काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २१ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन्: अर्थमन्त्री पुन
काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताउनुभएको छ । अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताउनुभयो ।
आज अर्थमन्त्रालयमा आयोजित युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँगको पूर्वबजेट छलफलका क्रममा अर्थमन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाउनुभयो । राजस्वका दरहरु हेरफेर गर्दा सरोकारवालाहरुसँग परामर्श गरी आएका सुझावका आधारमा निर्णयमा पुगिने उहाँको भनाइ थियो ।
“विगतमा करका दर घटाउने, बढाउने, विस्तार गर्ने, छुट दिने वा जे गर्दा पनि अर्थमन्त्री वा अर्थ मन्त्रालयलाई विवादमा पार्ने गरिएको छ”, मन्त्री पुनले भन्नुभयो, “मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका अधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन । यो हाम्रो प्रतिबद्धता हो ।” करका दर संशोधन गर्दा पहिले कति थियो र आर्थिक ऐनमार्फत् किन बढाइयो वा घटाइयो भनेर तर्कपूर्ण कारण देखाएरमात्र हेरफेर गरिने उहाँको स्पष्टोक्ति थियो ।
बुद्धभूमि नेपाल हाइड्रोले हकप्रद जारी गर्न , विद्युत नियमन आयोगसँग माग्यो अनुमति
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगसँग पूर्व स्वीकृति मागेको छ । कम्पनीले १५० प्रतिशत अर्थात् १ः१.५ अनुपातमा ६० लाख कित्ता हकप्रद जारी गर्न आयोगसँग स्वीकृति मागेको हो ।हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत
काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् । नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेका विकास ऋणपत्र २०८८ ‘ज’, २०८८ ‘झ’ र २०८६ ‘ड’ शुक्रबार नेप्सेमा सूचीकृत भएका हुन् ।
यो वर्ष सिंगटी हाइड्रोको खुद नोक्सानी ६ करोडभन्दा बढीले घट्यो
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिंगटी हाइड्रो इनर्जी लिमिटेड ३ करोड २१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । यस वर्ष कम्पनीले खुद नोक्सानी ६ करोड ११ लाख रुपैयाँभन्दा बढीले घटाएको हो ।
कुल आम्दानी यस वर्ष ३ दशमलव ३४ प्रतिशत बढेको कम्पनीको कुल खर्च ७ दशमलव ३३ प्रतिशत कम भएको छ । यस वर्ष कम्पनीले ५२ करोड ५९ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो भने ५५ करोड ८० लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको हो । विद्युत् विक्री गरेर मात्र कम्पनीले ५३ करोड ७२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ छ । शेयर प्रिमियममा यस वर्ष २५ करोड ११ लाख रुपैयाँभन्दा बढी रकम कायम भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने ,बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत अर्थात १:०।२७ को अनुपातमा प्रतिशेयर १ सय रुपैयाँ दरको १,करोड ६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्री गर्न लागेको हो । जसका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छन् ।
आज सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम २५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
सुनको मूल्य रु एक हजार एकले घट्यो , प्रतितोला रु एक लाख ३५ हजार चार सय रुपैयाँ
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।रासस
अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाही गरिने जनाएको छ । प्राधिकणले आज एक विज्ञप्ति जारी गर्दै हिजो बिहीबार केही इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको र विद्यमान कानुनको उल्लङ्घन हुनेगरी अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरेमा कारबाही गरिने जनाएको हो ।
प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी तथा सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द
अबुधाबी ।संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ ।
असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ ।
संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुन्तला चेतावनी जारी गरिएको थियो । पछिल्लो केही दिनदेखि युएईले अस्थिर मौसमी लहरका लागि तयारी गरिरहेको छ ।
वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ ।
वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रुपमा श्वास प्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या हुने गर्दछ ।
यसले विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी, साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले सबैमा अपिल गरेको हो ।
सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने
काठमाडौं । सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ ।
विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।
विश्व बैंक नेपालको सबैभन्दा ठूलो विकास साझेदारमध्ये एक हो ।
बजेटमा करका दर हेरफेर कसेलाई फाइदा पुग्ने गरी नगरिने अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर कसेलाई फाइदा पुग्ने गरी नगरिने बताएका छन् ।बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पुनले यस्तो बताएका हुन् ।
राजश्वका दरहरु हेरफेर गर्दा सरोकारवालाहरुसँग परामर्श गरी उनीहरुका सुझावका आधारमा निर्णयमा पुगिने बताउँदै उनले भने ‘करका दर घटाउने, बढाउने, विस्तार गर्ने वा छुट दिने जे गर्दा पनि विगतमा अर्थमन्त्री वा अर्थ मन्त्रालयलाई विवादमा पार्ने गरिएको छ । मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका अधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन भन्ने हाम्रो प्रतिबद्धता हो ।’
नयाँ नक्शा सयको नयाँ नोटमा राख्ने निर्णय
काठमाडौं ।नेपालको नयाँ नक्सा १०० रुपैयाँको नोटमा राखिने भएको छ । नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न लागिएको हो ।यो निर्णय मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकबाट गरिएको हो ।
६ जना सचिवको सरुवा
काठमाडौं । ६ जना सचिवको सरुवा गरिएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
बिहीवार बसेको मन्त्रिपरिषद बैठक अनुसार सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई लगिएको छ ।
मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवद्र्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवद्र्धनलाई सँगसँगै अघि बढाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनलाई आज सम्बोधन गर्दै मन्त्री शर्माले विगत ६ वर्षदेखि बढ्न नसकेको श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिको प्रस्ताव मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको बताउनुभयो ।
जापान पठाइदिने प्रलोभन दिएर २ सयभन्दा बढी मानिसहरूलाई ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले जापान पठाइदिने प्रलोभन दिएर २ सयभन्दा बढी मानिसहरूलाई ठगी गर्ने दुई जनालाई नेपाल पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।
उनीहरूले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको जनाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेको बताए । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको एसएसपी भट्टराईले बताए ।
एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन् ।
कार्ड जारी भएसँगै बीमितले पाउने स्वास्थ्य उपचार सेवा सुरु हुने स्वास्थ्य बीमा कार्यक्रमका स्थानीय स्रोत व्यक्ति कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं २६ लैनचौर, वडा नं १४ कलङ्की, वडा नं १९ कङ्केश्वरी र वडा नं ३० ज्ञानेश्वरका स्वास्थ्य प्रवद्र्धन केन्द्र बीमा बोर्डमा सूचीकृत छन् ।
मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिनुहुने भएको हो ।
बैंकको ब्याजदर आफ्नो कार्यकालमा घटेर अर्थतन्त्र सुधारोन्मुख भएको प्रधानमन्त्री प्रचण्डको कथन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर आफ्नो कार्यकालमा घटेको बताएका छन् । आफ्नै सक्रियताले अर्थतन्त्रमा सुधार हुँदै गएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । शुक्रबार नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनमा उनले यस्तो बताए ।
वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याई लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु विस्तारै सकारात्मक दिशातिर अघि बढेको बताए ।
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।
यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार हुनेछ ।बैंकले आफ्नो स्थापनाकाल देखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषण विरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।