Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्   वैशाख १८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, वैशाख १८ मंगलबार

  • 723
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्   वैशाख १८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  वैशाख १८ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    ‘लगानी सम्मेलनमा उठान भएका विषयलाई तत्काल कार्यान्वयनमा लगिने छ’

    काठमाडौँ । सरकारले सोमबार काठमाडौँमा सम्पन्न भएको तेस्रो लगानी सम्मेलनमा उठान भएका महत्वपूर्ण विषयलाई तत्काल कार्यान्वयनमा लैजाने भएको छ ।  लगानी बोर्डको मुख्य आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ सहआयोजनामा आइतबार र सोमबार दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा उठाइएका विषयलाई सरकारले तत्काल कार्यान्वयन लैजाने तयारी गरेको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन २०२४ निर्देशक समितिका सदस्य सचिव सुशील भट्टले सम्मेलन सफल रहेको जनाउँदै यसपछि पनि निरन्तर ‘फलोअफ’ संयन्त्रका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने

    काठमाडौँ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौत आज भएको हो ।

    सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गर्नुभएको हो । सुपर खुदीको प्रतिकित्ता रु एक सय  अङ्कित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने रु ७५ करोड ९५ लाखको शेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी हुनुहुन्थ्यो । यसभन्दा अघि पनि कोषले विभिन्न कम्पनीको शेयर प्रत्याभूति गर्दै आएको छ ।

    भोलि सार्वजनिक विदा  : बैंक–वित्तीय संस्था बन्द , शेयर कारोबार नहुने

    काठमाडौं । बुधबार सेयर बजार बन्द हुने भएको छ । बुधबार (वैशाख १९ गते) अन्तर्राष्ट्रि श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।  सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

    शेयर बजार : नेप्से परिसूचक २५.९३ प्रतिशतले बढेर  २००६.२८ विन्दुमा , ४ अर्ब ८० करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २५.९३ प्रतिशतले बढेर  २००६.२८ विन्दुमा आएको छ । आज ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ । यस दिन फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । 
    यस दिन ३२० कम्पनीको १ करोड १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड २४ लाख रुपैयाँसहित कारोबार रकममा साइन रेसुंगा डेभलपमेन्ट बैंक अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र गोर्खाज फाइनान्स परेका छन् ।

    नेपाल पुनर्बिमा कम्पनीको ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले आज (वैशाख १८ गते) देखि विशाल ग्रुपको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्थाले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    सोलार फार्मको विशेष साधारण सभा  जेठ १ गते , आइपीओ जारी गर्ने

    काठमाडौं । सोलार फार्म लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । सभा जेठ १ गते यस कम्पनीको केन्द्रिय कार्यालय, बाफल, काठमाडौंमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्नेलगायतका सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

    रिडी पावरको लिलामी सेयर बाँडफाँट

    काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर सोमबार (वैशाख १७ गते) बाँडफाँट गरिएको हो । जसमा न्यूनतम १४८ रुपैयाँ १० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।

    आज सीइडीबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं ।  सीइडीबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज वैशाख १८ गते मंगलबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले वैशाख १९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।सीइडीबीले गत आर्थिक वर्षको नाफबाट ११ प्रतिशत बोनस सेयर  र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ ।

    यसपटक एलआइसी नेपालले लाभांश वितरण नगर्ने घोषणा

    काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । एलआइसी नेपालको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।  बैठकले सोही बमोजिम स्वीकृतिको लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर तोलाको १६ सय ५० रुपैयाँ कायम भएको छ ।

    तुरुन्तै प्रहरी समायोजन नगरे नेपाल सरकारविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री श्रेष्ठको चेतावनी

    सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे नेपाल सरकारविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । मंगलबार सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङ्पाल प्रहरी चौकी भवनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । नेपालको संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी स्पष्ट रूपमा प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै उनले प्रहरी समायोजन हुन नसक्दा प्रदेशको शान्ति, सुरक्षामा समस्या आउनसक्ने बताए । मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे संविधान कार्यान्वयन गर्न नेपाल सरकारविरुद्ध सबै प्रदेश एकताबद्ध भएर कानुनी उपचार खोज्ने चेतावनी दिए ।

    कर्णप्रिय सहकारीका सञ्चालक गोपाल दास श्रेष्ठ बैंकिङ्ग कसुर मुद्दामा पक्राउ

    काठमाडौं । न्युरोडमा सहकारी सञ्चालन गरी बचतकर्ता र केही उद्योगी व्यापारीहरूको रकम हिनामिना गरी ठगी गरेको आरोपमा कर्णप्रिय सहकारीका अध्यक्ष गोपाल दास श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतको पक्राउ पुर्जिमा महानगरीय प्रहरी वृत्त जनसेवाले श्रेष्ठलाई आज पक्राउ गरेको हो । बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले बताएको छ । 
    श्रेष्ठले विगत केहिवर्षदेखि कर्णप्रिय सहकारी सञ्चालन गर्दै आएका छन् ।  काठमाडौं महानगर पालिका वडा नं २२ इन्द्रचोकमा विगत लामो समयदेखि सहकारी संचालन गर्दै आएका थिए ।

    तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको तेस्रो चौमासिक (माघ–चैत)का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत खर्च भएको छ ।

     

    चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएकामा तेस्रो चौमासिकमा शून्य खर्च भएको मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्षमा चालुतर्फ ३७ दशमलव ४६ प्रतिशत र पूँजीगततर्फ शून्य दशमलव १४ प्रतिशत गरी जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

    काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

    काठमाडौँ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गर्नुभयो । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स–¥याकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ ।

    सरकारको आन्तरिक ऋणमा दुई तिहाई बढी विकास ऋणपत्रको हिस्सा

    काठमाडौं । सरकारको आन्तरिक ऋणमा दुई तिहाई बढी विकास ऋणपत्रको रहेको छ ।हाल सरकारको कुल आन्तरिक ऋण करिब १२ खर्बमा विकास ऋणपत्रको  हिस्सा ६५ प्रतिशत देखिएको हो ।

    सरकारले आन्तरिक ऋणका लागि ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाका साथै सर्वसाधारणबाट ऋण उठाउदै आएको छ ।

    यी चार वित्तीय औजार मार्फत सरकारले लिएको ११ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋणको बक्यौता छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्ममा सरकारले एक खर्ब ७६ अर्ब अन्तरिक ऋण थप गरेको छ । सरकारले लिएको आन्तरिक ऋण मात्रै कुल ग्राहस्थ उत्पादनको करिब २२ प्रतिशत हो ।

    आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीबीच उर्जा परियोजना विकासमा साझेदारी गर्ने सम्झौता

    काठमाडौं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीबीच नेपालका उर्जा परियोजना विकासमा साझेदारी गर्ने सम्झौता भएको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पीटी पीएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजा बीच सहकार्य गर्न समझदारीमा हस्ताक्षर भएको हो ।

    नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी  हो । नवीकरणीय ऊर्जाको नेपालमा सम्भाव्यताबारे थप अध्ययन अनुसन्धान गर्ने गरी यो सम्झौता भएको छ । यो कम्पनीले आफ्नो सेवा विस्तार सिंगापुर, मलेसिया, कुवेत , चीन र साउदी अरबमा गरिसकेको छ । आईएमई ग्रुपले जलविद्युत, बैंकिङ, बीमा,  पर्यटन पूर्वाधार  र सूचना प्रविधिका क्षेत्रहरूमा लगानी विस्तार गरिरहेको छ ।

    कागबेनीमा बस कलेजको बस दुर्घटना, २१ घाइते

    म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।  काठमाडौँबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा आज बिहान करिब ९ बजे कागबेनीमा दुर्घटना भएको थियो । 

    सडकको घुम्तीको ओरालोमा दुर्घटनामा परेको बसमा सवारमध्ये १४ जना पुरुष र सात महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बसमा चालकसहित ३० जना सवार रहेका थिए । दुर्घटनामा परेर घाइते भएकालाई स्थानीयबासी, जनप्रतिनिधि र प्रहरीले उद्धार गरी मुस्ताङ जिल्ला अस्पताल पु¥याएका छन् ।

    धनगढीले चालु आवका नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन

    अत्तरिया । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आव २०८०÷८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त राजस्व सङ्कलन गरेको हो ।

     

    आयकरबाट रु एक अर्ब एक करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट रु ६२ करोड १० लाख, अन्तःशुल्कबाट रु १० करोड ५६ लाख, ब्याजबापत रु तीन करोड ७० लाख, बहाल करबाट रु ९१ लाख र स्वास्थ्य सेवा करबाट रु एक लाख राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

    काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गर्नुभएको छ ।

    उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ । यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको छ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषी, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    भरतीय योगगुरु बाबा रामदेवका पतञ्जली ब्रान्डका उत्पादन प्रतिबन्धित

    काठमाडौं । भारतीय योग गुरु बाबा रामदेवका  पतञ्जली ब्रान्डका एक दर्जनभन्दा बढी उत्पादनमा प्रतिबन्ध लगाइएको छ ।पतञ्जलीको दिव्य फार्मेसीसँग सम्बन्धित भ्रामक विज्ञापनले उनका कम्पनीको उत्पादनहरूमा  प्रतिबन्ध लगाइएको हो । यो जानकारी उत्तराखण्डको लाइसेन्सिङ प्राधिकरणले सर्वोच्च अदालतमा दायर गरेको शपथपत्रमा उल्लेख गरेको हो ।

    प्राधिकरणका अनुसार पतञ्जलीका १४ उत्पादनको लाइसेन्स तत्काल प्रभावबाट निलम्बन गरिएको छ ।प्रतिबन्ध लगाइएका दिव्य फार्मेसीका उत्पादनहरूमा श्वसरी गोल्ड, श्वसरी वटी, दिव्या ब्रोन्कोम, श्वासरी प्रवाही, श्वसरी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट गोल्ड, आइग्रिट र पतञ्जली दृष्टि आई ड्रपर रहेका छन् ।

    लगानी सम्मेलनमा विभिन्न देशका कम्पनीहरुले नेपालका कैयौँ क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता

    काठमाडौ.। सरकारले आयोजना गरेको एउटा बृहत् सम्मेलनमा विभिन्न देशका कम्पनीले नेपालका कैयौँ क्षेत्रमा लगानीको प्रतिबद्धता जनाएको र केही सम्झौता पनि भएको अधिकारीहरूले बताएका छन्।काठमाण्डूमा आयोजित दुई दिने लगानी सम्मेलनमा त्यस्ता प्रतिबद्धताहरू जनाइएको उनीहरूको भनाइ छ।

    अर्थमन्त्री वर्षमान पुनले सम्मेलन "भव्य रूपमा सफल भएको" र लगानीकर्ता एवं साझेदारहरूको उपस्थितिले आफूहरू "उत्साहित बनेको" बताएका छन्।कतिपय अर्थशास्त्रीले भने यस्ता सम्मेलनमा जनाइने प्रतिबद्धताको खासै अर्थ नरहेको र "देखावटी रूपमा गरिने यस्ता कार्यक्रमले लगानी भित्र्याउन मद्दत गर्ने सम्भावना कम रहेको" भन्दै आलोचना गरेका छन्।नेपालमा लगानी बोर्ड गठन भएपछिको यो तेस्रो लगानी सम्मेलन हो र सम्मेलनमा झन्डै पाँच दर्जन देशबाट सहभागीहरू आएको अधिकारीहरूले बताएका छन्।

     
     
     

     

     

     

     
     
     
     

     

     
     
     
     
     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस