काठमाडौँ । नेपालको कुल जनसंख्याको पाँच भागको एक भाग अझ गरिबीको रेखामुनि रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपालको जीवनस्तर सर्वेक्षणमा कुल जनसंख्याको २०.२७ प्रतिशत करिब करिब ५८ लाख मानिस गरिबी रेखामुनि रहेको देखिएको हो । तेस्रो सर्वेक्षण प्रकाशित भएको करिब १२ वर्षपछि कार्यालयले चौँथो सर्वेक्षण सार्वजनिक गरेको हो ।
विगतमा गरिएको सर्वेक्षणको तुलनामा यो सर्वेक्षणमा सर्वेक्षणको विधि समान रहेको जनाइएको छ । तर यसमा खाद्य वस्तुहरुको डालो (फुड वास्केट)मा व्यापक परिवर्तन गरिएकाले अहिलेको गरिबीको तथ्यांक अघिल्लो सर्वेक्षणको तथ्यांकसाग तुलना गर्न नमिल्ने प्रष्टीकरण दिइएको छ ।
सर्वेक्षणका अनुसार खाद्य गरिबीको रेखा ३५ हजार २९ रुपैया र गैरखाद्य गरिबीको रेखा ७२ हजार ९ सय ८ कायम हुन आएको छ । यसले ०७२ सालमा आएको महाभूकम्प र कोरोना जस्ता महामारीले गर्दा अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको सर्वेक्षणले दर्शाएको छ ।
गरिबीको दर शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत रहेको भनिएको छ । प्रदेशगत रुपमा हेर्दा मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा गरिबीको दर राष्ट्रिय गरिबीको दरभन्दा बढी देखिन्छ । तर, गण्डकी, वाग्मती र कोशी प्रदेशमा गरिबीको दर राष्ट्रिय दरभन्दा कम रहेको छ ।