Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

रोजगारी नपाएपछि मौरीघार उद्योग सञ्चालन गरेका सूर्यप्रसाद वार्षिक २५ लाख कमाउँछन्


नया सडक

२०८१, जेठ २५ शुक्रबार

  • 627
    Shares

  • रोजगारी नपाएपछि मौरीघार उद्योग सञ्चालन गरेका सूर्यप्रसाद वार्षिक २५ लाख कमाउँछन्

    गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा  दस हजारको लगानीमा दुईवटा घारबाट सुरु भएको उहाँको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ । सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ । 

    “मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसकेको छ”, ४२ वर्षीय लामिछानेले भन्नुभयो, “उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झण्डै २४÷२५ लाख जति आम्दानी छ ।” उद्योगमा छ जनाले रोजगारी पाएका छन् । लामिछानेको परिवारका सदस्य पनि सोही व्यवसायमा तल्लिन छन् । 

    कतै रोजगारी नपाएपछि २४ वर्षको उमेरमा मौरीपालनमा होमिनुभएका लामिछाने अहिले आफै रोजगारदाता बन्न सफल हुनुभएको हो । “यहाँ उत्पादित मौरीघार पूर्वमा सिन्धुलीदेखि देशका विभिन्न जिल्ला र सहरमा पुग्छ, धेरैजसो खपत गण्डकी प्रदेशभित्रै छ”, उहाँले भन्नुभयो, “कुनै याममा त गोलासहितको मौरीघारको माग पु¥याउनै धौधौ हुन्छ, मौरीपालन व्यवसायबाट म सन्तुष्ट छु, उद्योगको कामले एकछिन फुर्सद हुँदैन ।” 

    मौरीसहितको आधुनिक घारको बजार मुल्य रु। दस हजार र घारको मात्र रु। चार हजार तोकिएको उहाँले जानकारी दिनुभयो । “गोलासहित वर्षमा १२ सय जति घार उत्पादन र बिक्री हुँदै आएको छ, किसानहरुबाट घार लिने र त्यसको सट्टा किसानलाई मौरीको गोला पनि दिने गरिएको छ”, उहाँले भन्नुभयो । मह मात्रै बेचेर वर्षमा रु। आठदेखि दस लाखसम्म जति कमाइ हुने गरेको लामिछानेले सुनाउनुभयो । 

    उद्योगबाट प्रतिकिलो रु। एक हजार पाँच सयमा मह बिक्री हुने गरेको छ । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी हुने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार उद्योगमा अहिले तीन सय ५० घार मौरी छन् । वार्षिक १२ सय देखि १५ सय किलोसम्म मह उत्पादन हुँदै आएको छ । मौसम अनुकूल पर्दा मह उत्पादन अझ बढ्ने गरेको उहाँको भनाइ छ । वर्षको दुई याममा मह उत्पादन हुन्छ । उद्योगबाट मौरीपालनका लागि आवश्यक पञ्जा, झोला, टापीलगायत सामग्री पनि बेच्ने गरिएको छ । 

    लामिछानेले स्थानीय सेरेना जातको मौरीपालन गर्दै आउनुभएको छ । स्वस्थ मह उत्पादनदेखि वातावरणीय सन्तुलन कायम राख्न पनि सेरेना जातको मौरी उत्कृष्ट मानिने उहाँको भनाइ छ । स्याउका बिरुवामा परागशेचनका लागि मुस्ताङका स्याउ किसानले पनि सोही उद्योगबाट मौरी लगेका उहाँले बताउनुभयो । उहाँले मौरीपालन गर्न चाहाने किसानलाई तालिम पनि दिनुहुन्छ । उत्कृष्ट मौरीपालक किसानका रुपमा उहाँ देशविदेशमा सम्मानित हुनुभएको छ । 

    विसं २०७३ मा राष्ट्रिय युवा परिषद्ले रु। ५० हजार नगदसहित उहाँलाई सम्मानित गरेको थियो । “सम्मान ग्रहणका लागि जापान पनि पुगेँ”, उहाँले भन्नुभयो, “मह सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिकालगायत युरोपका विभिन्न देश घुम्ने अवसर पाएँ ।” मौरीलाई शरीरमा राखेर पनि उहाँ बेलाबेलामा चचार्मा आउने गर्नुभएको छ । उहाँको उद्योगले गत वर्ष मह खाने प्रतियोगिता पनि आयोजना गरेको थियो ।

    ‘बेगनास मौरीघार उद्योग’ नमुना मौरी स्रोत केन्द्रका रुपमा विकास हुँदै गएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । “महानगरले पनि किसानलाई उहाँकै उद्योगबाट घार उपलब्ध गराउँदै आएको छ, यहीँ स्रोत केन्द्र भएपछि अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो । 

    प्रमुख कडरियाले मौरीपालनमा लाग्न चाहाने किसानका लागि लामिछाने प्रेरणाको स्रोत रहेको बताउनुभयो । “उहाँ धेरै ठाउँमा पुरस्कृत र सम्मानित भइसक्नुभएको छ, उहाँ मौरीपालन सम्बन्धी तालिमका लागि पनि पोख्त हुनुहुन्छ”, प्रमुख कडरियाले भन्नुभयो, “मौरीपालन व्यवसाय प्रवद्र्धनका गतिविधिमा पनि उहाँको सक्रियता राम्रो छ ।”

    महानगरले विभिन्न वडालाई ‘मौरी पकेट क्षेत्र’ घोषणा गरेर घारलगायत मौरीजन्य सामग्रीमा किसानलाई अनुदान सहयोग गर्दै आएको उहाँको भनाइ छ । आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुने भएकाले मौरीपालनमा किसानको आकर्षण बढ्दै गएको प्रमुख कडरियाले बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस