काठमाडौं । रौतहटको एक मनी ट्रान्सफरमा पेस्तोलसहित आएका व्यक्तिहरूले रकम लुटपाट गरेका छन् । रौतहट परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरमा सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली हानी लुटपाट गरिएको हो ।
कन्चटमा गोली लागेका साहलाई वीरगञ्जको न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ ।लुटपाटमा संलग्न भएको आशंकामा ३ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुटेराहरू भारतीय नम्बर प्लेटको अपाची बाइकमा आएको प्रहरीको भनाइ छ ।
भारतबाट आएका ३ जनाले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको प्रहरीको भनाई छ । लुटिएको रकमको परिमाण भने खुलेको छैन । एसपी श्रेष्ठका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद गरिएको छ ।