Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

भन्सार कार्यालयमा त्रुटिपूर्ण रूपमा थोरै कर तिरेमा बाँकी तिर्नुपर्ने दायित्व व्यवसायीकै हुने सर्वोच्चको व्याख्या

भन्सार कार्यालयमा त्रुटिपूर्ण रूपमा थोरै कर तिरेमा बाँकी तिर्नुपर्ने दायित्व व्यवसायीकै हुने सर्वोच्चको व्याख्या

  • काठमाडौं । सर्वोच्च अदालतले भन्सार कार्यालयबाट त्रुटिपूर्ण रूपमा कम राजस्व तिरेर सामान आयात भएको भए बाँकी रहेको कर तिर्नुपर्ने दायित्व सम्बन्धित व्यवसायीकै हुने  व्याख्या गरेको छ ।लेखापरीक्षणबाट बेरुजु देखिएको भन्सार राजस्व तिर्नुपर्ने दायित्व कसको हुने विषयमा भएको  विवादको निरूपण गर्दै सर्वोच्च अदालतले सम्बन्धित कर अधिकृतले उद्योगी/व्यवसायीबाट कर असुल्नुपर्ने भनी व्याख्या गरेको हो ।

    सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘कुनै मालवस्तुको पैठारी गर्दा कर तिर्ने दायित्व पैठारीकर्तामा नै रहने भएकाले लेखापरीक्षणमा बेरुजु जनिएपश्चात उक्त बेरुजु तिर्ने बुझाउने दायित्व पैठारीकर्तामा नै रहने देखिन्छ ।’

    आदर्श पोलिप्लास्टिक प्रालिले प्लास्टिकका सामान उत्पादनका लागि आवश्यक पर्ने क्याल्सियम कार्बाेनेट नाममा कच्चापदार्थ ल्याएको थियो । भन्सार कार्यालयले १० प्रतिशत भन्सार महसुल मात्रै लियो ।

    महालेखा परीक्षकको कार्यालयका लेखापरीक्षकहरूले वीगञ्ज भन्सार कार्यालयमा गएर लेखापरीक्षण गर्दा भन्सार अधिकृतले थप ५ प्रतिशत अन्तःशुल्क लिन छुटाएको पत्ता लगाएका थिए ।  उनीहरूले लेखापरीक्षणका क्रममा सम्बन्धित उद्योगबाट थप ५ प्रतिशत अन्तःशुल्क लिनुपर्ने भनी बेरुजु कायम गरिदिएका थिए ।

    महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार  वीरगञ्ज भन्सार कार्यालयले बाँकी रहेको ५ प्रतिशत अन्तःशुल्क बुझाउनु भनी आदर्श पोलिप्लास्टिक प्रालिलाई पत्र लेख्यो र एक साताभित्र शुल्क नबुझाए खाता रोक्का राख्ने चेतावनी दियो ।

    भन्सारको निर्णयविरुद्ध प्लास्टिक उद्योगले सर्वोच्च अदालतमा गएर मुद्दा गरेको थियो ।सोही  मुद्दाको व्याख्याका क्रममा सर्वोच्च अदालतले लेखापरीक्षणमा देखिएको राजस्व वक्यौता (उठाउन बाँकी रहेको राजस्व) बुझाउने दायित्व सम्बन्धित करदाता (उद्योगी/व्यवसायी)को हुने भनी व्याख्या गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij