Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ८ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 348
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन ८ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ८ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    नेपाल विद्युत् प्राधिकरणले छ उद्योगमा विद्युत् लाइन जडान गर्ने निर्णय

    काठमाडौ ।  नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको आजको बैठकले सर्तसहित विद्युत् लाइन जोड्ने निर्णय गरेको छ ।

     

    प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय भएको राससलाई जानकारी दिनुभयो ।

    प्राधिकरण सञ्चालक समितिले गरेको निर्णयमा भनिएको छ, “तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने निर्णय गरिएको छ ।”

    अर्थमन्त्रीलाई कर्मचारीको बिफ्रिङः अर्थतन्त्रका ४६ चुनौती सामना गर्न २९ क्षेत्रमा सुधार आवश्यक

    काठमाडौँ । मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्रालयका कर्मचारीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ‘ब्रिफिङ’ गरेका छन् । मन्त्रालयले आज प्रेस नोट जारी गर्दै विभिन्न चुनौती पहिचान भएका र ती चुनौती समाधानका लागि चाल्नुपर्ने कमदबारे पनि अर्थमन्त्री पौडेललाई जानकारी गराइएको उल्लेख गरेको छ । 

    “अर्थमन्त्रालयका नजरमा नेपालको अर्थतन्त्रमा विशेष गरी ४६ वटा चुनौती छन् । ती चुनौतीलाई सामना गर्न २९ वटा क्षेत्रमा कदम चाल्न जरुरी छ”, मन्त्रालयको प्रेस नोटमा भनिएको छ, “अर्थतन्त्रमा देखा परेका चुनौती र तिनलाई सामना गर्ने उपायसम्बन्धी अर्थमन्त्रालयका सचिव र सहसचिवले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्रिफिङ गरिसकेका छन् । उपप्रधान तथा अर्थमन्त्री पौडेलले समस्या र चुनौतीहरुको प्राथमिकीकरण गरी समाधान गर्दै अघि बढ्ने बताउनु भएको छ ।”

    सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा ५१०.१३ गुणा बढी आवेदन

    काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओमा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन  साँझसम्ममा १६ लाख ५६ हजार ८२६ जनाले २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन् दिएका छन् । सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन ५१०.१३ गुणा बढी हो । 

     

    यस लघुवित्तले साउन ४ गतेदेखि आजसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

    शेयर बजार : नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा , १४ अर्ब ११ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा आएको छ । आज १४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 

     

    यस दिन ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र हिमालयन रिइन्सरेन्स परेका छन् ।

    वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब, डेढ खर्बको निर्यात

    काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल रु १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल रु पन्ध्र खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात गर्दा रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको मात्रै निर्यात गरेको देखिएको हो । 

     

    विभागको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ । अघिल्लो आव २०७९र८० मा नेपालले रु १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको आयात र रु एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार रु १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख पुगेको थियो ।

    नेरूडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी

    काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी भएको छ । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरू आन्दोलित हुँदै देशभरिका शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् । लघुवित्तमा कार्यरत कर्मचारीहरूको मनोबल खस्किने गरी पद घटुवा गरेपछि कर्मचारीहरू आन्दोलित बनेका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पुर्याएर बलियो बनाएपनि आफूहरूको योगदान र भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गराएको उनीहरूको आरोप छ ।

    सूर्योदय वोमी लघुवित्तको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ६ हजार ८४८ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा सूर्योदय वोमीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले यो सेयरको भाउ भने तोकेको छैन । 

     

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज  ९साउन ८ गते० देखि ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १० लाख कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौ । एनआइसी एसिया बैंकले आज (साउन ८ गते) देखि आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

     न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा साउन १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

    आज कति छ विदेशी मुद्राको विनिमय दर?

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

     

    दुई दिन अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा थियो। दुई दिन उच्च विन्दुमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ।

    नेपालमा श्रम स्वीकृती लिएर आउने विदेशीहरूमा सबै भन्दा बढी चिनियाँ नागरिक

    काठमाडौं ।  रोजगारीका लागि श्रम स्वीकृति लिएर नेपाल आउनेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् ।श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस्तो जनाएको हो ।

     

    विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्यांक रहे पनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएर आउनेहरूमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको विभागले जानकारी सार्वजनिक गरेको छ ।नेपालमा सञ्चालन भएका आयोजनाहरूले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा छ । नेपालमा रहेका एयरलाइन्स, इलेकट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत रहेकाछन् ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ कायम छ । तेजावी सुनको भाउ तोलाको १ लाख ४५ हजार ६०० रुपैयाँ रहेको छ । 

     

    आज चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १७ सय ९० रुपैयाँ कायम रहेको छ ।

    ऊर्जामन्त्री खड्का सामु इप्पानले राख्यो ८ बुँदे माग

    काठमाडौं ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई भेटेर ८ बुँदे माग राखेको छ । मंगलवार ऊर्जा मन्त्रालयमा भएको भेटमा इप्पानले ८ बुँदे माग राखेको हो ।

     

    भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रको विकास क्रममा नेपाली निजी क्षेत्रको ठूलो साथ र सहयोग रहनुका साथै समृद्धिको पहिलो आधार भनेकै ऊर्जा क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागि सरकारले न्युनतम माग सम्‍बोधन गरिदिनुपर्ने बताए ।

    बाढी प्रभावित आयोजनाले एक वर्षसम्म पनि सहुलियत नपाएको कुरा स्मरण गराउँदै अध्यक्ष कार्कीले काबु बाहिरको परिस्थितिमा आयोजनाको व्यावसायिक विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसीओडी)को म्याद २ वर्ष थप गरि विद्युत उत्पादन अनुमतिपत्रको अवधि ५ वर्ष थप गरिदिन आग्रह गरेका थिए ।

    नेपाल विद्युत् प्राधिकरणले छ उद्योगमा विद्युत् लाइन जडान गर्ने निर्णय

    काठमाडौ ।  नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको आजको बैठकले सर्तसहित विद्युत् लाइन जोड्ने निर्णय गरेको छ ।

     

    प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय भएको राससलाई जानकारी दिनुभयो ।

    प्राधिकरण सञ्चालक समितिले गरेको निर्णयमा भनिएको छ, “तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने निर्णय गरिएको छ ।”

    डेङ्गी नियन्त्रणमा सरकारलाई निर्देशन दिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

    काठमाडौँ । मुलुकभर डेङ्गीको प्रकोप फैलिएर जनस्वास्थ्य सङ्कट उत्पन्न भएकाले यसको नियन्त्रणका लागि सरकारलाई निर्देशन दिन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।
     
            सभाको आजको बैठकमा सांसद प्रतिमा गौतमले उक्त प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावमा डेङ्गीको प्रकोपका कारण अस्पतालमा गम्भीर अवस्थाका बिरामी भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहोल उत्पन्न भएकाले डेङ्गीको प्रभावकारी नियन्त्रणका एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन माग गरिएको छ ।

    १ लाख घुससहित पक्राउ परेका फुङलिङ नगरपालिका इञ्जिनियरविरुद्ध मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । 

     

    आयोगको टोलीले इञ्जिनियर हुसैनलाई रु एक लाख घुससहित पक्राउ गरेको हो । आयोगले आरोपी हुसैनविरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

    निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छः उपप्रधानमन्त्री सिंह

    काठमाडौँ ।  उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ । 

     

    आज मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहसहितको टोलीले गरेको भेटमा उहाँले आफू निर्माण व्यवसायीका समस्याबारे जानकार रहेको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “विकास निर्माणमा व्यवसायीको भूमिकालाई मैले राम्रोसँग बुझेको छु, समस्या समाधनका लागि मैले प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । 

     

    उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भुक्तानी नपाएको बताउनुभयो । उहाँले सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा पनि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाउनुभएको थियो ।

    अर्थमन्त्रालयले राष्ट्र बैकलाई मौद्रिक नीति लचिलो ल्याउन भन्यो, गभर्नर र अर्थमन्त्रीबीच तनाव बढ्न सक्ने पर्यवेक्षकहरूको आशंका

    काठमाडौं ।  अर्थमन्त्रालयले राष्ट्र बैंकको नियमनकारी भूमिकामा प्रश्न उठाएको छ । अर्थमन्त्रालयले राष्ट्र बैंकको कमजोर नियमनका कारण वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रमा समस्या आएको सवाल खडा गरेको हो ।

     

    अर्थमन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी राष्ट्र बैंकको नियमन कमजोर हुँदा बैंकिङ क्षेत्र पनि कमजोर बनेको निष्कर्ष निकाल्यो ।अर्थमन्त्रालयले प्रेस विज्ञप्ति नै जारी गरेर पनि राष्ट्र बैंकको भूमिका कमजोर बनेको जनाएको छ ।अर्थमन्त्रालयले राष्ट्र बैंकको भूमिका कमजोर बन्दा र प्रभावकारी रुपमा नियमन नगर्दा कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्न नसकिएको, कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्न नसकेको र वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणहरुमा लचकता कायम गर्न नसकिएको सो विज्ञप्तिमा भनिएको छ ।

    लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार

    तुलसीपुर । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । 

     

    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८.३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो ।  

     

    कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संसद्मा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

    सवा ३४ करोडका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद

    वीरगञ्ज ।  यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ । 

     

     

    सशस्त्र प्रहरी बल नेपाल१३ नं गणका प्रमुख राधेश्याम धिमालले आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ मा नौ करोड रु ८९ लाख ३७ हजार तीन सय ८२ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताउनुभयो । “भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो । “बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।

    बङ्लादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

    ढाका ।बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू  द रेजिष्टेन्सु नामक समूहद्वारा ह्याक गरिएको छ । 

     

    तिनवटै वेबसाइटहरूमा , “अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको  छ ।  

    सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत  राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध  भएको जनाइएको छ ।   

    समूहले तत्काल ह्याकर, "ओएसआइएनटी"अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वान समेत गरेका छन् । 

    सामाजिक सुरक्षा भत्ता लिन लाभग्राहीलाई दुःख नपुगोस भनी राष्ट्रिय परिचय पत्र आवश्यक हुने निर्णय फिर्ता

    काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र आवश्यक हुने निर्णयलाई फिर्ता लिइएको छ ।गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लाभग्राहीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको प्रस्ट पार्दै सम्बन्धित सबै स्थानीय निकायमा यस्तो परिपत्र पठाएको हो ।

     

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७५३ वटै स्थानीय तहलाई पत्र लेख्दै यसअघि जेठ २४ मा सरकारले गरेको निर्णय फिर्ता लिएको जनाइएको छ ।हाललाई सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जनाइएको हो ।

    एभरेष्ट बैंक र एस.बी सोलुसन्सको सहकार्य, सुरु भयो क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स)

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली ( क्रेडिट –एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ र एस.बी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले मिति २२ जुन २०२३ मा आ आप्mनो संस्थाका तर्फबाट हस्ताक्षर गरेका थिए । 

     

    यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्याङ्कन, कर्जाका कागजातहरू र कर्जा स्वीकृतिको प्रक्रियाहरूलाई स्वचालित र डिजिटाइज गर्न मद्दत गर्ने छ । यस प्रणालीको परिचयसँगै, बैंकहरूले कागजमा निर्भर कर्जा प्रवाहलाई प्रतिस्थापन गर्न सक्नेछन्, साथै ग्राहकहरू सम्बन्धी जोखिम मापदण्डहरू प्रणाली भित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्विकृती प्रक्रियामा सहयोग हुनेछ ।

    श्रीजनशील लघुवित्तको साधारण सभा साउन ३२ गते

    काठमाडौं । श्रीजनशील लघुवित्तले साउन ३२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा विनायक होटल एन्ड बर्दिवास, महोत्तरीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नको लागि १ जना सञ्चालकको निर्वाचन हुनेछ । 

     

     

     


     

    प्रतिक्रिया दिनुहोस