Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन ३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, फागुन ३ बिहीबार

  • 816
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् फागुन ३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन ३ बिहीबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    माथिल्लो अरुणको परामर्शदाता छनौट , ४ अर्ब रुपैयाँमा हाइड्रो इलेक्ट्रिकसँग ठेक्का सम्झौता

    काठमाडौँ। मुलुकको हालसम्मको सबैभन्दा ठूलो परियोजनाका रुपमा रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनाको सुपरीवेक्षण परामर्शदाता छनौट गरिएको छ ।

     

    सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको सो आयोजनाको सुपरीवेक्षण परामर्शसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

     

    आयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टिएमएस) तथा जेड कन्सल्ट, नेपाल छनौट भएको हो ।

    हिम रिभर पावर र पियोर इनर्जीले आइपीओ जारी गर्ने, बोर्डसँग मागे अनुमति

    काठमाडौं ।  हिम रिभर पावर र पियोर इनर्जी लिमिटेडले आइपीओ बिक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । हिम रिभरले १३ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्न  बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।त्यसैगरी, पियोर इनर्जी लिमिटेडले १०० रुपैयाँ अंकित दरमा १६ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ । यसले आइपीओ बिक्रीको स्वीकृति पाएपछि १६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ ।

    कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सुरु हुने , १ दिनमा ५ सिफ्ट सञ्चालन गरिने

    काठमाडौं ।  ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ । परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए ।

    उनले भने, “शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौं, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन ।” परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षाका दिन परीक्षा केन्द्र भैंसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ । परीक्षा समयभन्दा एक घण्टा अगाडि परीक्षा हलमा ‘ओरेन्टेसन’ शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले बताए ।

    आज बिहीबार नेप्से १४.४६ अंकले घटेर  २०६२.०३ बिन्दुमा

    काठमाडौं । आज बिहीबार नेप्से १४.४६ अंकले घटेर  २०६२.०३ बिन्दुमा आएको छ ।

    आज ३ अर्ब ८६ करोड ९१ लख १८ हजार ७सय ४१ रुपैयाँ ९८ पैसा बराबरको कुल  सेयर कारोबार भएको छ ।

    बिहीबार  ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २सय ६४ कित्ता सेयरको खरिद बिक्रीका लागि  र ८१ हजार ५६ कारोबार भएको नेप्सेले दर्शाएको हो ।

    अघिल्लो दिनको तुलनामा आजको गिरावट ०.६९ प्रतिशत आकलन गरिएको छ ।

    दुई कम्पनीको बोनस सेयर सूचीकृत

    काठमाडौं।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चिलिमे र सानिमा माई हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । सानिमा माईको ३० लाख ८९ हजार २५१ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्से जनाएको छ । यस हाइड्रोपावरले सेयरधनीलाई वितरण गरेको १० प्रतिशर बोनस सेयर सूचकरण गरिएको हो ।

    घलेम्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट

    काठमाडौं । घलेम्दी हाइड्रोपावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।१५१ रुपैयाँ ३५ पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यता, कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आइतबार (फागुन ६ गते) बाट फिर्ता दिन सुरु गर्ने जनाएको छ ।

    नकली बैंक ग्यारन्टी मुद्दामा बैंकका कर्मचारीलाई बिगो बराबरका जरिवानासहित चार वर्ष कैद

    काठमाडौं । विशेष अदालतले सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माणका क्रममा अनियमितता भएको विषयमा दोषी ठहर भएका सन्तोषविक्रम साहलाई चार वर्षकैद सहितको फैसला गरेको छ ।विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार साहलाई बिगोबराबर ४२ लाख रुपैयाँ जरिवाना र चार वर्ष कैद हुने ठहर गरेको हो।माघ २५ गते विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा अन्तिम निर्णय गरेको थियो।

    दुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या

    चितवन ।  पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन् ।

    उहाँले भन्नुभयो, “दूध उठ्न छाड्यो । अब कसरी बिक्री वितरण गर्ने ?” नियमित दूध बिक्री गर्ने अवस्था नभएको उहाँले बताउनुभयो । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो । दूध बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । बगालेका अनुसार जिल्लाबाट बाहिर जाने दूध उठ्न छाडेपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले दुग्ध उत्पादक किसानलाई सताउन थालेको छ । उहाँले भन्नुभयो, “हामीले प्रदेश र सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेका छौँ । अहिलेसम्म समस्याको समाधान हुनसकेको छैन ।”

    ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन सुरु

    काठमाडौँ। विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चारदिनसम्म सञ्चालन हुने सम्मेलन आजदेखि सुरु भएको हो । नेपालमा पहिलोपटक यस प्रकारको सम्मेलन भएको हो ।

    ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा आज सम्मेलनस्थल भुकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म पदयात्रा (मार्चपास) भएको छ । पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत सामग्री समेटिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

    वैदेशिक रोजगारमा जाने अदक्ष कामदारलाई समस्या भएको श्रममन्त्री भण्डारीको भनाइ

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सिप सिकेका दक्ष कामदारलाई वैदेशिक रोजगारमा पठाउन सरकार प्रयासरत रहेको बताएका छन् ।यूएईको अबुधाबी डायलग कार्यक्रममा सहभागी हुन गएका बेला  श्रममन्त्री भण्डारीले श्रम मन्त्रालयले सिप सिकेका दक्ष कामदारलाई वैदेशिक रोजगारमा पठाउन प्रयास गरिरहेको बताएका हुन् ।

    बुधबार बेलुका दुबईमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री भण्डारीले नेपाली श्रमिकहरूको दक्षता अभिवृद्धि गनुपर्ने आवश्यकता रहेको बताए ।मन्त्री भण्डारीले आफू दुबईमा रहँदा दर्जनौं श्रमिकहरुसँग भेटघाट गरेको र उनीहरूको समस्याको बारेमा जानकारी लिएको बताए । त्यसक्रममा दक्ष भएर आएका कामदारहरूले पारिश्रमिक पनि राम्रो र काम गर्ने अवस्था पनि राम्रो भएको श्रमिकहरूले भनेको उनले जनाए ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

    सर्वोत्तम सिमेन्ट :२७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्दै

    काठमाडौँ।सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । यस सिमेन्टले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ सेयर भाउमा आइपीओ जारी गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ ।

    उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
     
            “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीले विश्वव्यापीरूपमा अवसर खोज्नेका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।” उहाँले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    गहनासहित ६५ लाखका सामान चोरी, पाँच भारतीय पक्राउ

    काठमाडौँ ।  काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी भएको छ । 

    पीडितको जाहेरकिा आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।  उहाँका अनुसार फोहर उठाउने बहानामा दिउँसो माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी भएको हो । उक्त कार्यालयले चोरीमा संलग्न भएको अभियोगमा भारतीय नागरिकलाई आज सार्वजनिक गरेको हो ।

    माओवादीको केन्द्रीय समिति १९९ सदस्यीय हुने 

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति १९९ सदस्यीय  बनाउने निर्णय गरेको छ।

    पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका एक नेताले बताएका  छन् ।  

    विधान अधिवेशनमा माओवादीको प्रस्तावित मस्यौदा  १५१ सदस्यीय केन्द्रीय समिति बनाउने थियो ।

    तर, विधान अधिवेशनका सहभागीहरूले  संख्या बढाउने प्रस्ताव गरी पारित गरेका छन् ।


    कार्यालय ११ जनाको बनाउने स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउनेलगायतका निर्णय पनि भएको छ ।

    नेपाल र दक्षिण कोरियाबीच मोनोरेल स्थापनालगायतका सम्झौताहरूमा हस्ताक्षर 

    काठमाडौँ । नेपालमा मोनोरेल स्थापना र मोनोरेलका मालवस्तु उत्पादन गर्नका लागि दक्षिण कोरियासँग सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मत सम्बन्धी कार्यहरु गर्ने उल्लेख गरिएको छ । कोरियाको राजधानी सउलमा हालै सम्पन्न ‘स्पोर्टस ग्लोबल टुरिजम २०२४’ गोष्ठी समारोहमा नेपालमा मोनोरेल स्थापनासहित सातवटा सम्झौतामा हस्ताक्षर भएका थिए । ‘ड्राइभिङ नेशनल डेभलपमेन्ट’ नारा दिएको सो  गोष्ठीको आयोजना  कोरियास्थित नेपाली  राजदुतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ्ग विश्वविद्यालय र एमआइटी फाउन्डेसनले संयुक्तरूपमा गरेका थिए ।

    रवि लामिछाने र जिबी राई सम्पत्ति शुद्धीकरणको छानबिनमा

    काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक जितेन्द्र बहादुर राईमाथि छानबिन थालेको हो ।

    यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ । विभागले माघ ८ गते २० वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ ।

    पत्रमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरु र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ । 

     

     
     
     
     
     
     
     
     
     
     
     
     

     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस