Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

गैरआवासीय नेपाली संघको निर्वाचन त्रुटिपूर्ण भएको छानबिन समितिको निष्कर्ष , प्रतिवेदन उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइयो 


२०८०, चैत २ शुक्रबार

  • 663
    Shares

  • गैरआवासीय नेपाली संघको निर्वाचन त्रुटिपूर्ण भएको छानबिन समितिको निष्कर्ष , प्रतिवेदन उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइयो 

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।  गत अक्टोबरमा सम्पन्न निर्वाचनबारेको विवादका साथसाथै लेखा तथा काम कारबाहीको सम्बन्धमा छानबिन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाउदै उक्त निष्कर्ष निकालेको हो । 
    महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा गठित समितिले उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रतिवेदनमा संघको  निर्वाचन त्रुटिपूर्ण भएको उल्लेख गरिएको छ । निर्वाचन त्रुटिपूर्ण भएकाले उपयुक्त निकास निकाल्न समितिले राय दिएको छानबिन समितिका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार चुनावमा धाँधली भएको भन्दै एक समूहले दिएको निवेदनका आधारमा यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा निस्केको निचोडसँगै मिल्दोजुल्दो निष्कर्ष प्रतिवेदनले पनि निकालेको छ । 

    ब्युरोको रिपोर्टमा  संघको निर्वाचनबारे प्रश्न उठाइएको थियो । सीआईबीले अनुसन्धानका क्रममा निर्वाचन निष्पक्ष नदेखिएकाले अनलाइन भोटिङ गराउने कम्पनी ‘भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन’ बाट मतदान गरेको स्थान निर्क्योल गर्नुपर्ने आवश्यकता औँल्याएको थियो । 

    गत कात्तिक ३ गते मध्यराति निर्वाचन सम्पन्न भएसँगै सार्वजनिक गरिएको मत परिणामअनुसार अध्यक्षमा प्रत्याशीहरू आरके शर्मा र महेश श्रेष्ठलाई उछिन्दै डा बद्री केसी विजयी भएका थिए ।

    तर, उपाध्यक्षका उम्मेदवार डा।केशव पौडेलको काठमाडौँमा खसेको मत शून्य आएको तथा केही व्यक्तिहरूले मतदानै नगरी मतदान गरिसकेको भनेर इमेल आएको पाइएकाले धाँधली भएको भन्दै शर्मा र श्रेष्ठले मत परिणाम अस्वीकार गरेका थिए । सो पछि महेश समेतको समर्थनमा केसीविरुद्ध शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेर गतिविधि हुँदै आएको छ ।

    विवाद समाधान नभएपछि माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले विवादबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।  निर्णयअनुसार महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव ९लेखा० सदस्य रहेको छानबिन समिति गठन भएको थियो । समितिले झण्डै डेढ महिना लगाएर अनुसन्धान प्रतिवेदन दिएको हो । 

    ब्युरोको तर्फबाट छानबिन समितिका सदस्य रहेका एसएसपी दिनेश आचार्यले आफू मातहतको नेतृत्वलाई यसअघिको रिपोर्टजस्तै छानबिन समितिको निष्कर्ष आएको रिपोर्टिङ  गरिसकेका छन् । ‘पहिला हामीले विवादबारे जे फाइन्डिङ गरेका थियौँ, त्यसकै पेरिफेरीमा रिपोर्ट आएको छ ।निर्वाचनमा त्रुटि देखियो भन्ने निष्कर्ष छ’, सीआईबी स्रोतले भन्यो । रिपोर्टसँगै एनआरएनएको विवाद मिलाउन केही पहलकदमी लिन सुझाव समेत दिइएको छ । यद्यपि स्रोतले विस्तृतमा खुलाउन चाहेन ।

    विवाद समाधानको प्रयासस्वरुप तत्कालीन अध्यक्षहरु केसीसहित कुल आचार्य र रविना थापाले कात्तिक ३ गते एक विज्ञप्ति जारी गर्दै अर्को निर्णय नभएसम्मका सो दिनका  सबै कार्यक्रम स्थगित गरिएको जानकारी गराए । त्यसअघि नै शर्मा र श्रेष्ठले परराष्ट्र मन्त्रालयदेखि केन्द्रीय अनुसन्धान ब्युरो र प्रधानमन्त्री कार्यालयसम्म धाँधली भएको दाबी गर्दै निवेदन दिइसकेका थिए । यतिसम्मकी विवादकै कारण कात्तिक ३ गते समापन समारोहमा प्रधानमन्त्री उपस्थित हुने कार्यक्रम रहेपनि प्रधानमन्त्री प्रचण्ड गएनन् । विवाद बढ्दै जाँदा शर्माको नेतृत्वमा नयाँ समिति बन्यो भने विवाद बढ्दा दुई पक्षबीच संवादविहीनताको अवस्था छ । समितिले रिपोर्ट दिएसँगै एनआरएनएको विवाद कसरी समाधान हुन्छ या चर्किन्छ भन्नेबारे डायस्पोरामा चासो छ ।

    प्रतिक्रिया दिनुहोस