काठमाडौं । नियामकीय नजरमा लघुवित्त क्षेत्रमा नियामकीय परिपालना सन्तोषजनक रहेको देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्त संस्थाहरूमा नियामकीय परिपालना गरेको भएको पाइएको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको बुझाइ हो ।
चालु आर्थिक वर्षको पुससम्ममा पहिलेदेखि समस्यामा रहेका तीन लघुवित्त वित्तीय संस्था केन्द्रीय बैंकको कारबाहीमा परेका छन् । केन्द्रीय बैंकले जनाए अनुसार लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्छ । सो अवधिमा सुपर लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको पुँजीकोष ८ प्रतिशत भन्दा कम छ । दुवै संस्थालाई केन्द्रीय बैंकले कारबाही गरेको सार्वजनिक गरेको छ ।
२०८० पुस मसान्तसम्ममा सञ्चालनमा रहेका ५७ वटा लघुवित्त संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था छन् । बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु हुन ।
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको सापटी रकममा ह्रास आएको केन्द्रीय बैंकले जनाएको छ । यस्ता लघुवित्त वित्तीय संस्थाहरुको प्रमुख वित्तीय स्रोत पुँजी र सापटी रहेको छ । २०८० पुस मसान्तसम्ममा थोक लघुवित्त वित्तीय संस्थाहरूले ४८ अर्ब ३६ करोड वित्तीय स्रोत संकलन गरेका छन् । यो वित्तीय स्रोत संकलन २०८० असार मसान्तको तुलनामा ८.३१ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७९÷८० को दोस्रो तीन महिने अवधिमा वित्तीय स्रोत संकलनमा ५.५७ प्रतिशतले वृद्वि भएको थियो ।
लघुवित्त वित्तीय संस्थाहरुले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ । २०८० पुस मसान्तसम्ममा वित्तीय स्रोत संकलन अघिल्लो तीन महिनाको प्राथमिक पुँंजीको ४.६४ गुणा रहेको छ ।
खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले बचत÷निक्षेप र सापटी रकम बढाएका छन् । २०८० पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले बचत÷निक्षेप संकलन १ खर्ब ६७ अर्ब ६४ करोड र सापटी १ खर्ब ७५ अर्ब ८३ करोड गरी जम्मा ३ खर्ब ४३ अर्ब ४७ करोड वित्तीय स्रोत संकलन गरेका छन् । कुल वित्तीय स्रोत संकलन रकम अघिल्लो आर्थिक वर्ष २०७९÷८० को दोस्रो तीन महिनामा ०.३० प्रतिशतले घटेकोमा यस आर्थिक वर्षको दोस्रो तीन महिने अवधिमा ४.५३ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय स्रोत संकलन अघिल्लो तीन महिने अवधिको प्राथमिक पूँजीको ७.६६ गुणासम्म पुगेको छ । प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था छ ।
२०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा वृद्वि भएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा १०.३२ प्रतिशतले ह्रास भई २०८० पुस मसान्तमा ५४ अर्ब ८ करोड पुगेको छ । सो अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा १ अर्ब २२ करोड अर्थात २.२५ प्रतिशत छ । २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ०.७१ प्रतिशत रहेको थियो । तर २०७९ पुस मसान्तमा यो अनुपात ०.८७ प्रतिशत मात्र थियो । २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाहरुले पुनर्तालिकीकरण गरेको कर्जा रकम २६ करोड रुपैयाँ छ ।
२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा वृद्वि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा ३.६६ प्रतिशतले बढेर २०८० पुस मसान्तमा ३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको देखिन्छ । यसैगरी २०८० पुस मसान्तमा निष्क्रिय कर्जा २८ अर्ब ८९ करोड अर्थात ७.४९ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ५.५२ प्रतिशत रहेको थियो । २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम ४२ अर्ब १७ करोड रहेको छ । थोक र खुद्रा लघुवित्त वित्तीय संस्थाको कुल निष्क्रिय कर्जा ३० अर्ब ११ करोड रुपैयाँ बराबरको छ ।
२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ । २०८० पुस मसान्तमा सो लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा १९.३८ प्रतिशतले बढेर २० अर्ब २२ करोड रुपैया पुग्यो । गत आर्थिक वर्षको दोस्रो तीन महिने अवधिमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ३५.६२ प्रतिशत र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ७०.२२ प्रतिशतले बढेर गएको थियो ।
२०८० पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जा र लघु व्यवसाय कर्जाको अंशमा ह्रास आएको छ । २०८० पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जासँग कुल कर्जा तथा सापटको अनुपात १९.७९ प्रतिशत छ । यो अनुपात २०८० असार मसान्तमा २०.४८ प्रतिशत थियो । लघु व्यवसाय कर्जा अंश २०८० असारको ७२.०७ प्रतिशतबाट २०८० पुसमा ७१.५३ प्रतिशतमा झरेको छ ।
२०८० पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात ६.८५ प्रतिशत देखिन्छ । साथै निष्क्रिय कर्जाका लागि कुल कर्जा रकमको ३.३९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम रहेको देखिन्छ । २०८० पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुले २१ अर्ब ९० करोड बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन् । सो रकम कुल बाँकी कर्जाको ४.९८ प्रतिशत र निष्कृय कर्जाको ७२.७४ प्रतिशत हुन्छ ।
चालु आवको दोस्रो तीन महिने अवधिमा केन्द्रीय बैंकले सुपर लघुवित्तलाई पुँजीकोष, वैंधानिक तरलता र अनिवार्य मौज्दात पूरा नगरेकोमा कारबाही गरेको छ । सोहीगरी सृजनशील लघुवित्तलाई पुँजीकोष अनुपात पूरा नगरेको र समाज लघुवित्तलाई अनिवार्य मौज्दात कायम नगरेको भनी केन्द्रीय बैंकले कारबाही गरेको छ ।