Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण


नया सडक

२०८१, असार १७ सोमबार

  • 372
    Shares

  • किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण

    अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ । किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत पाँच हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको हो ।

     नगरपालिकाको ४० प्रतिशत अनुदान र किसानको ६० प्रतिशत लगानीमा किसानको मागका आधारमा लिची एक हजार दुई सय ५०, कागती एक हजार तीन सय ८०, मौसमी पाँच सय ५०, सुन्तला एक हजार सात सय ३० र ड्रागन फ्रुट एक सय २० बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । 

     फलफूल खेतीबाट किसानलाई व्यावसायिक, आत्मनिर्भर बनाउँदै आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले फलफूलका बिरुवा वितरण सुरु गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । किसानलाई बिरुवा वितरण गर्दै उहाँले कृषि पेसामा लागेर स्वरोजगार बनेका उत्कृष्ट किसानलाई नगरपालिकाले प्रोत्साहन गर्ने योजना बनाएको जानकारी दिनुभयो । 

     नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालले निर्वाहमुखी कृषि पेसालाई व्यावसायिक बनाउनुपर्ने बताउँदै व्यावसायिक किसानलाई नगरले सहयोग गरिरहेको जानकारी दिनुभयो । पालिकाले बिरुवा लगाउने, संरक्षण गर्नेलगायत विषयमा विज्ञमार्फत परामर्श पनि उपलब्ध गराइएको बताउनुभयो । बिरुवा वितरण कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत खनाल, लेखा अधिकृत नवराज गौतम, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईलगायतको उपस्थिति थियो । रासस

    प्रतिक्रिया दिनुहोस