Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार ३१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, असार ३१ सोमबार

  • 420
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असार ३१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ३१ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    नेप्से परिसूचक १७ अङ्कले घट्दा साढे आठ अर्ब बढीको कारोबार

    काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ को विन्दुमा कायम भएको हो ।

     

    आज तीन सय ३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख दुई हजार तीन सय ७२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ । 

     

    आज जलविद्युत् समूह शून्य दशमलव ७३, लगानी एक दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२ र म्युचुअल फण्ड एक दशमलव ६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

    नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल

    काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताउनुभएको छ ।

     

    आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने धारणा राख्नुभयो ।

     

    “सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्था छन् । सोही अनुसार संशोधन प्रक्रियामा जान्छौंँ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । संसद्का दुई ठूला दलसहितको संयुक्त सरकार बनेपछि राजनीतिक स्थिरताको सन्देश दिएको बताउँदै उहाँले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

    पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरे

    काठमाडौं । वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरिएको छ ।उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय पुगेर कार्यभार सम्हालेपछि पहिलो निर्णय वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन् ।

     

    पौडेल सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुग्दा  उनलाई कर्मचारीले स्वागत गरेका थिए।यससँगै अब ब्लेन्डेड फाइन्यान्स, ग्रीन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले त्यस्तो स्रोत लिन सहज हुने भएको छ।

    अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउादै अर्थमन्त्री पौडेलले नयाँ गठबन्धन आएपछि अब स्थिरता हुने बताए ।

    नवनियुक्त उपप्रधानमन्त्री सिंह र पौडेलद्वारा शपथ ग्रहण

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
     
     नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र उप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

    सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज असार ३१ गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक २०.२५ विन्दुले बढ्यो

    काठमाडौं ।। प्रि ओपन सेसनमा नेप्से सूचक २०.२५ विन्दुले बढेको छ । यससँगै सूचक २२७७.८५ अंकमा आएको छ । ४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३७ कम्पनीको ८६ हजार ९०४ कित्ता सेयर कारोबार भएको छ ।

     

    कुल ११५ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँ

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४६ हजार २०० रुपैयाँ निर्धारण भएको छ । सोमबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १८ सय ८५ रुपैयाँ कायम भएको छ ।

    मलताल पहिरोः बेपत्तामध्ये नवलपुरमा नौवटा शव भेटिए

    नवलपुर । चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ । 

     

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले आज मात्रै जिल्लामा चारवटा शव भेटिएका जानकारी दिनुभयो । नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिनुभयो । आज यहाँ चारवटा शव भेटिएका थिए, ती शवको पहिचान हुन सकेको छैन ।  शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।

    ओली सरकारको पहिलो निर्णय – कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने’ पहिलो निर्णय गरेका छन् ।

     

    सोमबार साँझ पदभार ग्रहण गरेका उनले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्य अनुसार सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेका हुन् ।दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय छ ।

    मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानमा लाग्नेछु : मन्त्री यादव

    काठमाडौँ ।नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताउनुभएको छ । 

     

    आज सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उहाँले मेलम्चीमा देखिएको चुनौती समाधान गरेर बाह्रै महिना खानेपानी उपलब्ध गराउने गरी काम गर्ने बताउनुभयो । “मेलम्ची खानेपानी आयोजना यतिबेला बन्द छ, अब बाहै्र महिना, २४ घण्टा मेलम्चीको पानी ल्याउने गरी काम गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “खानेपानीको क्षेत्रमा बजेट कम भयो भनेर नआत्तिनुस् बजेट व्यवस्थापन गर्नेछु, सबै मिलेर खानेपानी समस्या समाधानमा लागौँँ ।” 

    जलवायु परिवर्तनलगायतका कारणले जमिनमुनी पानीको सतह घट्ने, पानीको स्रोत सुक्नेलगायत समस्या देखिन थालेको भन्नुहुँदै मन्त्री यादवले सबै मिलेर उल्लेखित समस्या समाधानका उपाय खोजिनुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रियसभाबाट तीन विधेयक पारित , अर्को बैठक साउन ४ गते

    काठमाडौँ । राष्ट्रियसभाले तीन वटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ । यसअघि ‘आर्थिक विधेयक २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ सदनमा दफावार छलफल भएको थियो ।

     

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा छलफलपछि पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सदनले सर्वसम्मतले पारित गरेको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले तीनवटै विधेयक छलफलका लागि प्रतिनिधिसभामा फिर्ता पठाइएको जानकारी गराउनुभयो ।

    चीनतर्फ हुने अष्ट्रेलियाली मदिरा निर्यातमा वृद्धि

    क्यानबेरा ।अष्ट्रेलियाली सरकारले मे महिनामा चीनतर्फ जाने मदिरा निर्यातमा भएको वृद्धि स्वागतयोग्य भएको बताएको छ । 

     

    कृषि, मत्स्य पालन तथा वनमन्त्री मुरे वाटले सोमबार भन्नुभयो, अष्ट्रेलियाले मे महिनामा चीनमा ९८ लाख बन्द बोतल मदिरा ९वाइन० निर्यात गरेको थियो जसको कुल मूल्य १४२।२ मिलियन अष्ट्रेलियन डलर ९९६.३ मिलियन अमेरिकी डलर० हुन्छ । 

    यो सन् २०१९ यता अस्ट्रेलियाबाट चीनतर्फ बोतलबन्द वाइन निर्यातको चौथो उच्च मासिक आँकडा हो ।

    कोभिड–१९ महामारीअघि सन् २०१९ को औसत मासिक निर्यात मूल्यभन्दा मे महिनामा निर्यातको कुल मूल्य पाँच करोड अष्ट्रेलियन डलर ९तीन करोड ३८ लाख अमेरिकी डलर० बढी देखिएको छ ।

    आक्रमणमा मेरो हत्या गर्ने अभिप्रायले गरिएको थियो : अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प

    वासिङ्टन ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा ‘आफू मारिने सम्भावना’ बाट उम्केको बताउनुभएको छ । 

     

    रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भन्नुभयो, सायद, म यहाँ हुने थिइन, म मरेको हुन्थेँ होला ।” 

    उहाँले आफ्नो दाहिने कानमा सेतो पट्टी बाँधेर सुनाएको यो ‘अति वास्तविक अनुभव’ भएको पत्रिकाले उल्लेख गरेको छ ।

    काठमाडौं उपत्यकाका सबै घर र व्यावसायिक भवनको नक्शा पास गर्दा अनिवार्य सेफ्टिक ट्यांकीको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सबै घर र व्यावसायिक भवनको नक्शा पास गर्दा अनिवार्य सेफ्टिक ट्याङकीको व्यवस्था मिलाउन वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माको १३ वर्ष पुरानो रिटमा सर्वोच्च अदालतले आदेश दिएको छ ।सर्वोच्च अदालतले घर तथा व्यावसायिक भवन निर्माणको नक्शा पास गर्दा आकाशको पानी भूमिगत जलस्रोतमा मिसिने गरी अलग्गै सकपिट बनाउनुपर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहहरूका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।

     

    काठमाडौं उपत्यकाको सम्यता र संस्कृतिको संरक्षणका लागि बागमती र त्यसका सहायक नदीहरूलाई स्वच्छ र स्वस्थ राख्न विभिन्न निकायका नाममा निर्देशनात्मक आदेश जारी हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा सर्वोच्च अदालत पुगेका थिए ।१३ वर्ष पुरानो रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले यस्तो फैसला गरेको छ ।सर्वोच्चको फैसलामा  बागमती र त्यसका सहायक नदी र खोलाको दायाँबायाँ न्यूनतम २० मिटर खुला छाड्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न पनि भन्नुका साथै सीमा अतिक्रमण गरी कुनै संरचना बनेको भए त्यसलाई पनि हटाउनुपर्ने आदेश छ ।

    दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

    उदयपुर ।जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।

     

    ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन् ।

     

    त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका सुजाता खड्काले दुई हप्ताभित्र तरकारी र फलफूलको मूल्य तेब्बरले वृद्धि भएको बताउनुभयो । “असारको दोस्रो सातासम्म गोलभेँडाको प्रतिकिलो रु ५० पर्नेमा अहिले रु एक सय पचास पर्छ”, उहाँले भन्नुभयो ।

    राष्ट्रिय वाणिज्य बैंकद्वारा  एकै पटक देशभर ६ शाखा विस्तार

    काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले देशका विभिन्न ६ स्थानमा एकैपटक शाखा विस्तार गरेको छ।बैंकले सुनसरीको हरिनगरा नगरपालिका–२ भुटाहा, काठमाडौं महानगरपालिका–२ लाजिम्पाट, काठमाडौं महानगरपालिका–४ सुकेधारा, पोखरा महानगरपालिका–१ हरिचोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम र बर्दियाको बढैयाताल–६ मैनापोखरमा शाखा विस्तार गरेको हो। 

     

    नयाँ शाखाले आइतबारबाट कारोबार थालेको बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। विस्तारसँगै बैंकका शाखा संख्या २९४ पुगेको छ।बैंकले स्याङ्जाको चापाकोट नगरपालिका–१० स्थित इसान बहुप्राविधिक शिक्षालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकको यो ७३ औं एक्स्टेन्सन काउन्टर हो।

    मनकामना केबुलकार ५० दिन बन्द हुने

    मुग्लिन ।  मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।  ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ । 

     

    यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित  धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।

    बैंकिङ्ग प्रणालीमा निक्षेप थुप्रिएपछि वाणिज्य बैंकहरूले घटाए ब्याजदर

    काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप थुप्रिएपछि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले साउनमा पनि कायम राख्दै सामान्य बिन्दुले मुद्दती निक्षेपतर्फ ब्याजदर घटाएका हुन् ।यसअघि पनि ब्याजदर धेरै घटिसकेकाले साउनमा बैंकहरूले न्यून बिन्दुमा घटाएका हुन् । बैंकहरूसँग प्रयाप्त निक्षेप रहेको र उक्त रकम राष्ट्र बैंकमा राख्नु परेको बैंकरहरूको भनाइ छ । बजारमा ४ सय अर्ब रुपैयाँ बैंकहरूसँग सर्पलस रहेको र कर्जाको माग नभएपछि ३ प्रतिशतमा राष्ट्र बैंकको स्ट्याण्डर्ड डिपोजिट फेसिलेटिजमा राख्नु परेको बैंकरहरू बताउँछन् ।

     

    साउनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.१३ प्रतिशत घटेर व्यक्तिगततर्फ ६.६७ प्रतिशत र संस्थागततर्फ ०.१८८ प्रतिशत घटेर ५.४३ प्रतिशत कायम भएको छ । तर, यस अवधिमा कृषि विकास बैंक र एभरेष्ट बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकासले ०.६३२४ प्रतिशत र एभरेष्टले ०.५५ प्रतिशत ब्याजदर बढाएका हुन् ।

    नयाँ सडकको फुटपाथ निर्माणको बाटो खुल्यो, उच्च अदालतबाट अन्तरिम आदेश

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा सुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो ।

     

    यसरी रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आज महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि काम फेरि सुरु हुने भएको हो । 

     

    नयाँ सडक क्षेत्रलाई पैदलमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर गत जेठ ११ गतेदेखि काम थालेको थियो । उक्त काममा जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले हस्तक्षेप गरेको थियो । त्यसपछि डिभिजन सडक कार्यालयले काम रोक्नका लागि जेठ १३ र १६ गते गरी दुई वटा पत्र पठाएको थियो ।

     

     

     

    प्रतिक्रिया दिनुहोस