Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 351
    Shares

  • पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक

     

    गण्डकी ।पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक रहेका पाइएको छ । बालश्रम न्यूनीकरण सम्बन्धमा पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

     

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले हाल केन्द्रले किडासालगायत दाताहरूको सहयोगमा बालश्रम न्यूनीकरण, जीविकोपार्जन तथा शिक्षालगायत चारवटा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

     

    अहिले पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिकको पहिचान भएको बताउँदै उहाँले तीमध्ये पाँच सय ७२ जना विभिन्न वर्कशपमा कार्यरत रहेको जानकारी दिनुभयो । 

     

    मोटर तथा मोटरसाइकल वर्कशपमा काम गर्ने अधिकांश बालक भारतीय रहेकाले उनीहरुलाई कामबाट छुटाउन र परिवारको जिम्मा लगाउन नसकिएको बरालले जानकारी दिनुभयो । ती बालश्रमिकलाई कार्यस्थलमै पुगेर शिक्षा प्रदान गर्ने गरिएको उहाँको भनाइ छ ।

     

    सामाजिक विकास केन्द्रका संयोजक एवम् पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले केन्द्रले विगतदेखि सञ्चालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमकै कारण पोखरामा बालबालिकालाई निकृष्ट प्रकारका श्रममा लगाउने कार्यमा कमी आएको बताउनुभयो ।

     

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले बालश्रम न्यूनीकरणका लागि स्थानीय सरकार बढी क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । साझा सरोकारका विषयमा सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

     

    पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति, महासचिव बलराम आचाय, पोखरा महानगरपालिका–११ का वडाध्यक्ष प्रेम कर्माचार्यलगायतले बालश्रमको न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक भएकामा जोड दिनुभएको थियो । रासस

     

    प्रतिक्रिया दिनुहोस