Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

फेवा नव वर्ष महोत्सव : पर्यटकीय राजधानीको महिमा र गरिमा बढ्नुपर्नेमा जोड


नया सडक

२०८०, चैत १२ सोमबार

  • 483
    Shares

  • फेवा नव वर्ष महोत्सव : पर्यटकीय राजधानीको महिमा र गरिमा बढ्नुपर्नेमा जोड

     

    गण्डकी । पोखरामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म होटेल सङ्घ पोखरा नेपालले गर्न लागेको १९औँ फेवा नव वर्ष महोत्सव पर्यटकीय राजधानीको गरिमा र महत्व बढाउने किसिमको हुनुपर्नेमा पर्यटन सम्बद्ध क्षेत्रका अगुवाले जोड दिएका छन् ।

     

    महोत्सवका सन्दर्भमा आज सङ्घले आयोजना गरेको छलफल एवम् अन्तरक्रियामा सहभागीले यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको पोखरामा हुनलागेको महोत्सवमा यसको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्नुपर्ने बताए ।

     

    पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म हुने महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुचिसमेतलाई दृष्टिगत गरी कार्यक्रमको तयारी गरिएको सङ्घका अध्यक्ष एवम् महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । 

     

    महोत्सवलाई भव्य र सभ्य बनाउन गठित विभिन्न २१ वटा उपसमितिले आआफ्नो तयारी तीव्र बनाएको बताउँदै उहाँले यसैका सन्दर्भमा पोखराका विभिन्न पर्यटकीय सङ्घसंस्थाका तर्फबाट भारी छुट प्रदान गरिएको जानकारी गराउनुुभयो ।

     

    महोत्सवमा सांस्कृतिक कार्यक्रम, पञ्चेबाजा, नाचगानका कार्यक्रम, दोहोरी र कन्सर्ट समेटिने उल्लेख गर्दै सुवेदीले यसपटक ड्यामसाइड क्षेत्रसमेतमा विविध गतिविधि सञ्चालन गरिने बताउनुुभयो । महोत्सवमा पर्यटक दौड र सम्भव भएसम्म डुङ्गा दौडसमेत समेटिने उहाँको भनाइ छ । पर्यटन, संस्कृति र खानालाई जोड दिएर गरिएको महोत्सवले कोरोना महामारीलगायतका कारण प्रभावित पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

     

    अन्तरक्रियामा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवको प्रचारका लागि डिजिटल मार्केटिङलाई जोड दिन र भारतीय सञ्चारकर्मीसमेतलाई आमन्त्रण गर्न सुझाव दिनुुभयो । पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गरिएपछि यसलाई एउटा ब्राण्डको रुपमा प्रचारप्रसार गर्न उहाँले सुझाव दिनुुभयो ।

     

    कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचन, महासचिव राजेन्द्र ढकाल, पोखरा उद्योग वाणिज्य सङ्घ, पर्यटनसम्बद्ध संस्था टान गण्डकी, नाट्टा गण्डकी, महिला पर्यटन व्यवसायी मञ्च, पोखरा पंक्षी समाज, नेपाल हवाई खेलकूद संस्थालगायतका तर्फबाट अध्यक्ष तथा प्रतिनिधिले फेवा नव वर्ष महोत्सव पोखराको पहिचान बनिसकेको बताउँदै पर्यटकीय राजधानी घोषणासँगै हुनलागेको महोत्सव भव्य र सभ्य बन्नुपर्नेमा जोड दिनुुभएको थियो । उक्त अवसरमा महोत्सवलाई सफल पार्न आफ्ना संस्थाकातर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिएको थियो ।रासस

     

    प्रतिक्रिया दिनुहोस