Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

अर्धवार्षिक मौद्रिक समीक्षामा तरलतासम्बन्धी नयाँ प्रावधान, आजदेखि बैंकहरूले अधिक तरलता सिधै  राष्ट्र बैंकमा राख्न पाउने

अर्धवार्षिक मौद्रिक समीक्षामा तरलतासम्बन्धी नयाँ प्रावधान, आजदेखि बैंकहरूले अधिक तरलता सिधै  राष्ट्र बैंकमा राख्न पाउने

  • काठमाडौं । आजदेखि अधिक तरलता भएका बैंकहरूले अब सिधै राष्ट्र बैंकमा निक्षेप राख्न पाउने  भएका छन् ।स्थायी निक्षेप सुविधा मंगलबारदेखि कार्यान्वयनमा आउने भनिए अनुसार बैंकहरूले यो सुविधा पाएका हुन् ।

    यसअघि केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चाहेको बखत मात्रै एकतर्फी रूपमा बैंकहरूको तरलता व्यवस्थापन गर्दै आएको थियो । अब बैंकहरूले आफूसँग बढी भएको रकम बिनाप्रतिस्पर्धा राष्ट्र बैंकमा राख्न पाउने छन् । सोमबार सार्वजनिक गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले पहिलोपटक यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन यो व्यवस्था ल्याइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए । 

    कर्जाको माग अहिले न्यून हँुदा बैंकहरूमा ६१ खर्ब ५२ अर्ब निक्षेप थुप्रिन पुगेको छ । कर्जा प्रवाह भने ५० खर्ब ८३ अर्ब जति  मात्रै छ । बैंकहरूले कर्जा–निक्षेप अनुपात ९० प्रतिशत हुने गरी कर्जा प्रवाह गर्न पाउने भए पनि अहिले यस्तो अनुपात ८०.२३ प्रतिशत मात्रै छ । त्यसैले  अहिले बैंकहरूमा ६ खर्बभन्दा बढी लगानीयोग्य निक्षेप छ  । यो परिमाणमा निक्षेप थुप्रिएपनि आर्थिक शिथिलता र उच्च ब्याजदरका कारण कर्जाको माग बढ्न नसकेको हो ।

    राष्ट्र बैंकको यो नयाँ व्यवस्थाले बैंकहरूलाई अधिकतम तरलता व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
    राष्ट्र बैंकले आव ०६१÷६२ देखि बैंकहरूलाई स्थायी तरलता सुविधा बैंकहरूले चाहेका वेला राष्ट्र बैंकबाट तरलता लिन सक्ने दिँदै आएकोमा अब भने स्थायी निक्षेप सुविधा पनि दिन लागेकोे हो । यसको कार्यान्वयनका लागि  राष्ट्र बैंकले  नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि र विनियमावलीको चौथो संशोधन गरेको छ ।
    कार्यविधिअनुसार बैंकहरूले आइतबार र बुधबार राष्ट्र बैंकमा निक्षेप राख्न सक्ने र  यसरी राखिने निक्षेपको अवधि चार दिनको हुनेछ । यसको ब्याजदर भने निक्षेप संकलन दरबराबर हुनेछ, हाल यस्तो दर ३ प्रतिशत छ । बैंकले यस्तो व्यवस्थाअनुसार २० करोडदेखि पाँच करोडले भाग गर्दा निःशेष रहने अंंकबराबरको रकम राख्न पाउने विधि तय गरिएको छ ।
    मौद्रिक नीतिको समीक्षामा कृषि, साना, घरेलु तथा मझौला उद्यम–व्यवसायमा प्रवाह भएको दुई करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिएको छ । यसैगरी, ब्याजदर करिडोरअन्तर्गतका दरहरू यथावत् छन् । हाल बैंकदर ७ प्रतिशत, नीतिगत दर ५ दशमलव ५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दर ३ प्रतिशत छ । यसैगरी, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्था पुरानै छ । हाल अनिवार्य नगद अनुपात ४ प्रतिशत र वैधानिक तरलता अनुपात १२ प्रतिशत हुनुपर्ने व्यवस्था छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij