Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार १७ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........


नया सडक

२०८१, असार १७ सोमबार

  • 498
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असार १७ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १७ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    सानिमा जीआइसी इन्सुरेन्सले ५० लाख कित्ता हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आज एक समारोहबीच सानिमा जीआइसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

    सम्झौता अनुसार सिटिजन्स क्यापिटलले जीआइसीको ५० लाख कित्ता हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

    ‘देशको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, हामी ऋणको पासोमा पर्दैनौं’ : अर्थमन्त्री वर्षमान पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा मुलुकको सार्वजनिक ऋणको अवस्था सुविधाजनक रहेको र देश ऋणको पासोमा पर्ने कुनै गुञ्जायस नरहेको स्पष्ट गर्नुभएको छ ।

     

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले देशले लिएको ऋणको लागतसमेत कम रहेको बताउनुभयो । “ऋणको लागत र जोखिमको दृष्टिकोणबाट हाम्रो देश अन्य मुलुकको तुलनामा सुविधाजनक अवस्थामा छ । हालसम्मको सार्वजनिक ऋणको परिमाण र लागतलाई दृष्टिगत गर्दा मुलुक ऋणको पासोमा पर्ने कुनै सम्भावना छैन”, अर्थमन्त्री पुनले भन्नुभयो, “सार्वजनिक ऋण परिचालन गर्दा ऋणको दिगोपना कायम गर्नेतर्फ सरकार संवेदनशील रहेको छ । सार्वजनिक ऋणलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्दै जानेतर्फसमेत सरकार सचेत छ ।”

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा मुलुकको सार्वजनिक ऋणको अवस्था सुविधाजनक रहेको र देश ऋणको पासोमा पर्ने कुनै गुञ्जायस नरहेको स्पष्ट गर्नुभएको छ ।

    सपोर्ट लघुवित्तको बोनस शेयर नेप्सेमा  सूचीकृत

    काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय सस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको १ लाख २३ हजार ८०९ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।कम्पनीले गत चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    शेयर बजार : नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा ,३ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा आएको छ । आज झन्डै ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । १३ मध्ये ११ वटा समूहका सूचक सकारात्मक बनेका छन् । वाणिज्य बैंक समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।

    यस दिन ३२३ कम्पनीको ७१ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ करोड १३ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ ।

    सूर्योदय वोमी लघुवित्तको ६१ हजार ८०५ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ६१ हजार ८०५ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ३०८ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु पेश गर्न सकिनेछ ।

    आज निफ्राको १० लाख कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक १० लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

    न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

    महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । महिला लघुवित्तले आजदेखि १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ७०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    ब्रेकशु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको प्रहरी निष्कर्ष

    काठमाडौं ।प्रहरीले  ब्रेकशु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष  निकालेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको थप अनुसन्धानका क्रममा ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको पाइएको जनाएको हो ।

    यसमध्ये ३६२.७७८ के  ब्रेकशुमा लुकाएर र बाँकी अरु २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरेको छ ।

    यो समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको सीआईबीले जनाएको छ ।

    २ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो । अनुसन्धानका क्रममा टोखा लगायतका स्थानमा सुन गाल्ने मेसिन भेटिएको थियो ।२६२.७७८ किलो सुन तस्करी भएको निष्कर्षसहित प्रहरीले असोज ३१ मा २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    एसईई पूरक परीक्षा साउन २३ गतेदेखि

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ। आइतबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।यसअघि परीक्षाफल सार्वजनिक गरेको दिनमा बोर्डका अध्यक्ष प्राडा महाश्रम शर्माले दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने बताएका थिए ।

    व्यवसायीमाथि धरपकड नगर्न श्रममन्त्रीलाई नाट्टाको आग्रह

    काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीमाथि गरिएको कानुनी धरपकड बन्द गर्न आग्रह गरेको छ ।

    नाट्टाको प्रतिनिधिमण्डलले आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेट गरी वैदेशिक रोजगार विभागले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीहरू माथि गरेको कानुनी धरपकडका विषयमा ध्यानाकर्षण गराएको हो । 

    जवाफमा श्रममन्त्री अर्यालले यस्तो प्रक्तिका घटना निराकरणका लागी प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले   वैदेशिक रोजगार विभाग तथा सम्बद्ध कार्यालयमा तत्काल परिपत्र गरी यस्ता प्रकृतिका विषयमा सम्बन्धित व्यवसायी, ट्राभल एजेन्सीहरूसँगं सोधपुछ, छानविन तथा अध्ययन गरेर मात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने आश्वासन दिनुभएको नाट्टाका अध्यक्ष कुमारमणि थपलियालले जानकारी दिनुभयो ।

    बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

    काठमाडौं ।बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएकाे छ ।

    जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीकाे इजलासले साेमबार अभियुक्त बम्जन विरुद्ध त्यस्ताे फैसला गरेकाे हो । अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए  अनुसार  यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेकाे थियाे ।

    आजकाे इजलासले पूर्ण फैसला गरेकाे हाे । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियाे ।

    नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनौट  प्रक्रिया रद्द विरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द गरिएको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।सो प्रक्रिया अन्तर्गत कार्य योजना प्रस्तुतीकरणमा सहभागी भएका एक प्रत्यासी सन्तोष नारायण श्रेष्ठले सरकारको सो निर्णय विरुद्ध रिट दायर गरेका हुन् ।

    माघ ५ गते सुरू भएको अध्यक्ष छनोट प्रक्रिया अर्थमन्त्रालयले गत शुक्रबार रद्द गरेको थियो। प्रक्रिया रद्द गरिएको विषयमा श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरे ।

    धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियाअन्तर्गत दोस्रो चरणमा अन्तर्वार्तामा बोलाइएको पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थमन्त्रालयले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो ।छनोट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई छानेको थियो।

    दुई दर्जन बढी ठुला काण्डहरूको छानबिनका लागि शक्तिशाली आयोग बनाउँदै सरकार

    काठमाडौं । सरकारले दुई दर्जन बढी ठुला काण्डहरूको छानबिनका लागि शक्तिशाली आयोग बनाउन लागेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न२५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका हुन् ।  सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले यस्तो बताए ।

    कुनै पनि कालखण्डमा भएकामध्‍ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको  गृहमन्त्री लामिछानेले भने । भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनले बताए ।

    चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित

    हेफेई । पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले  आठ लाख ११ हजार बासिन्दालाई प्रभावित बनाएको छ भने एक लाख ९५ हजार मानिसहरूलाई बासस्थान बाहिर  निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।
    प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आइतबार विहानसम्म, अन्हुईका छ प्रान्तीय शहर, ३५ काउन्टी तथा जिल्लाहरूमा वर्षाले भयानक क्षति पु¥याएको थियो ।

    एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ ।

     

    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो । अध्यक्षमण्डलमा डा वेदुराम भुषाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रवेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुषाल, महबुज आलम र गणेश विक सदस्य रहनुभएको छ ।

    ग्रेनाइट, मार्बल र टायलमा ठुलो मात्रामा कर छली, यसरी छलिन्छ टायल,मार्बल र ग्रेनाइटमा कर

    काठमाडौं । टायल ,मार्बल र ग्रेनाइटमा ठुलो मात्रामा कर छली हुँदै आएको छ । विदेशबाट आयात हुने टायल, मार्बल र ग्रेनाइटमा विगत लामो समयदेखि विभिन्न शीर्षकमा कर छली  हुँदै आएको हो ।

    काठमाडौंको तीनकुनेमा रहेको कृष्ण मार्बलले ग्रेनाइट, मार्बल र टायल आयात र बिक्री वितरण गर्दा ठुलो मात्रामा कर छल्ने गरेको बताइएको छ ।कृष्ण मार्बलको मुख्य कार्यालय तथा शोरुम काठमाडौंको तीनकुनेमा रहेको छ भने अन्य स्थानबाट समेत कारोबार हुने गरेको छ ।

    विगत २७ वर्ष यतादेखि काठमाडौंमा टायल, मार्बल , ग्रेनाइट तथा यसमा लाग्ने विभिन्न किसिमका सामानहरू आयात र बिक्री वितरण गर्दै आएको कृष्ण मार्बलले विगत लामो समयदेखि भन्सार राजस्व ,मूल्य अभिवृद्धि कर तथा आयकर समेत ठुलो मात्रामा छली गर्ने गरेको स्रोतले बताएको छ ।

    युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताउनुभएको छ ।

     

    पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय विदेशिने युवा, विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुुभयो । 

     

    “युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “अतः २१औँ शताब्दीका युवा, विद्यार्थीका चाहना, आवश्यकता र प्राथमिकता बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु ।”

    बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध

    काठमाडौँ ।देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो ।  

     

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग÷सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

    मनसुन अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । सो अवधिमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानम तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    चौबीस घन्टा भित्रै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको दोस्रो भेट किन अर्थपूर्ण ?

    काठमाडौं ।सिंहदरबार बाहिर सत्ता समीकरण फेरिन लागेको हल्लाबीच चौबीस घन्टा भित्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनको सबै भन्दा ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच  दोस्रो पटक भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल  प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीच आज  सोमबार  बिहान भेटवार्ता भएको हो ।  प्रधानमन्त्रीको सचिवालयले  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको जनाएको छ ।

     

     
     
     
     
     
     
     
     
     
     
     
     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस