Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक, सुस्त अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आउने अपेक्षा

शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक, सुस्त अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आउने अपेक्षा

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरिरहेको छ । बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी काम गर्न सम्बद्ध पदाधिकारीहरूलाई सक्रिय पारेको हो । 

    यस पटक गभर्नर महाप्रसाद अधिकारी मौद्रिक नीतिमार्फत् केही नयाँपन दिन खोजिरहेको बताउँदै बैंक स्रोतले अर्थतन्त्र चलायमान हुने गरी लचिलो मौद्रिक नीति ल्याउने तयारी गरिएको जनाएको छ । पछिल्लो समय बाह्य क्षेत्र सुधार भइसकेको र आन्तरिक क्षेत्र सुधार हुनेक्रम जारी रहेकाले मौद्रिक नीति पनि खुकुलो आउने गभर्नर महाप्रसाद अधिकारीसमेत राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरूले पछिल्ला दिनमा धारणा सार्वजनिक गर्दै आएका हुन् ।

    मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउन लागिएको छ ।साथै बैंकिङ क्षेत्रले हाल सामना गरिरहेको समस्याहरूको समाधान पहिल्याउने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ ।कृषि र साना तथा मझौला उद्यममा बढी प्राथमिकता दिएर नीति आउनेछ । वर्तमान अर्थतन्त्रमा संकचुन भएकाले यो समस्या समाधान गर्न गरी नीतिगत व्यवस्था गर्न लागेको हो ।

    ब्याजदर एकल अंक र बैंकिङ प्रणालीमा प्रयाप्त निक्षेप थुप्रिँदा पनि कर्जाको माग नहुनु अहिलेको मुख्य समस्या हो । महँगो ब्याजदरमा निक्षेप संकलन गरेर सस्तोमा राष्ट्र बैंकमा थुपार्नु परेको बैंकरहरूको गुनासो छ । त्यसैले राष्ट्र बैंकसामु नीतिगत व्यवस्थामार्फत् कर्जाको माग बढाउनु पर्ने चुनौती छ । यो समस्याको समाधानका लागि उद्योगी व्यवसायीले परियोजना धितोको माग राखिरहेका छन् ।

    यसैगरी राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् युवाका लागि विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ । युवाहरूको विदेश पलायनलाई रोक्न र स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नको लागि राष्ट्र बैंकले विशेष व्यवस्था गर्न लागेको हो । युवाहरूका लागि बैंकमार्फत् सहुलियत ब्याजदरमा कर्जा दिन सक्ने किसिमको कार्यक्रम ल्याउन लागेको हो ।

    उद्योगी व्यवसायी र बैंकरहरूले चालुपुँजी कर्जा निर्देशिका संशोधन हुनुपर्ने माग गरिरहेका छन् । तर, यसमा राष्ट्र बैंक धेरै लचिलो नहुने देखिन्छ । तर, पर्यटन क्षेत्रको विकासमा सिर्जनात्मक व्यवसायमा लगानी बढाउने र बैंकको कर्जा प्रवाह हुने गरी व्यवस्था आउन सक्नेछ । कर्जाको जोखिमभार क्षेत्रगत आधारमा घटाउन सक्ने अपेक्षा गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij