Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सन्धिखर्क ,रेसुंगा र तम्घास जोड्ने १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न ,तम्घास सबस्टेसन सञ्चालनमा


नया सडक

२०८१, असार ६ बिहीबार

  • 786
    Shares

  • सन्धिखर्क ,रेसुंगा र तम्घास जोड्ने १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न ,तम्घास सबस्टेसन सञ्चालनमा

    काठमाडौं । सन्धिखर्क, रेसुंगा र तम्घास जोड्ने १३२ किलोभोल्ट केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुंगा नगरपालिका–७ र  तम्घासको उनायचौरसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।यो प्रसारण लाइनअन्तर्गतको उनायचौरमा १३२ केभी तम्घास सबस्टेसनको  पनि  निर्माण पूरा भएको छ ।

    नेपाल विद्युत प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्यायो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु छन् । प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुन्छ । 

    विद्युत आपूर्तिका लागि ३ वटा ३३ केभीका र चारवटा ११ केभीका फिडरहरु निर्माण गरिएका छन् । त्यसमध्ये ३३ र ११ केभीका २/२ वटा फिडर सञ्चालनमा ल्याई स्थानीय रुपमा विद्युत् आपूर्ति गरिएको बताउँदै  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टसन सञ्चालनमा आएपछि मुख्य रुपमा गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुकासाथै प्राविधिक चुहावट पनि कम हुने धारणा सार्वजनिक गरेका छन् ।

    बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत नै कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसन, सोही सबस्टेसनबाट सन्धिखर्कसम्मको लाइन तथा सन्धिखर्क सबस्टेसन निर्माण सम्पन्न भई यसअघि नै सञ्चालनमा आइसकेका छन् । आयोजनाअन्तर्गत तम्घासबाट पाउदी अमराई हुँदै बाग्लुङको बुर्तिबाङसम्म १३२ केभी प्रसारण लाइन र पाउदी अमराइ तथा बुर्तिबाङ सबस्टेसनको निर्माण कार्य भइरहेका छन् ।

    तिनका काम पनि अन्तिम चरणमा पुगेको छ । रुख कटानको समस्याले  प्रसारण लाइन निर्माण प्रभावित भइरहेको जानकारी आयोजना प्रमुख मनोज चौधरीले सार्वजनिक गरेका छन् । बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाको अनुमानित लागत ३ करोड ९५ लाख अमेरिकी डलर छ । 

    प्रतिक्रिया दिनुहोस