काठमाडौं । सरकारले युरोपेली मुलुक स्विट्जरल्यान्डसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाए अनुसार हालै स्विट्जरल्यान्ड सरकारसँग दुई पक्षीय हवाई सेवा सम्झौता भएको हो ।
दुवै मुलुकबीच सातामा २८ उडान हुनेगरी भएको हवाई सेवा सम्झौता अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा सञ्चालन गर्नुपर्नेछ ।
अहिलेलाई दुई–दुई वटा एयरलाइन्स तोकिएका छन् । आवश्यकताअनुसार थप्न सकिने सम्झौतामा प्रावधान छ । तेस्रो मुलुकमा उडान गर्नसक्ने ‘थर्डकन्ट्री कोड सेयर’ को प्रावधान पनि सम्झौतामा छ ।यो सम्झौता भएपछि नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेको मुलुकको संख्या ४२ पुगेको छ ।
यसअघि गत मंसिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । सरकारले अन्य केही मुलुकसँग यस्ता द्विपक्षीय हवाई सेवा सम्झौताका लागि प्रक्रिया अगाडि बढाइरहेको छ । केही दिन भित्र इन्डोनेसियासँग यो दुई पक्षीय सम्झौतामा हस्ताक्षर हुने भएको छ । इन्डोनेसियासँगको सम्झौताबारे सरकारले प्रक्रिया अगाडि बढाएको छ । दुवै देशका पदाधिकारीहरूबीच छलफल भइरहेको छ ।