Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

राजस्व छली र चुहावट नियन्त्रण गर्न  राजस्व अनुसन्धान विभाग सक्रिय ,यस्तो छ विभागको २०८० माघ मसान्तसम्मको प्रगति


२०८०, फागुन २१ सोमबार

  • 1.8k
    Shares

  • राजस्व छली र चुहावट नियन्त्रण गर्न  राजस्व अनुसन्धान विभाग सक्रिय  ,यस्तो छ विभागको  २०८० माघ मसान्तसम्मको प्रगति

    काठमाडौं । राजस्व अनुसन्धान विभाग राजस्व छली र चुहावट  नियन्त्रण गर्न आक्रामक देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले चालु आर्थिक वर्षको माघ मसान्तसम्म राजस्व चुहावटसम्बन्धी २५ओटा मुद्दा दायर गरेको छ ।

    २५ ओटा मुद्दामा एक अर्ब  ६२ करोड बढी रुपैयाँ बराबरको बिगो तथा सजाय माग दाबी अनुसन्धान विभागले गरेको हो । विभागले व्यक्ति र कम्पनी गरी  ४५लाई प्रतिवादी बनाएको छ । गत वर्षको सोही अवधिमा विभागले ३४ ओटा मुद्दा दायर गरेको थियो । विभागले गत आवको सोही अवधिमा ३४ ओटा मुद्दामा ५९लाई प्रतिवादी बनाइ एक अर्ब ४५ करोड बढीको बिगो तथा सजाय माग दाबी गरेको थियो । विभागले गत आवको भन्दा चालु आवमा १७ करोड बढी बिगो माग दाबी गरेको छ ।

    यस्तै विभागले विदेशी विनिमय अपचलनतर्फ चालु आवको माघ मसान्तसम्ममा ४५ ओटा मुद्दा दायर गरेको छ । ४५ मुद्दामा ३६ करोड ८४ लाख बिगो रकम र सजाय माग दाबी रकम ९७ करोड १८ लाख बराबरको मागदाबी गरिएको छ । विभागले विदेशी विनिमय अपचलनतर्फ ८३ जनालाई प्रतिवादी बनाएको छ । गत आवको सोही अवधिमा विभागले विदेशी विनिमय अपचलनतर्फ ६९ प्रतिवादी बनाइ ४३ मुद्दामा ६ करोड ४ लाख बिगो रकम र १८ करोड सजाय माग दाबी गरेको थियो । गत आव भन्दा विदेशी विनिमय अपचलनतर्फ विभागले चालु आवको माघ मसान्तसम्ममा बिगो तर्फ ३० करोड ८० लाख र सजाय माग दाबी तर्फ ७९ करोड १८ लाख बढी  बिगो तथा सजाय माग दाबी गरेको हो ।

    यसैगरी राजस्व अनुसन्धान विभागले चालु आवको माघ मसान्तसम्ममा धरौटी राजस्व तर्फ १५ करोड ८१ लाख ६१ हजार राजस्व रकम माग दाबी गरेको छ । गत आवको सोही अवधि भन्दा यो वर्ष २ करोड ८१ लख ६१ हजारले बढी रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ । राजस्व अनुसन्धान विभागले भीसीटीएसतर्फ ७८३ सवारी साधनलाई कारबाही गरी ३ करोड ८ लाख ७० हजार जरिवाना गराएको छ । विभागले गत आवको सोही अवधिमा ४२७ सवारी साधानलाई कारबाही गरी २ करोड ४५ लाख जरिवाना तिराएको थियो । गत आवको भन्दा चालु आवको माघ मसान्तसम्ममा ५४ लाख बढी जरिवाना गराएको हो ।विभागले राजस्व छली तथा चुहावट नियन्त्रणका लागि गश्तीतर्फ ९सय १९लाई कारबाही गरेको छ । गत आवमा विभागले ७सय ४२ लाई कारबाही गरेको थियो । 

    राजस्व अनुसन्धान विभागले राजस्व छली तथा चुहावट नियन्त्रणका लागि विभिन्न क्षेत्रको पहिचान गरी अनुसन्धान गरिरहेको विभागका महानिर्देशक नवराज ढुंगानाले नयाँ सडकलाई बताए । उनले राजस्व छली तथा चुहावट नियन्त्रण र विदेशी विनिमय अपचलन रोक्नका लागि विभाग सक्रिय रहेको बताउँदै गत आवको तुलनामा यो आवको माघ मसान्तसम्म   राजस्व चुहावट सम्बन्धी  मुद्दाहरूमा बिगो तथा सजाय मागदाबी  बढेको बताए । महानिर्देशक ढुंगानाले विदेशी विनिमय अपचलनतर्फ  गत आवको भन्दा यो आवमा प्रतिवादी संख्या र बिगो र सजाय माग दाबी रकम बढेको बताए । राजस्व अनुसन्धान विभागका निर्देशक तथा सूचना अधिकारी नवराज अधिकारीले  यो आवमा धरौटी माग दाबी , भीसीटीएसतर्फको कारबाही र गश्ती परिचालनसमेत बढेको बताए ।

    प्रतिक्रिया दिनुहोस