Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत २० मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत २० मंगलबार

  • 468
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत २० मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत २० मंगलबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    सरकारी ऋणको साँवा–ब्याज तिर्न साढे पाँच खर्ब चाहिने, बजेटमा स्रोतको सकस

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब रु पाँच खर्ब ५० अर्ब हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन सकस परेको छ ।
           
    राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने राष्ट्रिय स्रोत अनुमान समितिले सरकारलाई आगामी आवको बजेटको सीमा ९सिलिङ० पठाइसकेको छ । आगामी आवका लागि रु १८ खर्बको सीमाभित्र बजेट ल्याउन सिफारिस समितिले गरेको छ । निर्धारित सिलिङअनुसार आगामी आवका लागि चालुतर्फ रु ११ खर्ब ३९ अर्ब ७७ करोड, पुँजीगततर्फ रु तीन खर्ब पाँच अर्ब र वित्तीय व्यवस्थातर्फ रु पाँच खर्ब ३७ अर्ब २३ करोडको सीमाभित्र बजेट ल्याउनुपर्नेछ । वित्तीय व्यवस्था शीर्षकमा जाने बजेट मुख्यगरी सार्वजनिक ऋणको दायित्व भुक्तानीमा खर्च हुने गरेको छ ।
           
    राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले न्यून राजस्व सङ्कलनका कारण स्रोत सुनिश्चितता पर्याप्त नहुनु र सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व बढेका कारण समस्या रहेको बताउनुभयो ।

    जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले गरे मर्जरको लागि अन्तिम सम्झौता

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था बीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ ।यी दुई कम्पनीबीच गत साउन ९ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ (एक) कित्ता शेयर प्राप्त गर्दा किसान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले ०.८८३४ कित्ता शेयर प्राप्त गर्ने गरी शेयर स्वाप अनुपात कायम भएको छ ।

    लक्ष्मी सनराइज बैंकको बोनस शेयर नेप्सेमा  सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस शेयर मंगलवार )आज) सूचीकृत भएको छ ।

    बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ दशमलव ५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

    बैंकले गत पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीले १३ लाख २७ हजार ८६७ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका ८ जना संस्थापकले उक्त रकम बराबरको सेयर बिक्री गर्न लागेका हुन् ।

    बङ्गलादेशसँग दश वर्षदेखि लगातार व्यापार घाटा

    झापा। नेपालले एक दशकयता बङ्गलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०/८१ को चालु आठ महिनामै रु दुई अर्ब ४३ करोड आठ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रुपमा पूर्वीनाका काँकरभिठ्ठाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहनमार्ग प्रयोग हुँदै आएको छ ।

    नेपाल, भारत र बङ्गलादेशबीचको त्रिदेशीय समझदारीअनुसार भूपरिवेष्ठित मुलुक भएकाले नेपालले यो सोझो पारवहनमार्ग पाएको हो । त्रिभुवन विमानस्थलको हवाई मार्गमार्फत हुने व्यापारको अंश निकै कम छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७१/७२ यता नेपालले बङ्गलादेशसँगको व्यापार कुनै पनि वर्ष सन्तुलनमा ल्याउन सकेको छैन । चालु आवको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ५९ करोड ६५ लाख ३१ हजार मूल्य बराबरको मालसामान आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा बङ्गलादेशतर्फ रु १६ करोड ५६ लाख ४२ हजार मूल्य बराबरको सामान निर्यात भएको छ ।

    विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको अनुमान घटायो , आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण

    काठमाडौं ।  सरकारले चालु आव ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको  बेला  विश्व बैंकले  चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले  यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।  

    गत जनवरी (पुस) मा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेकोमा अहिले केही घटाएको हो । गत आव २०७९/८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो 

    आगामी आव नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत गर्दै   विश्व बैंकले  सन् २०२६ मा भने ५.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ  ।

    अर्थतन्त्रको चक्रलाई गतिशील बनाउने गतिविधि नभएकाले विज्ञ तथा उद्योगी व्यवसायीहरू चिन्तित

    काठमाडौं । अर्थतन्त्रका सूचकांकहरू सुधारिएको देखिएपनि अर्थतन्त्रको चक्रलाई गतिशील बनाउने गतिविधि नभएकाले विज्ञहरू चिन्तित देखिएका छन् । सुधारिएका सूचकहरूको यथार्थपरक विश्लेषण गर्नेहरूले अर्थतन्त्र संकटमै रहेको बताएका हुन् । 

    उनीहरूका अनुसार समग्र अर्थतन्त्रको चक्रमा  रेमिट र आयातले मुख्य भूमिका खेलेको देखिन्छ । देशमा कुनै सम्भावना नदेखेर विदेश गएका युवाले रेमिट नपठाउने हो भने देशको अवस्थाबारे कल्पना गर्न नसकिने उनीहरू बताउँछन् । अर्थतन्त्रमा  अर्को पक्ष वस्तु आयातले ठूलो भूमिका निर्वाह गरेको छ । कुल व्यापारमा निर्यात र आयातको अंश घटेको छ । व्यापार घाटा कम भयो र भुक्तानी सन्तुलनमा कमी भयो भने  विदेशी विनिमय सञ्चितिमा त्यसको प्रभाव पर्ने नै हुन्छ ।पर्यटक आगमन बढेको मात्रै देख्नेले पछिल्लो समय नेपाली देश बाहिर घुम्न जानेको संख्या पनि बढिरहेकोलाई अनदेखा गरेको ठहर्छ ।  देशबाट युवा बाहिरिएका मात्रै छैनन्, उनीहरूसँगै ठूलो रकम फि, होस्टल खर्च, पाकेट खर्चका नाउँमा विदेशी मुद्रा घटाइरहेको हुन्छ ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ३१ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १५ सय ४५ रुपैयाँ कायम भएको छ ।

    चालु आवको फागुन मसान्तसम्ममा हवाई इन्धनको आयात चार गुना बढीले घट्यो ,अन्य इन्धनको आयातमा वृद्धि

    काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा हवाई इन्धनको (एटीएफ) आयात चार गुना बढीले घटेको छ ।गत आव २०७९/८०को फागुन मसान्तसम्म ५ लाख ६४ हजार १सय ७ किलोलिटर आयात भएकोमा चालु आवमा  १ लाख २७ हजार ४सय ७६ किलोलिटर आयात भएको हो ।

    भन्सार विभागले सार्वजनिक प्रतिवेदनमा हवाई इन्धन आयातको परिमाण अनुसार घट्ने कारण आफूलाई थाहा नभएको जनाएको छ ।विभागका प्रवक्ता पुण्यविक्रम खड्काले विभागले तथ्यांक सार्वजनिक गर्ने हो यसको विश्लेषण गर्ने काम आफूहरूको नभएको नयाँ सडकसँगको कुराकानीमा बताए ।

    यसैगरी अन्य इन्धनहरूमा पेट्रोल, डिजेल र एलपीजी ग्यासको आयातमा वृद्धि भएको हो ।गत आव २०७९/८०मा पेट्रोलको भारतबाट ४ लाख ४१ हजार ८सय १९ किलो लिटर आयात भयो । सो परिमाणको भन्सार मूल्य ४४ अर्ब १५करोड ९९लाख १३ हजार तोकिएकोमा भन्सार राजस्व २३अर्ब ९८करोड १८लाख १७हजार प्राप्त भएको उल्लेख छ ।

    लगानीका लागि बाधक ऐन संशोधन हुन्छन्ः अर्थमन्त्री पुन

    काठमाडौँ  ।  अर्थमन्त्री वर्षमान पुनले लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब एकदर्जन कानुन आगामी वैशाख तेस्रो साता आयोजना हुन लागेको लगानी सम्मेलन अघि नै  संशोधन गरिने बताउनुभएको छ ।

    नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवद्र्धनका लागि बाधक ठानिएका कानुनी प्रावधान संशोधन गरी लगानीमैत्री बनाउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । 

    लगानी वातावरण बनाउन सङ्घीय संसद्का दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक पारित गरेको र  बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसद्मा प्रस्तुत गरिसकेको जानकारी उहाँले दिनुभयो । 

    सन् २०२६ भित्र नेपाल अतिकम विकसित मुलुक ९एलडीसी० बाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले विकास साझेदार संस्थासँग सहुलियतपूर्ण कर्जा लिने नीतिमा रहेको बताउनुभयो । 

     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस