काठमाडौँ । नेपाल चीन नाकामा निर्माण भइरहेको रसुवागढी सुख्खा बन्दरगाह( ड्राइ पोर्ट )को निर्माण कार्य दुई तिहाई जति पूरा भएको छ ।बागमती प्रदेश रसुवा जिल्लाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाहको निर्माण कार्य दुई तिहाई पूरा भएको हो ।
चीन सरकारको सहयोगमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्य पूरा गर्न बन्दरगाह निर्माण भइरहेको सो समितिले जनाएको छ ।
सन् २०२५सम्म बन्दरगाह निर्माणको काम पूरा गर्ने गरी भएको सम्झौता अनुसार तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । त्यसअघि नै निर्माण सम्पन्न गर्ने गरी काम कम्पनीले गरिरहेको सम्बद्धहरू बताउँछन् ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणबारे जनकारी सार्वजनिक गरे अनुसार दुई तिहाई सकिएको हो । अहिले बन्दरगाहभित्र भवन निर्माण, रिटनिङ वालमा माटो भर्ने, बाटो निर्माण सम्पन्न भएको छ ।
कोभिडका कारणले लामो समयदेखि काम रोकिएकोमा हाल नियमित रूपमा भइरहेकाले तोकिएको समयमै काम सक्ने गरी काम भइरहेको छ ।
बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ । बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ । त्यस्तै कार्गो गोदाम र दुई वटा भवन निर्माण गर्ने योजना छ । बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन् ।
रसुवामा बन्दरगाह निर्माण भएपछि चीनको सामान भारतको विशाखापट्टनमबाट आउँदा लाग्ने लागतमा कमी आउने विश्वास गरिएको छ । अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौँ आउने व्यवसायीको अनुमान छ ।
चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ । तातोपानी र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ । अहिले सबैभन्दा धेरै रसुवा नाकाबाट सामान आउने गरेको छ । चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाका केन्द्रित काम गरिरहेको छ । अहिले चीनसँगको व्यापार जोड्ने एक मात्रै नाका रसुवा बनेको छ ।
िसुक्खा बन्दरगाह दुई हजार ८० वर्गमिटरमा फैलिएको छ । प्रस्तावित डिजाइन अनुसार पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्ने छ । सो बन्दरगाहमा ३५० वटा कन्टेनर अट्ने छन् ।