Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

होटल व्यवसायीहरूद्वारा बजेटको स्वागत


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 579
    Shares

  • होटल व्यवसायीहरूद्वारा बजेटको स्वागत

    काठमाडौं । होटल व्यवसायीहरूले अर्थमन्त्री वर्षमान पुनद्वारा सार्वजनिक बजेटको स्वागत गरेका छन् ।   होटल संघ नेपालले सरकारले आगामी आर्थिक वर्षका लागि घोषणा गरेको बजेटको  स्वागत गरेको  हो ।

    संघले बुधबार विज्ञप्ति जारी गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले गरेको बजेट भाषणमा पर्यटन क्षेत्रका केही विषयहरु सम्बोधन भएकोमा स्वागत गरेको जनाएको छ । 

    २०८१/८२ को राष्ट्रिय वार्षिक बजेटले निर्धारण गरेको विकासका पाँच रुपान्तरणकारी मुख्य क्षेत्रहरूमा   छिटो आर्थिक समृद्धि दिन सक्ने   क्षेत्रको रूपमा  पर्यटन क्षेत्रलाई पहिचान गरी प्राथमिकता राखेको छ ।

    सो  घोषणामा कार्यक्रमहरुको कार्यान्वयन निजी क्षेत्रको प्रचुर सहभागिता र अग्रसरताबाट हासिल गर्ने सरकारी रणनीतिको विषय  
    स्वागतयोग्य रहेको होटल संघ नेपालले जनाएको छ ।

    संघको प्रेस वक्तव्यमा सातै प्रदेश समिटिने गरी प्रमुख पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने गतिविधि अवधारणा उल्लेखनीय रहेको संघले जनाएको छ । व्यापक पर्यटकीय सम्भावना बोकेको भारत र चीनसँगको क्रस बोर्डर पर्यटन विकासका लागि घोषित बुद्ध, शिव, रामायण परिपथ र सीमाबाट नेपालका प्रमुख तीर्थस्थलसम्म सीधा बस सेवा, सीमा क्षेत्रमा पर्यटकलाई एकद्वार सेवा प्रदान गर्ने घोषणा उपयुक्त रहेको संघले जनाएको छ ।

    मध्यपहाडी लोकमार्गमा टाकुरा पर्यटन हिल स्टेसन विकास गर्ने, होटल रिसोर्ट सञ्चालनका लागि जग्गा लिजमा दिने , ग्रेटर हिमालयन, मुन्धुम र गुरिल्ला ट्रेल व्यवस्थित गर्ने बजेटको योजना सकारात्मक रहको छ ।

    सगरमाथा एवं विश्व प्रख्यात हिमशृङ्खलाप्रति विश्वव्यापी अत्यधिक आकर्षण र मोह रहीआएको सन्दर्भमा नेपाली पर्यटनलाई थप लाभ लिन बजेटले घोषणा गरेको हिमालयन रिसोर्स सेन्टरको अवधारणा सराहनीय रहेको र यसबाट पर्या पर्यटन, साहसिक पर्यटनलगायतका गतिविधि गर्न धेरै खर्च गर्न सक्ने अन्तर्राष्ट्रिय पर्यटकहरुको ठूला ठूला समूह भित्राउन निजी क्षेत्रलाई अग्रसर गर्ने योजना समय सापेक्ष रहेको संघको बुझाइ छ ।

     जनकपुर केन्द्रित वेडिङ डेस्टिनेसन गतिविधि र लुम्बिनीमा बर्थिङ हब बनाउने बजेटको घोषणा उपयुक्त रहेको उल्लेख गर्दै होटल संघ नेपाल स्वयम्ले नै यस योजना कार्यान्वयनमा गर्दै आएको पहलमा आगामी दिनमा अझ सक्रियता बढाउने जनाएको छ । बजेटले घोषणा गरेको सबै प्रदेशमा सञ्चालन गरिने मास्टर किचेनको प्रभावकारी सञ्चालनमा होटल संघ नेपालले आफ्नो अनुभव र दक्षता उपलब्ध गराउने पनि जनाएको छ ।

    चालु आवको बजेटमा लगाइएको २ प्रतिशत विलासिता   कर तथा हवाई भाडामा लगाइएको १३ प्रतिशत भ्याटबाट नेपाल गन्तव्य झन महँगो हुने भई पर्यटक आगमनमा कमीआउने सन्दर्भमा यस २०८१/८२ को बजेटमा उक्त विषय हटाउने सरकारको आश्वासन तथा विश्वास व्यक्त भएको तर उक्त विषयलाई निरन्तरता दिएको प्रति होटल संघ नेपालको ध्यानाकर्षण भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस