Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

चिसापानी घटना : पुलबाट हाम फाल्ने युवक अझै भेटिएनन्


नया सडक

२०८०, चैत १५ बिहीबार

  • 552
    Shares

  • चिसापानी घटना : पुलबाट हाम फाल्ने युवक अझै भेटिएनन्

     

    घोडाघोडी । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीले गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका थिए । 
     
    घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो । हालसम्म उनको केही पत्तो नलागेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराज डाँगीले बताउनुभयो । 
     
    “खोजी गर्न बुधबारदेखि रानीजमरा सिचाइँ योजनाको नहर नै बन्द ग¥यौँ”, उहाँले भन्नुभयो– “फेला नपरेपछि गोताखोर टोली फर्किएको छ ।” बेपत्ता शाहीको खोजीका लागि आज पनि प्रहरी र स्थानीयको दुई टोली परिचालन गरिएको छ । दुवै टोलीलाई टीकापुरसम्म परिचालन गरिएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो ।   
     
    सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।
     
    प्रहरी निरीक्षक डाँगीका अनुसार पुलबाट कर्णालीमा हाम फाल्ने सबैजनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए । 
     
    उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । उहाँका अनुसार सोधपुछका क्रममा नियन्त्रणमा लिएका एकजनाले त्यो दिन हाम फाल्ने कुनै पनि योजना नभएको बयान दिएका छन् । 
     
    “फोटो खिच्न पुलतर्फ गएका हौँ, पुलमा पुग्दा एक जनाले हाम फाले, उसलाई देखेर अरु सबैले पालैपालो कर्णालीमा हाम फाल्यौँ”, पक्राउ परेकाहरुले सोधपुछका क्रममा भनेका प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । 
    कर्णालीमा हाम फाल्नेहरु १७ देखि ४० वर्षसम्मका हुन् । उनीहरु होली खेल्दै चिसापानी बजार पुगेका थिए ।  रासस

    प्रतिक्रिया दिनुहोस