Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, साउन २ बुधबार

  • 384
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन २ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..........

    सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

    काठमाडौँ । सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मङ्गलबार मार्गदर्शन परिपत्र गरेको हो ।

         

    बजेट खर्चको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, कार्यक्रमरयोजना हस्तान्तरण र कार्यान्वयन, बजेट खर्च, रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता, जवाफदेहिता, अनुगमनसम्बन्धी व्यवस्थालगायत विषय समेटेर मार्गदर्शन जारी गरिएको हो ।

    शेयर बजार : नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा , १२ अर्ब ५ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा आएको छ ।आज  १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

     

    यस दिन ३०६ कम्पनीको ३ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ५५ लाख रुपैयाँसहित कारोबार रकममा सिंगटी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र सोना मिनरल्स एन्ड आयल परेका छन् ।

    मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा साउन १७ गते

    काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा साउन १७ गते गर्ने भएको छ । असार २६ गते बसेको सञ्चालक समितीको बैठकले सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर म.न.पा १० ज्वागलमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो । 

     

    सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

    अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब निक्षेप संकलन जारी गर्दै राष्ट्र बैंक

    काठमाडौँ ।केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ५० अर्ब खिच्न लागेको हो।अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल छ।

     

    राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ। बैंकहरुबाट डेढ खर्ब बढीको तरलता खिचेर राखेको छ।

    आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा तीन अर्ब २१ करोड राजस्व सङ्कलन

    भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले  आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो ।

     

    कार्यालयले आव २०७९/८० को तुलनामा रु १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा रु तीन अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । गत आवमा कार्यालयको रु तीन अर्ब ७९ करोड ७१ लाख  राजस्व उठाउने लक्ष्य थियो । तर ८४ दशमलव ५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ । 

    “देशभर व्यापार–व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हा”, उहाँले भन्नुभयो ।

    बैंकबाट गहना उत्पादनकर्ता व्यवसायीले मात्र सुन किन्न पाउनु पर्ने माग

    काठमाडौं। गहना उत्पादनकर्ता व्यवसायीले मात्रै बैंकबाट सुन किन्न पाउने माग सरकारसमक्ष गरिएको छ ।नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले गहना उत्पादनकर्ता व्यवसायीले मात्रै बैंकबाट सुन खरिद गर्न पाउनुपर्ने माग राखेको हो ।आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई दिएको सुझावमा  महासंघले यस्तो भनेको हो ।

     

    वाणिज्य बैंकहरुले प्रदान गर्ने पुनर्कर्जा आदिमा आभूषण व्यवसायलाई पनि समावेश गरिनुपर्ने बताउँदै महासंघले सुन, चाँदी लगायत बहुमूल्य वस्तुको आपूर्तिलाई सहज, पारदर्शी र वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने कार्य निकै पेचिलो विषयलाई   आगामी मौद्रिक नीतिमार्फत  सम्बोधन गर्न अनुरोध गरेको छ।

    साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो

    जलेश्वर । साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि रु सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

     

     जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, औरही, बलवा, मनरा, पिपरा, भ्रमरपुरालगायत बजार क्षेत्रबाट दुई दिनमा रु सात लाखको चुराको व्यापार भएको उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिनुभयो । यसअघिका वर्षमा पनि साउनमा मात्रै रु ३० लाख बढीको चुरापोतेको व्यापार हुने गरेको उहाँले बताउनुभयो ।

    स्वास्थ्यमन्त्री पौडेलको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा सुधार हुने तनहुँवासीको अपेक्षा

    मौली ।तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी निवासी प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएसँगै गृह जिल्ला तनहुँवासीले स्वास्थ्य क्षेत्रमा सुधार हुने अपेक्षा राखेका छन् । 

     

    तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का शङ्कर पन्तले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा रहेका समस्या समाधान गरी स्वास्थ्य क्षेत्रको सुधार तथा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि मन्त्री पौडेलले नेतृत्व प्रदान गर्ने अपेक्षा राखेको बताउनुभयो । “गरिबीको रेखामुनी रहेका जनताको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुने गरी कार्यसम्पादन गर्नेमा हामी विश्वस्त छौँ । उहाँले गर्ने कामसँग गृह जिल्लाको प्रतिष्ठा जोडिएकाले राम्रो काम गर्न नागरिक तहबाट झक्झक्याइ रहने छौँ”, उहाँले भन्नुभयो ।

    उपप्रधानमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट

    काठमाडौँ ।उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गर्नुभएको छ । 

     

    सिंहदरबारस्थित मन्त्रालयलमा आज भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी हुनुहुन्थ्यो ।

    प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो । 

     

     नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौँथो पटक प्रधानमन्त्री हुनुभएको हो ।

    राजस्व अनुसन्धान विभागद्वारा विदेशी मुद्रा अपचलन गरेको अभियोगमा सुनिल पौडेल विरुद्ध सवा दुई करोड बढी मागदाबीसहित मुद्दा दायर

    काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा सुनिल पौडेल विरुद्ध दुई करोड बत्तीस लाख सैतीस हजार सात सय जरिवाना मागदाबी गरी बुधबार मुद्दा दायर गरेको हो ।

     

    विभागले काठमाडौ जिल्ला अदालतमा दायर गरेको मुद्दामा पौडेलले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १६ मा नेपाली नागरिकले विदेशी बैकमा खाता खोल्दा नेपाल राष्ट्र बैंक तथा अन्य सरकारी निकायबाट स्वीकृत लिनुपर्नेमा नलिई सिंगापुरमा खाता खोलेकोले पौडेल विरुद्ध मुद्दा दायर गरेको विभागका सूचना अधिकारी नवराज अधिकारीले नयाँ सडकलाई बताए ।

    एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत

    मनिला ।एसियाली विकास बैंक (एडीबी) ले भारतमा छतमा सौर्य प्रणली ९रूफटप सोलर सिस्टम० को वित्तपोषण गर्न २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

     

    छतमा सौर्य प्रणाली स्थापना गर्न भारतका विकासकर्ता र अन्तिम प्रयोगकर्तालाई ऋण प्रदान गर्न भारतीय स्टेट बैंक (एसबीआई) र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक ९नाबार्ड० लाई वित्तपोषण उपलब्ध हुनेछ । 

    एडीबीको क्लिन टेक्नोलोजी कोषबाट एसबीआईलाई ९०.५ मिलियन डलर प्रदान गर्ने बताएको छ  । क्लिन टेक्नोलोजी कोषबाट नाबार्डले १५० मिलियन डलर प्राप्त गर्नेछ, जसमा एडीबीको साधारण पूँजी स्रोतबाट ८० मिलियन डलर र सिटिएफबाट ७० मिलियन डलर समावेश छ ।

    अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका विद्यार्थीलाई दूतावासको अनुरोध

    काठमाडौँ,।  ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

     

    बङ्गलादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा उक्त दूतावासले त्यस्तो अनुरोध गरेको हो । 

    ७५ प्रतिशत अण्डा उत्पादक किसान विस्थापित

    चितवन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । 

     

     बैङ्कमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघि सम्म नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या दुई हजारभन्दा तल छ । उहाँले भन्नुभयो, “जसको कुखुरा बाँकी छ, उहाँहरुले ४० प्रतिशतभन्दा माथि ऋण थपेर टिकेको हो ।” 

     अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उहाँको भनाइ छ । अहिले अण्डाको मूल्य बढेर लागत मूल्य नजिक पुगेको उहाँ बताउनुहुन्छ । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेका थिए । अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र ‘मिडियम’ अण्डाको मूल्य रु १६ रहेको छ ।

    निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

    काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी  दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा उहाँले निर्माण व्यवसायीले पाउनुपर्ने  भुक्तानी नरोकिने बताउनुभएको हो । “निमाण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन । राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ । अब गुनासो गरिरहने अवस्था आउँदैन”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

     

         उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत् महसुल बक्यौता विवाद पनि कानुनअनुसार सुल्झाइने आश्वासन उहाँले दिनुभयो ।

    १३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा

    ढोरपाटन ।  बागलुङको बडिगाड गाउँपालिका–५ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी बुर्तिबाङ सवस्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रशारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन नसकेको हो । गत असार पहिलो सातानै सञ्चालनमा ल्याउने गरी आयोजना कार्यालयले काम गरेको थियो ।

     

    पाँच वर्ष अगाडि निर्माण सुरु भएको बुर्तिबाङ सवस्टेशन हालसम्म ९२ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको थियो । गत असार ९ गते सर्वोच्चले रिटनै खारेज गरिदिएपछि पुनः काम सुरु गर्ने आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो । कपिलवस्तुको मोतिपुरदेखि सुुरु भएर अर्घाखाँचीको सन्धिखर्क गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेशन विसं २०७८ सालदेखि निर्माण सुरु भएको थियो ।

    ललितपुर महानगरले सङ्कलन गर्यो लक्ष्यभन्दा बढी राजस्व

    पाटन साउनः ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०÷८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । 

     

     “सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार रु दुई अर्ब ४० करोड राजस्व सङ्कलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न महानगर सफल भएको छ, राजस्व प्रणालीमा भएको तथ्याङ्कअनुसार रु दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व सङ्कलन भइसकेको देखिएको छ, राजस्व सङ्कलनको तथ्याङ्क अद्यावधिक भइरहेको र अन्तिम तथ्याङ्क आइनसकेको छैन,” थापाले भन्नुभयो ।

    नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली

    राँझा । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ । 

     

     आर्थिक वर्ष २०८०÷८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई रु २८ अर्ब ६६ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु १८ अर्ब १५ करोड मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । 

     अघिल्लो आवभन्दा गत आवमा करिब रु चार करोड कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा भन्सार लक्ष्य रु २९ अर्ब ३२ करोड रहेकामा रु १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो ।

    निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछ : प्रधानमन्त्री ओली

    काठमाडौं । सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने नीति अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसँगको भेटमा प्रधानमन्त्री ओलीले मंगलबार निजी क्षेत्रको विस्तारबिना विकास सम्भव नभएको बताएका हुन् ।

    महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्य सम्मिलित भेटमा उनले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् । निजी क्षेत्रबिना अर्थतन्त्र सुधार हुन नसक्ने र उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने सरकारको नीति रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ । भेटमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि सँगै थिए ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (साउन २ गते) छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ कायम गर्दै पुनः नयाँ रेकर्ड कायम गरेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४९ हजार १०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १८ सय ९५ रुपैयाँ कायम भएको छ ।

    काठमाडौं महानगरपालिकाद्वारा अदालतको आदेश आएलगत्तै न्यूरोड  फुटपाथ विस्तारको काम शुरु

    काठमाडौं । उच्च अदालत पाटनबाट आदेश आएलगत्तै काठमाडौँ महानगरपालिकाले न्यूरोडको फुटपाथ विस्तारको काम सुरु गरेको छ । महानगरले बुधवार बिहानैदेखि फुटपाथ विस्तारको काम सुरु गरेको हो । यसअघि महानगरपालिकाले पैदल यात्रुहरू हिँड्ने सडकपेटी विस्तार गर्न सुरु गर्दा  सडक डिभिजन सडक कार्यालय, काठमाडौँले रोकेको थियो ।

     

    यसरी रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट बुधबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश आएपछि  सडकपेटी विस्तार कार्य फेरि सुरु गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस