Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

नेपाली अर्थतन्त्रको कायापलट गराउन सक्ने दैलेख पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा, सकारात्मक परिणाम आउने अपेक्षा  

नेपाली अर्थतन्त्रको कायापलट गराउन सक्ने दैलेख पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा, सकारात्मक परिणाम आउने अपेक्षा  

  • काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ ।अन्तिम चरणको काम ड्रिलिङको तयारी भइरहेको सम्बद्धहरूले जानकारी सार्वजनिक गरेका हुन् ।नेपालको अर्थतन्त्रको कायापलट हुन सक्ने पेट्रोलियम पदार्थ पता लगाउने कार्य ०७६साल असारबाट सुरु गरिएको थियो । तीन वटा चरणमा सम्पन्न गर्ने भनिएको अन्वेषण अन्तर्गत अन्तिम चरणको कामे ‘ड्रिलिङ’को काम हो ।


    भैरवी गाउँपालिका–१, जलजलेमा १५ घरधुरीको ४५ रोपनी जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम भइसकेको छ । खानी तथा भूगर्भ विभागको नाममा आएसँगै उक्त स्थानमा ‘ड्रिलिङ’ कार्यका लागि चिनियाँ प्राविधिकको टोलीले क्याम्प निर्माण, मेसिन ल्याएर राख्ने ठाउँ सम्म्याउने, बाटो निर्माण लगायतका काम गरिरहेको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापितले जानकारी सार्वजनिक गरेका हुन् । 

    जलजले श्रीस्थान र नाभिस्थानको थोरै उत्तरमा पर्छ । सयौँ वर्षदेखि ज्वाला बल्दै आएको श्रीस्थान, नाभिस्थान, पादुकाका क्षेत्रलाई आधार मानेर पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन भइरहेको छ । तीन वटा ठाउँमा गरिएको अध्ययनमध्ये पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने क्षेत्र जलजले मानिन्छ ।  सो स्थानमा करिब ४.५ किलोमिटर गहिराइमा ड्रिलिङ गरिनेछ । 

    यसका लागि ड्रिलिङ मेसिन चीनबाट नेपालका लागि हिँडिसकेको छ ।  भारतको कलकत्ता बन्दरगाह, नेपालगन्जको रुपडिया नाका हुँदै मेसिन सुर्खेत पुग्ने छ । त्यसपछि कर्णाली राजमार्ग हुँदै दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिकाको साङ्गेतडा पु¥याइने परियोजना सम्बद्ध अधिकारीहरू बताउँछन् । 
    उनीहरूका अनुसार सडक क्लियरिङको काम पूरा नभएकाले यो ड्रिलिङको काम एक वर्ष ढिला भइरहेको छ । ठेक्का पहिला लागेको तर सडक क्लियरिङको काम पूरा नभएकाले यस्तो भएको हो ।

    १५ मिटर लम्बाईको ट्रलिसहितको  ड्रिलिङ मेसिन  ४० टन भन्दा बढी वजनको हुन्छ । त्यसैले सुरक्षित साथ यो मेसिनलाई साङ्गेतडा–जम्बुकाँध र मध्यपहाडी राजमार्ग हुँदै भैरवीको जलजले पु¥याउने योजना बनेको छ ।यो चरणका विभिन्न  उपचरणहरू पूरा गर्न ५देखि ६ महिनाको समय लाग्ने छ । मेसिन आएपछि काम सुरु भए पछि यो समय लाग्ने छ । यो मेसिन सञ्चालन गर्न डिजेलको आवश्यक ठुलो परिमाण उत्तिकै आवश्यक छ ।यो काम पूर्ण रूपमा चिनियाँ  कम्पनीसँग भएको सम्झौता अनुसार भइरहेको छ । यहाँको काम पूरा भएपछि अन्य दुई ठाउँका लागि चिनियाँ कम्पनीसँग सरकारले सम्झौता गर्नुपर्ने हुन्छ ।

    चिनियाँ टोलीले यो अन्वेषणको काम गर्न २ अर्ब सहयोगको घोषणा गरे अनुसार भएको सम्झौता गरेको थियो । त्यही बजेटमा यो काम भइरहेको छ । अर्थ मन्त्रालयले पाँच वर्ष अघि चीन सरकारसँग सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार चाइना जियोलोजिक सेन्टर, बेइजिङ र चेन्दुङका १० सदस्यीय चिनियाँ टोली नेपाल आएका थिए । सोही कार्यलाई निरन्तरता दिँदै तत्कालीन उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले ०७६ असारमा अन्वेषणको औपचारिक सुरुवात गरेका थिए ।

    सोही टोलीका ५–५ जनाले काम गरिरहेका छन् भने बाँकी नेपाली गरी करिब २० जनाले काम गरिरहेका छन् । पहिलो चरणको अध्ययनका क्रममा सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको केही वैज्ञानिक प्रमाण  र आधारहरू फेला परेको दाबी गरिएको छ । सो  क्षेत्रमा करिब १४ किलोमिटरको दूरीमा ४५ वटा ग्यास चुहावट  बिन्दुहरू देखिएका छन् । 

    ड्रिलिङको नतिजा परिमाणात्मकरूपमा सकारात्मक देखिए यो देशकै अर्थतन्त्रका लागि कायापलट गराउने परियोजना बन्ने देखिन्छ । विश्वबाट पेट्रोलियम पदार्थको उत्पादन तथा बिक्री वितरणलाई विराम लगाउने समय पूरा भएसम्म यसको भण्डारणलाई उपयोग गर्न सकिएमा मात्र पनि नेपाली अर्थतन्त्रलाई यसले कायापलट गर्न सक्ने अपेक्षा विज्ञहरूले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij