काठमाडौं । राजस्व अनुसन्धान विभागले सुनको अवैध कारोबार गर्नेहरू विरुद्ध मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले साउन १३ गते उच्च अदालत पोखरा कास्कीमा ८ करोड १५ लाख १६ हजार ८ सय ३८ रुपैयाँ बिगो र जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
राजस्व अनुसन्धान विभागले पश्चिम बंगाल घरभई हाल कास्की पोखरा महानगरपालिका वडा न २मा जय भैरव ज्वेलर्सका प्रोपराइटर ४० वर्षीय सुरजित भौमिक ,भरतपुर महानगरपालिका वडा न २३ स्थायी घरभई पोखरा महानगरपालिका वडा न ९ कास्कीमा श्रीएस सगरमाथा ज्वेलर्सका प्रोपराइटर सुरेन्द्र विश्वकर्मा, यस्तै पोखरा महानगरपालिका वडा न २७ कास्की स्थायी घर भई पोखरा महानगरपालिका २६मा श्रीदेवी रम्भा सुनचाँदी पसल सञ्चलन गरी बसेका जनकलाल लोहनी, पोखरा महानगरपालिका वडा न १३ कास्की स्थायी ठेगाना भई पोखराकै वडा न ९मा श्री बाराही ज्वेलर्सका प्रोपराइटर अर्जुन सुनार र पोखरा महानगरपालिका २६ स्थायी ठेगाना भई लेखनाथ ज्वेलर्स सञ्चालन गर्ने अर्जुन बहादुर कामी विरुद्ध राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।
मुख्य कारोबारी जय भैरव ज्वेलर्सले अवैध सुन अन्यलाई गरगहना बनाउन दिई अवैध सुनचाँदीको वैधानिकीकरण गरेको समेत मुद्दामा उल्लेख गरिएको छ । राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार सुरजित भौमिकलाई बिगो र जरिवानासहित ७ करोड ९ लाख ५ हजार २सय ७२ रुपैयाँ र तीन वर्षसम्मको कैद सजाय माग गरिएको छ ।
त्यस्तै सुरेन्द्र विश्वकर्मालाई ७६ लाख १६ हजार ४ सय ५० रुपैयाँ ,जनकलाल लोहनीलाई ८ लाख ८० हजार ८ रुपैयाँ, अर्जुन सुनारलाई १२ लाख ५५ हजार ६ सय ८५ रुपैयाँ र अर्जुन बहादुर कामीलाई ८ लाख ५९ हजार ४सय २३ रुपैयाँ बिगो र जरिवानासहित १ महिनादेखि ६ महिनासम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरेको सूचना अधिकारी नवराज अधिकारीले बताए ।