Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार १३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, असार १३ बिहीबार

  • 525
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असार १३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १३ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    नबिल इन्भेष्टमेन्टका ३ वटै म्युचुअल फन्डको न्याभ बढ्यो

    काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) वैशाखको तुलनामा जेठमा बढेको छ । जसमा नबिल ब्यालेन्स्ड फन्ड–२ न्याभ जेठ मसान्तमा २८ पैसाले बढेर १० रुपैयाँ २१ पैसा कायम भएको छ ।

    नबिल ब्यालेन्स्ड फन्ड–३ को न्याभ जेठ मसान्तमा ३१ पैसाले बढेर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
    यो फन्डको बैंक मौज्दात भने १४ करोड ४२ लाख रुपैयााबाट घटेर १० करोड ४० लाख रुपैयाँमा झरेको छ । जेठ मसान्तसम्म नबिल ब्यालेन्स्ड फन्ड–३ १ करोड ७२ लाख रुपैयाँ नाफामा रहेको छ ।

     नबिल फ्लेक्सी क्याप फन्डको न्याभ जेठ मसान्तमा ३२ पैसाले बढेर १० रुपैयाँ १८ पैसा कायम भएको छ । वैशाखमा यस फन्डको न्याभ ९ रुपैयाँ ८६ पैसा थियो । यस फन्डले जेठ मसान्तसम्म ३९ करोड ९१ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।

    शेयर बजार : नेप्से परिसूचक ८.२४ अंकले घट्यो २०५१.९२ विन्दुमा ,३ अर्ब ७१ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ८.२४ अंकले घट्यो २०५१.९२ विन्दुमा आएको छ । आज ३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा समूहको सूचकमात्र सकारात्मक देखिएका छन् ।

    यस दिन ३३३ कम्पनीको ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ७६ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र इदी मर्दी आरबी हाइड्रोपावर परेका छन् ।

    ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर  विक्रीमा

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले चन्दन कार्कीको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । 

    प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, पोखरामा आवेदन पेस गर्नुपर्नेछ ।

    सानिमा बैंकको ४९ हजार संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । सानिमा बैंकले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    ग्रामीण विकास लघुवित्तको साधारण सभा असार १५ गते

    काठमाडौं ।  ग्रामीण विकास लघुवित्तको वार्षिक साधारण सभा असार १५ गते शनिबार बस्ने भएको छ । सभा, ग्रामीण विकास लघुवित्तको प्राधन कार्यालय बुटवलमा बिहान ११ बजे सुरु हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश भने नदिने जनाएको छ ।
    सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ

    काठमाडौँ । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । सङ्गठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा जिल्ला अदालत काठमाडौँले गएको वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो ।

     

    उक्त प्रकरणमा २० जनाका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अदालतबाट २० जनाका नाममा पक्राउ पुर्जी जारी भएको थियो, अहिलेसम्म तीन जना पक्राउ परेका छन्, अनुसन्धान जारी छ ।” अदालतबाट पक्राउ पुर्जी जारी भएकामध्ये हालसम्म बाल सङ्गठनका तत्कालिन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ तथा सङ्गठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशङ्कर साह पक्राउ परेका छन् ।

    भारतमा विषाक्त मदिराबाट मर्नेको सङ्ख्या ६३ पुग्यो : प्रहरी

    बेङ्गलोर । गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्या ६३ पुगेको प्रहरीले बिहीबार जनाएको छ ।
    भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ, भने तमिलनाडु राज्यको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो ।
    तामिलनाडु राज्यको कल्लाकुरिची जिल्लामा मेथानोलले भरिएको स्थानीय स्थरमा बनेको मदिरा पिएकामध्ये केही व्यक्तिले आँखा निकै कमजोर भएको बताएका छन् । 

     

    विनियोजन विधेयक, २०८१ राष्ट्रियसभामा प्रस्तुत

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम ९२० बमोजिम ‘विनियोजन विधेयक, २०८१’ राष्ट्रियसभा समक्ष प्रस्तुत गर्नुभएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । 

    आगामी आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न बाच्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको मन्त्री पुनले बताउनुभयो । “प्रस्तुत विधेयकले सङ्घीय सञ्चिती कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा र कार्यको निम्ति विनियोजन गर्न सक्ने व्यवस्था छ,” उहाँले भन्नुभयो,  “राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्दछु ।”

    नकली भ्याट बिल अनुसन्धानमा आलटाल गर्ने उद्योगी व्यवसायी थप समस्यामा पर्ने आन्तरिक राजस्व विभागको चेतावनी

    काठमाडौं । नकली भ्याट बिल अनुसन्धानमा सहयोग नगर्ने उद्योगी व्यवसायीहरू समस्यामा पर्ने भएका छन् ।आन्तरिक राजस्व विभागले नकली भ्याट बिल अनुसन्धानमा आलटाल गर्ने उद्योगी व्यवसायीहरूलाई यस्तो चेतावनी दिएको हो ।यसअघि आन्तरिक राजस्व विभागले ठुलो संख्यामा नकली भ्याटसम्बन्धी अनुसन्धान अगाडि बढाएको थियो ।

    सुरुमा १० अर्ब  रुपैयाको कर छली भएको आकलन गरिएको भएपनि अनुसन्धानबाट यो अनुमान भन्दा धेरै ठुलो रहेको सम्बद्ध स्रोतले जनाएको छ ।यसअघि आन्तरिक राजस्व विभागले गर्दै  आएको अनुसन्धानबाट ६ अर्ब रुपैया करछली ठहर गरिसकेको थियो । बाँकी अनुसन्धानका फाइलहरूको प्रारम्भिक अध्ययनबाट यो कर छलीको रकम धेरै ठुलो हुन सक्ने स्रोतले जनाएको छ ।

    कर छल्ने अधिकांश व्यवसायिक कम्पनीहरू  सरकारी तथा अर्धसरकारी निकायलाई मालसमान आपूर्ति गर्दै आएका कम्पनी रहेका छन् ।

    सङ्घीय संसद्का संयुक्त र विषयगत समितिमा सांसदहरू हेरफेर

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सङ्घीय संसद्अन्तर्गतका केही संयुक्त समिति र विषयगत समितिहरूमा हेरफेर गर्ने सहमति जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको स्थानमा डा स्वर्णिम वाग्लेको नाम हेरफेर गर्न सभामुख देवराज घिमिरेले सभाको सहमतिका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकले सहमति जनाएको हो ।

     

    त्यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम विभिन्न विषयगत समितिमा सदस्यको नाम थप तथा हेरफेरका लागि पनि प्रतिनिधिसभाको आजको बैठकले सहमति जनाएको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सांसद डा प्रकाशशरण महतलाई अर्थसमिति र सांसद नारायणप्रकाश साउदलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाइएको छ ।

    जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण

    टोकियो । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् ।

    सेल रिपोर्ट्स फिजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा जापानी वैज्ञानिकले भनेका छन्, “उनीहरूले ‘जीवित छालाकोजस्तो आवरणसहितको रोबोट’ बनाउन ‘छाला बनाउने कोषले भरिएको जेल’ प्रयोग गरेका थिए ।

    बायोहाइब्रिड रोबोट विशेषज्ञले यो प्रविधिले एक दिन एन्ड्रोइडको आविष्कारमा मानव जस्तो उपस्थिति र क्षमताको साथ भूमिका खेल्ने आशा गरेका छन् । 

    “हामीलाई आशा छ, जीवित प्रणाली र संयन्त्रहरूको वैज्ञानिक अध्ययन (फिजियोलोजी) ले मुजाको बनावट र अनुहारको हाउभाउबारे जानकारी दिन मद्दत गर्नेछ,” प्राध्यापक शोजी टेकुचीको नेतृत्वको टोलीले भनेको छ ।

    डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा कामपा

    काठमाडौँ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ ।

    नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।

     “रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्, त्यसैले अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।

    सरकारले काठमाडौं उपत्यका बाहिर एमबीबीएस पढ्नेहरूका लागि करिब ५ लाख बढी शिक्षण शुल्क तोक्यो

    काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रको तुलनामा उपत्यका बाहिर्र  एमबीबीस पढाई पढनेहरूका लागि करिब ५ लाख बढी शैक्षिक शुल्क तोकेको छ ।

    चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको निर्णय अनुसार काठमाडौं उपत्यका भित्र एमबीबीएस पढ्नेहरूका लागि ४१ लख ६८ हजार ९० रुपैया र उपत्यका बाहिर पढ्नेहरूका लागि ४५ लाख ९५ हजार ७सय २० रुपैयाँ तोकेको हो ।

    यसैगरी बीडीएस पढ्न २० लाख  ९२ हजार  २९० र बीएससी नर्सिङ पढ्नेहरूका लागि  १० लाख ३६ हजार हजार शिक्षण शुल्क तोकिएको छ ।

    सुनको मूल्य तोलामा आठ सयले घट्यो , प्रतितोला १ लाख ४० हजार ८०० रुपैयाँ

    काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार १०० रुपैयाँ निर्धारण भएको छ । 
    आज ९बिहीबार ०चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १७ सय ८० रुपैयाँ कायम भएको छ ।

    मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

    काठमाडौँ ।  मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा  विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् ।  गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् ।  यस अवधिमा  कूल १४७  विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ ।  पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ ।  पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

    टि ट्वान्टी विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

    काठमाडौँ ।  अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ । 

    ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो । 
    टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले दक्षिणअफ्रिकालाई ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा दक्षिणअफ्रिकाले आठ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिणअफ्रिकाको लागि रिजा हेन्ड्रिकसले सर्वाधिक २९ रनको योगदान दिएभने कप्तान कप्तान ऐडन मारक्रमले २३ रन बनाए । 

     
     
     
     

     

     
     
     
     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस