Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ७ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 675
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ७ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  जेठ ७ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    शेयर बजार : नेप्से परिसूचक २७.५४ बढेर  २०९२ विन्दुमा ,५ अर्ब ८५ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २७.५४ बढेर  २०९२ विन्दुमा आएको छ । आज ५ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ४ कम्पनीमा सकारात्मक सर्किट लागेको हो । १३ मध्ये ८ समूहका सूचक बढेको छ ।
    यस दिन ३१५ कम्पनीको १ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र फस्ट माइक्रोफाइनान्स परेका छन् ।

    अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

    युनाईटेड इदी मर्दीको २ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत

    काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा युनाईटेड इदी मर्दी एण्ड आर.वि हाइड्रोपावरको  लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको २ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।कम्पनीले गत फागुन १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    सूर्योदय वोमी लघुवित्तको १ लाख ५० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५० हजार ८०१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।  इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

    आवेदन कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी, ललितपुरमा वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी , नक्सालमा पेश गर्नुपर्नेछ ।

    आज फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १ लाख २० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९जेठ ७ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

    यसमा न्यूनतम ३१५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक ५.४२ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.४२ विन्दुले बढेको छ । यससँगै सूचक २०६९.८८ अंकमा आएको छ । २० लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५५ कम्पनीको ३ हजार ३ सय ५६ कित्ता सेयर कारोबार भएको छ ।

    को को जुध्न आउने हो,आए हुन्छ, कसैलाई बाँकी छाडिदैन -मेयर बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको चेतावनीसँगै फोहोरको गाडी चलाउने चालक स–सम्मान रिहा भएका छन् । फोहोर बोक्ने सवारीका चालकहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरूलाई रिहा नगरेसम्म सिंहदरबार, पार्टी कार्यालय र नेताका घरबाट फोहोर नउठाउने  चेतावनी मेयर साहले दिएका थिए ।

    मेयर बालेन लेख्छन्, 'भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स(सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छाडिदैन"

    देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्

    काठमाडौँ ।मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ । 

     

    स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा गरेको ‘नेपालका सार्वजनिक स्वास्थ्य संस्थामा बायोमेडिकल उपकरणको सर्वेक्षण’ सार्वजनिक कार्यक्रममा इन्टरप्राइजेजका अध्यक्ष अञ्जली टिवरिवालले दुई हजार छ सय ४५ स्वास्थ्य उपकरण अझै जडान नगरिएको जानकारी दिनुभयो ।

    तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

    काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा रु १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियोभने रु एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो ।

     

         विभागका अनुसार चालु आवको १० महिनामा रु १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ ।

    भारतसँगको व्यापार घाटा चीनसँगको  व्यापार घाटा भन्दा  तीन गुना बढी

    काठमाडौं । नेपालको कुल व्यापार घाटाको ८३ प्रतिशत हिस्सा भारत र चीनको रहेको छ । भारतसँगको व्यापार घाटा चीनसँगको तीन गुना रहेको छ ।

    ११ खर्ब ७७अर्ब १८करोड ३४लाख ९१ हजार ००० मा भारतको ७खर्ब २९ अर्ब ७ ०करोड ५७लाख  ४हजार   रहेको छ भने चीनको २ खर्ब ३८अर्ब ५५करोड ७७ लाख ९१ हजार  रहेको छ ।

    यस अधारमा भारतसँगको व्यापार घाटा कुल व्यापार घाटाको ६१ ।९८ रहेको छभने चीनसँगको व्यापार घाटा २० .२६ प्रतिशत रहेको छ ।अन्य बाँकी देशहरूसँगको व्यापार घाटा कुल व्यापार घाटाको १८ प्रतिशत रहेको छ ।

    दश महिनाको व्यापार घाटा साढे एघार अर्ब बढी

    काठमाडौं ।चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैया भन्दा बढी भएको छ । चालु आव  २०८०÷८१ को दश महिना साउनदेखि बैशाखसम्म मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ नाघेको  भन्सार विभागले जनाएको हो ।]

    विभागको प्रतिवेदन अनुसार गत चैत महिनासम्म खर्ब १० अर्ब ५३ करोड ४२ लाख रुपैयाँ व्यापार घाटा रहेकोमा पछिल्लो महिना मात्रै व्यापार घाटा १ खर्ब २४ अर्बले बढेको हो ।

    वैशाखसम्म मुलुकले व्यहोरेको व्यापार घाटा गत आवको सोही अवधिको भन्दा २.२६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा नेपालले १२ खर्ब ४ अर्ब ४२ करोड व्यापार घाटा व्यहोरेको थियो ।

    खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित

    कोलम्बो ।तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । 

    केन्द्रका उपनिर्देशक तुसिथा वैद्यरत्नले सोमबार भन्नुभयो, “भारी वर्षा र प्रतिकुल मौसमका कारण सोमबार बिहानसम्म तीन हजार ५१८ परिवारका १० हजार २९९ जना प्रभावित भएका छन् ।”

    मौसमी प्रतिकुलताका कारण केही व्यक्ति घाइते भएका र केही घरमा आंशिक क्षति भएको वैद्यरत्नले बताउनुभयो । घाइतेहरूको उपचारका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

    दक्षिणपश्चिम मनसुन सुरु भएको कारण भारी वर्षा र तीव्र हावा आएको जनाउँदै मौसम सुधार हुन अझै केही समय लाग्ने उहाँले बताउनुभयो ।

    इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना

    तेहरान । इरानी उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त इरानी राष्ट्रपति इब्राहिम राइसी चढेको हेलिकोप्टर सोमबार विहान भेटिएको छ । 

    हेलिकप्टरमा अहिलेसम्म जीवनको कुनै सङ्केत फेला नपरेको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

    आइतबार पूर्वी अजरबैजान प्रान्तको आकाशबाट उहाँ र विदेशमन्त्री हुसेन अमिर अब्दोल्लाहियानसहित अन्य व्यक्तिसँगको सम्पर्क टुटेको थियो । 

    विमान हराएको करिब १५ घण्टापछि सरकारी टेलिभिजनद्वारा प्रशारित समाचारमा भनिएको छ, “हेलिकप्टर फेला परेको तर हेलिकप्टरका यात्रुहरू जीवितै रहेको कुनै सङ्केत देखिएको छैन ।”

    इरानको रेड क्रिसेन्टका प्रमुख पिरहुसेन कूलिभान्डले भन्नुभयो, “विमानलाई फेला पारेपछि उद्धार टोली घटनास्थलतर्फ गइरहेको छ ।”

    साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

    ढोरपाटन (बागलुङ)।  बागलुङको जैमनी नगरपालिका–१ जैमिनीधामबाट पर्वतको फलेबास नगरपालिकाको देवीस्थान जोड्ने मोटर गुड्ने पुल अलपत्र परेको छ । विसं २०७३ असोज ९ गते ३० महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो ।

    कालीगण्डकी नदीमाथि बन्न थालेको एक सय मिटर लामो मोटर गुड्ने पुल रसुवा/श्री गीता/फेवा जेभीले पटकपटक म्याद थप गरे पनि हालसम्म काम पूरा गर्न सकेको छैन । पुल निर्माणका लागि रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ को लागतमा सम्झौता भएको थियो । आठ वर्षसम्म पनि पुल नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

    निर्माण कम्पनीले निर्धारित समयमा काम गरेको भए विसं २०७६ असारमा बनिसक्ने थियो । अझै पुलको तीन खण्डमध्ये एक खण्डको ढलान हुनै बाँकी रहेको जिल्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म पुलको भौतिक ८२ र वित्तीय ८६ प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म सक्ने उहाँको भनाइ छ ।

    राष्ट्रिय वाणिज्य बैंकको सीईओ छान्न ५ जना छनौट सूचीमा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दिएका आवेदकहरू मध्येबाट पाँच जनाको नाम छनोट सूची (सर्ट लिस्ट)मा परेका छन् । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले छानेका उत्कृष्ट पाँच उम्मेदवारहरूमा कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् ।बैंकका उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीले जानकारी सार्वजनिक गरे अनुसार बैंकको सीईओ पदका लागि २० जनाले आवेदन दिएका थिए ।
    छनोटमा परेका ५ जना उम्मेदरवारलाई आगामी जेठ ९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको छ ।

    लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो विराटनगरमा सेवा विस्तार

    काठमाडौ । लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न।७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ कि।मि। उत्तरतर्फ सोही महानगरपालिकाको वडा न। ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको छ ।  स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नुहुनेछ ।

    स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानतरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

    प्रधानमन्त्रीलाई विश्वासको मत,प्रस्तावको पक्षमा एक सय ५७ मत

    काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको छ ।

    आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ । 

     

    मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ कम्पनीले मझौला र ठूला क्षमताका आयोजना निर्माणका लागि आवश्यक प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ । 

     

    कम्पनीले अर्ध जलाशयुयुक्त प्रकृतिको चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीसँग मिलेर अगाडि बढाउन लागेको छ । सो आयोजना अगाडि बढाउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को २०७९ जेठमा भएको भारत भ्रमणका क्रममा भएको हो ।

    सुनको मूल्यमा अर्को नयाँ रेकर्ड , प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ

    काठमाडौं ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर १९ सय ३० रुपैयाँ कायम भएको छ ।

    बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन

    कलैया बारा ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आवको साउनदेखि वैशाखसम्मका १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार तीन सय सवारीसाधनलाई कारबाही गरी रु दुई करोड ४३ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । 

    त्यस अवधिमा सहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी एक सय ९२ सवारीसाधन दुर्घटना भएका थिए । महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमसम्बन्धी प्रयोगात्मक अभ्याससहित चेतनामूलक कार्यक्रमसमेत संचालन गरिएको बताउनुभयो ।

    काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु

    काठमाडौँ । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।

    काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।”

    उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुईरतीन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

     
     
     

     

     
     
     
     
     
     
     
     
     
     
     

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस