Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

राजस्व अनुसन्धान विभागका महानिर्देशकको ध्यान भन्सार जाँचपास भएर छुटेका मालवाहक गाडीमा , महानिर्देशकद्वारा अदृश्य शक्ति परिचालनको हल्लाले बजार त्रसित


नया सडक

२०८१, जेठ ८ मंगलबार

  • 1.8k
    Shares

  • राजस्व अनुसन्धान विभागका महानिर्देशकको ध्यान भन्सार जाँचपास भएर छुटेका मालवाहक गाडीमा , महानिर्देशकद्वारा अदृश्य शक्ति परिचालनको हल्लाले बजार त्रसित

    काठमाडौं । राजस्व अनुसन्धान विभागको कमाण्ड सम्हालेको तीन साता नपुग्दै महानिर्देशक चक्रबहादुर बुढा राजस्व चुहावट रोक्न आक्रामक देखिएका छन् ।महानिर्देशक बुढाको सुरुवाती कार्य भन्सार जाँचपास भएर छुटेका मालवाहक गाडीहरूले राजस्व चुहावट गरे नगरेको हेर्नबाट भएको हो ।

    अहिले राजस्व अनुसन्धान विभाग प्राङ्गणदेखि बाहिरसम्म विभिन्न भन्सार कार्यालयहरूबाट भन्सार जाँचपास भएर आएका कन्टेन्टरहरूको लाइन लागेको छ ।एकै फर्मका पाँच ओटासम्म मालवाहक गाडीहरू राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन् ।
    विशेषगरी रसुवा, सुख्खा बन्दरगाह , बिराटनगर, भैरहवा, वीरगञ्जलगायतका भन्सार कार्यालयबाट छुटेका मालवाहक सवारी साधनहरू राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन् । विभागले ती सवारी साधनहरूमा लोड गरिएका मालवस्तुहरूको मूल्यांकन , परिमाण तथा गुणस्तरसमेतको पुनः जाँच गर्नेछ र राजस्व चुहावट गरेको ठहरिए जरिवाना तिराउनेलगायतका अन्य कारबाही प्रक्रिया अगाडि बढाउनेछ । 

    महानिर्देशकद्वारा अदृश्य शक्ति परिचालनको हल्लाले बजार त्रसित

    २०८१ बैशाख २४गतेदेखि राजस्व अनुसन्धान विभागको कमाण्ड सम्हालेका चक्रबहादुर बुढाले राजस्व अनुसन्धान विभागको अफिसियल च्यानल  भन्दा बाहेकको इनभिजिबल नेटवर्क बनाएको हल्लाले अहिले बजार त्रसित बनेको छ । विभागको महानिर्देशकको कमाण्ड सम्हालेको केही दिनमा नै उद्योगी /व्यापारीहरूसँग भेटघाट तीव्र पारेका बुढाले अब राजस्व चुहावट नियन्त्रण गर्न कस्तो योजना बनाउने र त्यसको प्रभाव कस्तो हुने त्यो भने हेर्न बाँकी नै छ ।

    महानिर्देशक बुढाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)ऐन २०५२ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७० तथा विदेशी विनिमय(नियमित गर्ने) ऐन २०१९को मर्म अनुसार कार्य गर्ने छन् कि छैनन त्यो भने हेर्न बाँकी नै छ । यद्यपि, अनुसन्धान विभाग सम्हालेलगत्तै सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न विभिन्न टुल्स प्रयोग गर्नुको सट्टा भन्सार चेकजाँच भएर आएका मालवाहक सवारी साधनमा बुढाको  आँखा जानुलाई सकारत्मक मान्न सकिन्न ।

    अर्बौँ राजस्व गुमाएको क्षेत्रहरूमा विभागको अन्यौलता 

    राजस्व अनुसन्धान विभागको उद्देश्य भनेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)ऐन २०५२ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७० तथा विदेशी विनिमय(नियमित गर्ने) ऐन २०१९ र नियमहरू २०२० बमोजिम  राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार विभागलाई दिइएको छ । यद्यपि विभागले राजस्व चुहावट भइरहेका क्षेत्रमा खासै ध्यान दिन सकेको छैन् । विभाग सहजरुपमा गर्न सकिने र हुने काममा  अल्मलिएको छ । राजस्व गुमाइरहेका क्षेत्रहरू, अपारदर्शी घरजग्गा कारोबार, कानुनी दायरामा पूर्णरुपमा समेटन नसकिएको र आउन नसकेको अनलाइन व्यापार, भन्सार चोरी तस्करी, अनौपचारिक अर्थतन्त्रलगायतका क्षेत्रमा राजस्व अनुसन्धान विभागले गहिरो अनुसन्धान गर्न सकेको छ्रैन् ।
     विभागमा आउने नयाँ महानिर्देशकको परम्परा

    २०५०सालदेखि अर्थ मन्त्रालय अन्तर्गत रहेको राजस्व अनुसन्धान विभाग मिति २०७४ फागुन १३ गतेको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको छ । विभागमा २०७४ पछि आउने महानिर्देशकहरूको सुरुवाती काम भन्सार जाँचपास भएर आएका मालवाहक सवारी साधनहरूमा पर्दै आएको छ ।

    यसअघिका महानिर्देशकहरू नारायणप्रसाद सापकोटा , प्रकाश पौडेल, मदन दाहाल, झलकराम अधिकारी र नवराज ढुंगानाको  समेत सुरुवाती काम भन्सार जाँचपास भएर आएका मालवाहक सवारी साधनहरूको अनुगमनबाट भएको थियो ।अहिलेका महानिर्देशक बुढाले त्यसैलाई निरन्तरता दिँदै भन्सार चेकजाँच भएर आएका मालवाहक गाडीहरूमा ध्यान दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस