Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने


नया सडक

२०८१, वैशाख २८ शुक्रबार

  • 684
    Shares

  • स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने

    काठमाडौँ । बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई यस वर्ष व्यवस्थित बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा भीड व्यवस्थापन गर्ने भएको हो ।

    स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गर्न लागेको काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

    महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिले मन्दिर आसपासका अस्थायी पसल हटाउने, माग्न र दान गर्न निषेध गरेको छ । भीड व्यवस्थापनका लागि जथाभावी भोजन दान गर्न नपाइने र तोकिएको स्थानबाट मात्र दान गर्नुपर्ने नियम बनाइएको छ ।

    थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट करिब दुई लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिका महासचिव अशोक बुद्धाचार्यले जानकारी दिनुभयो । आगामी जेठ १० गते वैशाख पूर्णिमा तथा बुद्ध जयन्ती परेको छ ।

    स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्त प्रमुख पूर्णिमा चन्दले उक्त मेलामा आउने भक्तजन तथा सर्वसाधारणको सुरक्षालाई दृष्टिगत गर्दै  सुरक्षाकर्मी थप गरिएको बताउनुभयो । उहाँले सडकको ट्राफिक जाम व्यवस्थापन गर्न त्यस क्षेत्रमा सवारीसाधन निषेध गरी वैकल्पिक सडकको प्रबन्ध गरिने बताउनुभयो ।

    यसवर्ष महायानी धर्मावलम्बीले साकादावा पर्व सोही दिन मनाउने भएकाले दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । महायानी परम्पराअनुसार साकादावा पर्वलाई पवित्र महिनाका रुपमा लिइन्छ ।रासस

    प्रतिक्रिया दिनुहोस