइएको हो ।
प्रहरीले शंका लागेर बिल बिजक जाँच गर्दा ट्रकमा बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड गरेको पाइएको थियो ।पर्सा जिल्ला प्रहरी कार्यालय सार्वजनिक गरेको विज्ञप्तिमा त्यो ट्रकलाई गण्डक चोकको सडकखण्डमा नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।
नकली कागजात बनाइ विदेश पठाउने धन्दामा संलग्न अन्तर्राष्ट्रिय विमानस्थलका ८ अधिकृत विरुद्ध फक्राउ पुर्जी जारी
काठमाडौं । काठमाडौं जिल्ला अदालतले फर्जी कागजात बनाइ नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ८ अधिकृत विरुद्ध फक्राउ पुर्जी जारी गरेको छ।
अदालतका अनुसार पक्राउ पुर्जी जारी गरिएका अधिकृत कुशल बराल, ताराबहादुर कुँवर, शैलेन्द्र ढकाल, बिमल पौडेल, विष्णु अर्याल भनिने विष्णुप्रसाद आचार्य, विकास डंगोल, पीताम्बर रिमाल, सुजन फागो रहेका छन्।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न अध्यागमनका अधिकृतसहित १२ विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी सार्वजनिक गरेका छन् ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रु पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
आतिफ असलमको कन्सर्ट : 'खल्ती'एक्सक्लुसिभ टिकटिङ्ग पार्टनर
काठमाडौं । 'खल्ती’ ले आतिफ असलम को लाईभ म्युजिकल शो मा एक मात्र आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। तरिस ईन्टरटेनमेन्ट र एम् एन् प्रोडक्सन् सँग सम्झौता गर्दै काठमाडौं म्युजिक फेस्टिभल २०२४ हुन गई रहेको दक्षिण एसियाकै चर्चित आवाज( आतिफ असलम को लाईभ शो मा खल्तीले बक्स अफिस देखि अनलाईन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको छ।
कति छ त आज सुन-चाँदीको मूल्य ?
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।