Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

दिल्ली-ढाका ऊर्जा समझदारीबाट नेपाली बिजुली बाङ्ग्लादेशलाई बेच्न कति सहज ? त्रिपक्षीय सम्झौताको तयारी


नया सडक

२०८१, असार ११ मंगलबार

  • 561
    Shares

  • दिल्ली-ढाका ऊर्जा समझदारीबाट नेपाली बिजुली बाङ्ग्लादेशलाई बेच्न कति सहज ? त्रिपक्षीय सम्झौताको तयारी

    काठमाडौं । दिल्ली र ढाकाबीच गत साता भएका ऊर्जा तथा व्यापारसम्बन्धी द्विपक्षीय समझदारीले नेपालबाट बाङ्ग्लादेशमा जलविद्युत् निर्यात गर्न "थप सहज हुने" देखिएको विज्ञहरूले बताएका छन्। उनीहरूका भनाइमा बाङ्ग्लादेशी प्रधानमन्त्रीले भारत भ्रमण गर्दा दुई देशबीच भएका ऊर्जा व्यापारलाई सहजीकरण गर्नेसम्बन्धी समझदारीले नेपाललाई तेस्रो देशमा बिजुली पठाउन निकै सजिलो बनाउने छ।
    ऊर्जाका लागि सङ्घर्षरत बाङ्ग्लादेशले नेपालबाट बिजुली लैजान केही वर्षदेखि निरन्तर प्रयास गर्दै आएको छ।नेपालले पनि उसलाई बिजुली बेच्ने कोसिस गरिरहेको छ।
    भौगोलिक रूपमा एकअर्कासँग नजोडिएका नेपाल र बाङ्ग्लादेशबीच विद्युत् आदानप्रदानका लागि भारतीय पूर्वाधार प्रयोग गर्नुपर्ने अवस्था छ।यद्यपि भारतसहित तीनवटै देश नेपालबाट बाङ्ग्लादेशमा ४० मेगावाट बिजुली पठाउनका लागि एउटा समझदारीमा पुगेको र चाँडै एउटा सम्झौता हुने अधिकारीहरूले बताएका छन्।

    भारत र बाङ्ग्लादेशबीचको समझदारी
    बाङ्ग्लादेशकी प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन महत्त्व राख्ने कैयौँ मामिलामा समझदारी भएको दुवै देशका विदेश मन्त्रालयले जनाएका छन्।हसिनाको भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्यमा पनि दुवै देशहरूले "ऊर्जा सहकार्यलाई निरन्तर विस्तार गर्ने" र "क्षेत्रीयस्तरको" विद्युत् व्यापार विकासमा सहकार्य गर्ने कुरा उल्लेख छ।

    "हामी हाम्रो ऊर्जा सहकार्य विस्तारलाई जारी राख्ने छौँ र भारत, नेपाल र भुटानमा स्वच्छ ऊर्जा आयोजनाहरूबाट उत्पादित प्रतिस्पर्धात्मक मूल्यको ऊर्जा भारतीय विद्युत् ग्रिडमार्फत् विस्तार गर्दै अन्तर-क्षेत्रीय विद्युत् व्यापारको विकास गर्ने छौँ," संयुक्त प्रेस वक्तव्यमा भनिएको छ।
    संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतको ग्रिड प्रयोग गरेर बाङ्ग्लादेश बिजुली निर्यात गर्ने कुरा ऊर्जा क्षेत्रमा पहिलो "उपक्षेत्रीय सहयोग"को उदाहरण भएको बताए।

    बाङ्ग्लादेशको विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा सार्वजनिक गरेका प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिहरूको सूचीमा पनि भारतको ग्रिड प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसम्बन्धी समझदारीलाई उल्लेख गरिएको छ।

    विज्ञहरू के भन्छन्?
    नेपालको नाम पनि उल्लेख गरी ऊर्जा व्यापार तथा पूर्वाधार विकासमा सहकार्य गर्नेबारे भारत र बाङ्ग्लादेशले समझदारी गरेकाले त्यसले नेपालको बिजुली बाङ्ग्लादेश पठाउन सहजीकरण गर्ने विज्ञहरू बताउँछन्।यद्यपि पहिले भएका कैयौँ यस्ता समझदारीहरू कार्यान्वयन हुन नसकेको भन्दै त्यतातर्फ ध्यान दिन विज्ञहरू सुझाव दिन्छन्।

    नेपाल र बाङ्ग्लादेशबीच भएका ऊर्जा व्यापारसम्बन्धी कैयौँ बैठकहरूमा सहभागी भएका भूतपूर्व ऊर्जासचिव दिनेश घिमिरेले दुई देशका नेताहरूबीचको समझदारीले नेपाललाई पनि थप सहज बनाउने बताए।

    उनले भने, "नेपाल र बाङ्ग्लादेशबीचको ऊर्जा व्यापारमा भारतले कहिल्यै पनि सहजीकरण नगर्ने भनेको थिएन। कतिपय पूर्वाधार अभावलगायतका कारणले त्यसमा केही प्राविधिक विषय देखा परेका थिए।""तर आवश्यक पूर्वाधारहरू समेत बनाउँदै बाङ्ग्लादेशको ऊर्जा आवश्यकतालाई पूर्ति गर्न भारत, नेपाल र भुटानको स्वच्छ ऊर्जा भारतीय ग्रिड प्रयोग गरेर बाङ्ग्लादेश पठाउने कुरा आएको छ।"

    "यो एकदमै सकारात्मक कुरा हो र यसले नेपाललाई पनि आगामी वार्ताहरूमा थप सहज बनाउने छ।"नेपाल विद्युत् प्राधिकरणका भूतपूर्व उपकार्यकारी निर्देशक प्रबल अधिकारीले पनि शेख हसिना र नरेन्द्र मोदीबीचको समझदारीले क्षेत्रीय स्तरमै राम्रो सन्देश गएको बताए।

    उनले भने, "जुन राजनीतिक तहमा शेख हसिना र मोदीका बीचमा अहिले जुन कुरा भएको छ - यसले अवश्य पनि उपक्षेत्रीय र क्षेत्रीय तहमा राम्रो सन्देश दिएको छ।"

    "अब त्यसलाई कार्यान्वयनमा लानका लागि हाम्रा राजनीतिकसहित तीनवटै देशका राजनीतिज्ञले प्रतिबद्धताका साथ काम गर्न जरुरी छ।"उनले नेपालले हरित ऊर्जा उत्पादन तथा त्यसलाई क्षेत्रीय रूपमा विस्तार गर्न सक्ने क्षमता भएकाले समयसीमा तोकेरै आफ्ना लक्ष्यहरू पूरा गर्न लाग्नुपर्ने बताए।
    त्रिपक्षीय सम्झौताको तयारी
    नेपालबाट बाङ्ग्लादेशमा ४० मेगावाट बिजुली पठाउन काठमाण्डू, दिल्ली र ढाका सहमत बनिसकेका छन्।यसै महिनाको दोस्रो साता बाङ्ग्लादेशले नेपालबाट किन्ने बिजुलीको प्रतियूनिट मूल्य स्वीकृत गरेको थियो।

    त्योसँगै नेपालले तेस्रो मुलुकमा विद्युत् निर्यात गर्न पाउने "ढोका खुलेको" ऊर्जा अधिकारीहरूले बताएका थिए।ऊर्जा मन्त्रालयका अधिकारीहरूका अनुसार नेपालबाट भारतको बाटो हुँदै बाङ्ग्लादेश पठाइने जलविद्युत्‌का लागि त्रिदेशीय समझदारी बनिसकेकाले अब केही साताभित्रै सम्झौता हुने सम्भावना छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले भने, "अर्को महिनाको पहिलो वा दोस्रो साताभित्रै त्यस्तो सम्झौता हुने सम्भावना छ।"तर त्यसका लागि मिति तय भने भइनसकेको उनले बताए।

    अधिकारीहरूले दिएको जानकारीअनुसार नेपालले बाङ्ग्लादेशलाई ऊर्जा व्यापार सम्झौताको मस्यौदा पठाइसकेको छ। तर बाङ्ग्लादेशले त्यसको जबाफ पठाइसकेको छैन।
    बाङ्ग्लादेशको क्याबिनेट कमिटी अन गभर्न्मन्ट पर्चेज (सीसीजीपी) को बैठकले जुन दोस्रो साता नेपालबाट पाँच वर्षका लागि ४० मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको थियो।

    क्याबिनेट डिभिजनका सचिव महम्मुदुल हुसेन खानले संवाददाताहरूलाई दिएको जानकारीअनुसार बाङ्ग्लादेशको पावर डेभलप्मन्ट बोर्ड (बीपीडीपी)ले त्रिपक्षीय सम्झौताअन्तर्गत नेपालबाट विद्युत् खरिद गर्ने छ।

    त्यसका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) र बाङ्ग्लादेशको बीपीडीपीबीच विद्युत् आदानप्रदानसम्बन्धी एउटा समझदारी बनिसकेको अधिकारीहरूले बताउँदै आएका छन्।

    उक्त समझदारीअनुसार नेपालबाट भारतका विद्युतीय पूर्वाधारहरू प्रयोग गरेर बाङ्ग्लादेशसम्म बिजुली पठाइने छ। प्रवक्ता सिंहका अनुसार नेपाल र बाङ्ग्लादेशका ऊर्जा सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकका बेलामा उक्त सम्झौता गर्ने तयारी छ।

    यही जुन २३ र २४ मा नेपाल र बाङ्ग्लादेशका सहसचिवस्तरीय कार्यसमूह र सचिवस्तरीय संयन्त्रको बैठक तय गरिएको थियो।तर विद्युत् व्यापार सम्झौताका गर्नका लागि उक्त बैठक पनि स्थगित गरिएको थियो।

    कुन आयोजनाबाट बिजुली बाङ्ग्लादेश पठाइन्छ
    नेपाल र बाङ्ग्लादेशले वर्षौँदेखि विद्युत् खरिद बिक्रीका लागि प्रयास गर्दै आएका छन्।तर बाङ्ग्लादेशसँग सीमा नजोडिएको नेपालबाट त्यहाँसम्म बिजुली पुर्‍याउन भारतको बाटो प्रयोग गर्नुपर्ने हुँदा भारतीय सहमतिबिना त्यो सम्भव थिएन।

    गत वर्ष फेब्रुअरीमा भएको एउटा द्विपक्षीय ऊर्जा बैठकमा भारतीय अधिकारीहरू नेपाली बिजुलीलाई भारतीय बाटो र पूर्वाधार प्रयोग गरेर बाङ्ग्लादेश निर्यात गर्न दिन सहमत बनेका थिए।

    भारतको राजस्थानमा भएको दुई देशका सचिवस्तरीय बैठकले गरेको उक्त निर्णयलाई नेपाली अधिकारीहरूले "वर्षौँको प्रतीक्षापछिको महत्त्वपूर्ण उपलब्धि" भनेका थिए।उनीहरूले सोही सहमतिअनुसार गत बर्खायामबाटै ५० मेगावाट विद्युत् बाङ्ग्लादेश पठाउन सकिने बताएका थिए।त्यस बेला नेपाल र भारत भारतीय लगानी रहेको ५२ मेगावाट क्षमताको लिखु-४ आयोजनाबाट विद्युत् बाङ्ग्लादेश पठाउन सहमत बनेको बताइएको थियो।

    तर त्यसपछिका चरणबद्ध छलफलहरूपछि अहिले बाङ्ग्लादेशमा त्रिशूली जलविद्युत् आयोजनाबाट २३.२८ र तल्लो मोदी आयोजनाबाट १९.४० मेगावाट विद्युत् बाङ्ग्लादेशलाई बिक्री गर्ने सहमति बनेको बताइएको छ।

    अधिकारीहरूका अनुसार अब ती आयोजनाबाट असारदेखि कात्तिकसम्म बाङ्ग्लादेशमा बिजुली पठाइने छ।नेपालमा बर्खायाममा बिजुली अधिक उत्पादन हुँदा खेर जाने अवस्था बन्ने गरेको छ।नेपाल र भारतबीच बर्खामा भारतले नेपाली जलविद्युत् किन्ने र हिउँदमा अभाव भएका बेला नेपालले भारतीय बिजुली आयात गर्ने सहमति यसअघि नै कायम रहेको छ।

    नेपालमा चाहिनेभन्दा बढ्ता उत्पादन हुँदासम्म बाङ्ग्लादेशमा बिजुली पठाइरहने नेपाली अधिकारीहरूले बताएका छन्।चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको ग्रिडमा थप ५०० मेगावाट विद्युत् थप हुने ऊर्जा अधिकारीहरू बताउँछन्। हाल नेपालको जडित क्षमता झन्डै ३,००० मेगावाट छ।

    गत वर्षदेखि नेपालले आफूकहाँ चाहिनेभन्दा धेरे विद्युत् हुँदा भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर त्यहाँ विद्युत् बेचिरहेको छ।बजारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट दिउँसो १२ बजेसम्म लागु हुने गरेको छ। तर बाङ्ग्लादेशलाई भने स्थिर दरमा बिजुली बिक्री गर्ने बताइएको छ। विष्णु पोखरेलको वाइलाइनमा बीबीसी न्यूज नेपाली (२४ जुन २०२४)मा प्रकाशित यो समाचार समसामयिक लागेर साभार गरिएको हो । सं 

    प्रतिक्रिया दिनुहोस