Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु


नया सडक

२०८१, वैशाख २५ मंगलबार

  • 498
    Shares

  • भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु

    नयाँदिल्ली । भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ । 

    तेस्रो चरणमा आसामका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्यप्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बंगाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवं दामनका २ स्थानमा चुनाव हुँदैछ । 

    यस चरणमा १२० जना महिला सहित एक हजार ३०० उम्मेदवार चुनावी मैदानमा छन् । करिब १७ करोड मतदाता आजको निर्वाचनमा सहभागी हुँदैछन् जसका लागि १ लाख ८५ हजार मतदान स्थल रहेको आयोगको भनाई छ । 

    आजका लागि तय भएको जम्मु काश्मिरको अनन्तनाग–रजौरीको निर्वाचन स्थगित गरिएको र उक्त निर्वाचन आगामी मे २५ का लागि तय भएको निर्वाचन आयोगले जनाएको छ । 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदाबादस्थित निशान माध्यमिक विद्यालयको मतदान स्थलमा आज मतदान गर्नुभयो । यसअघि प्रधानमन्त्री मोदीले आमजनतालाई तेस्रो चरणको मतदानमा सक्रिय र व्यापक रुपमा सहभागी हुन आह्वान गर्नु भएको छ । 

    तेस्रो चरणको यस निर्वाचनमा केन्द्रीय गृहमन्त्री अमित शाह, मध्यप्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान र दिग्बिजय सिंह, मन्त्रीहरु ज्योतिरादित्य सिन्दिया, मनसुख मान्डविय, समाजवादी पार्टीकी नेतृ डिम्पल यादव, भारतीय कम्युनिष्ट पार्टीका नेता सुप्रिया सुले समेतका नेताहरु चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

    यसअघि सन् २०१९ को चुनावमा आज भइरहेका ९३ स्थानमध्ये भारतीय जनता पार्टीले ७२ स्थानमा जित हासिल गरेको थियो । 

    आजको तेस्रो चरणको निर्वाचनपछि भारतीय लोकसभाको कूल सिट ५४० मध्ये आधामा मतदान सम्पन्न हुनेछ । 

    सात चरणमा भइरहेको भारतको लोकसभाको निर्वाचन गत अप्रिल १९ तारिखबाट सुरु भएर आगामी जुन १ तारिखमा सम्पन्न हुँदैछ । 

    यस चुनावमा प्रधानमन्त्री मोदीको नेतृत्वको भारतीय जनता पार्टीले लगातार तेस्रो पटक विजय हासिल गर्नेगरी प्रचार गरिरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस