Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  माघ २९ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८०, माघ २९ सोमबार

  • 786
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  माघ २९ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २९ सोमबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई आइपीओ बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले ११ लाख ५५ हजार ९६० कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

    यसआधारमा कम्पनीले कुल ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँको आइपीओ जारी गर्नेछ ।यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्ताहरुलाई बोलपत्र आह्वान गरेको थियो । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ कायम भएको थियो ।

    २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा : राजस्व र खर्चको अनुमान घटाइयो

    काठमाडौँ ।   सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै राजस्व र खर्चको अनुमान घटाएको छ ।

    चालू आर्थिक वर्षका लागि सुरुवाती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत अर्थात् रु १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च गर्नेगरी संशोधित अनुमान गरिएको छ ।

    सुरुवाती विनियोजनको तुलनामा चालू शीर्षकमा ८८ दशमलव ८४, पुँजीगत शीर्षकमा ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ८७ दशमलव ३९ प्रतिशत खर्च हुने गरी अनुमान संशोधन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
    चालु आर्थिक वर्षमा रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरिएकोमा रू १५ खर्च ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान छ ।

    स्वस्तिक लघुवित्त र कालिन्चोक हाइड्रोपावरले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था र कालिन्चोक हाइड्रोपावरले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । जसमा स्वस्तिक लघुवित्तले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।

    यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्मेन्ट बैंकिङले गर्नेछ । 
    कालिन्चोक हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

    प्रभु इन्सुरेन्सको नाफा ३९.७४ प्रतिशतले बढ्यो

     काठमाडौँ । प्रभु इन्सुरेन्सको खुद नाफा ३९.७४ प्रतिशतले बढेर १० करोड ८६ लाख १२ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन बढेकाले खुद नाफामा वृद्धि भएको हो ।यसअवधिमा खुद बिमा शुल्क आर्जन १००.६१ प्रतिशतले बढेर ४२ करोड ९२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ३९ लाख ९५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ छ ।

    शेयर बजार : १५.३३ अंकले बढेर नेप्से २१०१.१५ विन्दुमा ,  ३ अर्ब ५८ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १५.३३ अंकले बढेर २१०१.१५ विन्दुमा आएको छ । आज ३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
    यस दिन ३१४ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रोमा एनआरएन इन्फ्रास्टक्चर र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् ।

    राष्ट्रिय बिमा कम्पनीको नाफा १४.१८ प्रतिशतले बढ्यो

    काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १४.१८ प्रतिशतले धेरै हो ।कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ३५.७० प्रतिशतले बढेको छ । यसको लगानी तथा कर्जाबाट हुने आम्दानी ३९ करोड ६८ लाख रुपैयाँबाट बढेर ५३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल दावी भुक्तानी ११ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

    सगरमाथा लुम्बिनी इन्सुरेन्सको नाफा १५.९७ प्रतिशतले बढ्यो

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सको खुद नाफा १५.९७% बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २० करोड ८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा लगानी तथा कर्जाबाट आम्दानी बढेकाले खुद नाफा पनि सुधार भएको हो ।कर्जा तथा लगानीबाट आम्दानी १७.०७% ले बढेर २० करोड ६३ लाख ५० हजार रुपैयाँ पुगेको छ । यसका साथै, खुद बिमा शुल्क आर्जन पनि ४.३२% ले बढेर ७९ करोड ५९ लाख ३९ हजार रुपैयाँ पुगेपछि नाफा सुधार भएको हो । यसको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी भने ७.७९ रुपैयाँले घटेर १५.३२ रुपैयाँ कायम भएको छ ।

    नेपाल इन्सुरेन्सको खुद नाफा २३२.३४ प्रतिशतले बढ्यो

    काठमाडौं । नेपाल इन्सुरेन्सको खुद नाफामा उछाल आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २३२.३४%ले बढेर ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख ५३ हजार रुपैयाँ आम्दानी भएको छ ।द बिमा शुल्क आर्जन पनि ५.९५%ले बढेर २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।नेपाल इन्सुरेन्सको चुक्ता पुँजी १०% ले बढेर १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ पुगेको छ । खुद नाफामा भारी वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि ४०.६१ रुपैयाँले बढेर ६०.५५ रुपैयाँ पुगेको छ ।

    आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नाफा ५१.०८ प्रतिशतले बढ्यो

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफामा ५१.०८% वृद्धि भएको छ । गत वर्षको दोस्रो त्रैमाससम्ममा १२ करोड १६ लाख रुपैयाँ रहेको खुद नाफा ५१.०८% ले बढेर अहिले १८ करोड ३७ लाख रुपैयाँ पुगेको हो । यसअवधिमा खुद बिमा शुल्क आम्दानीसँगै कमिसन र लगानी तथा कर्जाबाट आम्दानी बढेपछि खुद नाफामा सुधार भएको हो ।बिमा शुल्क आम्दानी ९७.५३% ले बढेर ५१ करोड २३ लाख रुपैयाँ पुगेको छ । यस्तै, कमिसन आम्दानी ५३.४१% ले बढेर १९ करोड ७ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा लगानीबाट आम्दानी १११.७३% ले बढेर १९ करोड ६१ लाख रुपैयाँ पुगेको छ । आइजीआईको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

    अरुण भ्याली हाइड्रोपावरले फागुन १७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले फागुन १७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले माघ १५ गते बुक क्लोज गरिसकेको छ ।

    सोनापुर मिनरल्स १४ करोड ७८ लाख नोक्सानीमा

    काठमाडौं ।  सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    आम्दानी घटेसँगै कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।

    समीक्षा अवधिमा कम्पनीको आम्दानी ५९.२१ प्रतिशत घटेको छ भने कुल नाफा ७७.०८ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्म २५ करोड ७३ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षमा १ करोड १४ लाख रुपैयाँ ऋणात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ३६.७९ प्रतिशत घटेको छ।

    हिमालयन रिइन्सुरेन्सको खुद नाफा ९९.७३ प्रतिशतले बढ्यो

    काठमाडौं । हिमालयन रिइन्सुरेन्सको खुद नाफा करिब दुई गुणाले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६० करोड २७ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा ३० करोड १७ लाख ७१ हजार रुपैयाँ रहेको नाफा अहिले ९९.७३% ले बढेको हो ।लगानी तथा कर्जा हुने आम्दानी पनि २६.४५% ले बढेर ४७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यता, आइपीओ बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । कम्पनीले हालै मात्र उक्त पुँजीमा ४५ बोनस सेयर जारी गर्ने घोषणा गरेको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि ३.४३ रुपैयाँले बढेर १२.०५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी १४७।३० रुपैयाँ रहेको छ ।

    शिखर इन्सुरेन्सको नाफा १९.१७ प्रतिशत बढ्यो

    काठमाडौं । शिखर इन्सुरेन्सको खुद नाफा १९।१७ प्रतिशतले बढेर २५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको छ ।। खुद बिमा शुल्क आजर्न बढेसँगै खुद नाफा बढेको हो ।  यसअवधिमा खुद बिमा शुल्क आर्जन ८.०३ प्रतिशतले बढेर ५५ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५१ करोड ४ लाख २ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।  लगानी तथा कर्जाबाट २० करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ ।पुस मसान्तसम्म आइपुग्दा शिखर इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ ।  नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

    एनएलजी इन्सुरेन्सको नाफामा ५३.९६ प्रतिशतले बढ्यो

    काठमाडौं ।  एनएलजी इन्सुरेन्सको खुद नाफा ५३.९६ प्रतिशतले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा भने कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आम्दानी ६.०४ प्रतिशतले बढेर ३१ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।  लगानी तथा कर्जा आम्दानी पनि ६.८३ प्रतिशतले बढेको छ । कम्पनीको बिमा कोषको आकार पनि ३६.६१ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँ भएको छ । हाल एनएलजीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङ शीर्षकमा १२ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । 

    हिमालयन लाइफको नाफा ८.२४ प्रतिशतले घट्यो

    काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यस अवधिको तुलनामा ८.२४ प्रतिशतले थोरै हो ।यसको उक्त आम्दानी २ अर्ब ४६ करोड रुपैयाँबाट बढेर २ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यसको कुल दावी भुक्तानी ३ अर्ब ९ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत वर्ष २ अर्ब ६५ करोड थियो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसको जीवन बिमा कोषमा ५८ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०४ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १२१ रुपैयाँ ६२ पैसा रहेको छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

     काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको  छ ।

    भ्रष्टाचार मुद्दामा मुछिएका निलम्बित सचिव मरासिनीलाई साधारण तारिखमा छाडियो

    काठमाडौँ । भ्रष्टाचार प्रकरणमा आरोपित निलम्बित सचिव मधुकुमार मरासिनी साधारण तारिखमा रिहा भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि उपकरण खरिद गर्दा भएको भ्रष्टाचार प्रकरणमा मुछिएका निलम्बित सचिव मरासिनीलाई विशेष अदालतले आइतबार  साधारण तारिखमा छाडेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवेको उपकरण खरिद प्रकरणमा मरासिनीसहित ९ जनाविरुद्ध २०८० असोज १५ विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको बखत  मरासिनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए ।
    नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहेका सुनील पौडेल केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारीमा छँदा उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको थियो ।

    कुल जनसंख्याको पाँच भागको एक भाग अझ गरिबी रेखामुनि 

    काठमाडौँ । नेपालको कुल जनसंख्याको पाँच भागको एक भाग अझ गरिबीको रेखामुनि रहेको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपालको जीवनस्तर सर्वेक्षणमा कुल जनसंख्याको २०.२७ प्रतिशत करिब करिब ५८ लाख मानिस गरिबी रेखामुनि रहेको देखिएको हो ।  तेस्रो सर्वेक्षण प्रकाशित भएको करिब १२ वर्षपछि कार्यालयले चौँथो सर्वेक्षण सार्वजनिक गरेको हो ।

    सन् २०२३ मा उनान्साठी हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता लिए : रिपोर्ट

    वासिङ्टन डीसी । सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी  अमेरिकी नागरिकता लिएका छन् ।  यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी  नागरिकता लिनेहरूको दोस्रो  ठूलो  सङ्ख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) द्वारा जारी गरिएको वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ ।

    रिपोर्ट अनुसार  गत आर्थिक वर्षमा करिब ८।७ लाख विदेशीले अमेरिकी नागरिकता लिएका थिए । योमध्ये नयाँ नागरिकहरूको कुल सङ्ख्याको १२.७ प्रतिशत अर्थात् एक लाख १० हजार मेक्सिकोका र ६.७ प्रतिशत अर्थात् ५९ हजार १६७ भारतीयहरूले अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

    रिपोर्टका अनुसार नयाँ अमेरिकी नागरिकमध्ये ५.१ प्रतिशत अर्थात् ४४ हजार ८०० फिलिपिन्स र चार प्रतिशत अर्थात् ३५ हजार २०० डोमिनिक गणतन्त्रका थिए ।

    माओवादी केन्द्रले सहरी क्षेत्र र तराई–मधेशमा विशेष अभियान सञ्चालन गर्ने

    काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)ले सहरी क्षेत्र र तराई–मधेशमा विषेश अभियान सञ्चालन गर्ने भएको छ । साङ्गठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले उक्त अभियान सञ्चालन गर्न लागेको हो । 

    आइतबारदेखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले विशेष गरी तराई–मधेशका जिल्लामा जनपरिचालन, सङ्गठन निर्माण एवं विस्तारलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । सहरी क्षेत्रमा समेत पार्टीलाई थप विस्तार गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गरिनेछ । माओवादी केन्द्रले मङ्गलबारदेखि विधान अधिवेशनको आयोजना गरेको छ । अधिवेशन सकिए पछि तराई–मधेश र सहरी क्षेत्रमा विशेष अभियान सञ्चालन गरिने छ ।

    अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन् : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बताएका छन् । सोमबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदै गएकोे, मूल्यवृद्धि पनि लक्षित सीमा भित्र रहेको र तरलतामा पनि सुधार हुँदै गएकाले उपभोक्तालाई सहयोग हुने बताएका छन् ।ब्याजदर घट्दै गएको उनले बताए । पहिला सेयर र घरजग्गामा लगानी गर्न ऋण लिएका व्यक्तिहरुमा समस्या देखिएका कारण अहिले ऋण लिन त्यति उत्साहित नदेखिएको उनको भनाई छ ।

    डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ

    काठमाडौँ । डलर देखाइ रु नौ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

     

    पक्राउपर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले राससलाई जानकारी दिनुभयो ।

     

    उहाँका अनुसार तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ घर भई हाल काठमाडौँ टेकु बस्ने ३२ वर्षीय गिरिराज लिम्बूलाई डलर देखाइ ठगी गरी फरार रहेका निज लामालाई आइतबार बूढानीलकण्ठ–५ टुसालबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

     

     
     
     
     
     
     
     
     
     
     

     

     
     
     
     
     
     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस